संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडालको नाम अनुमोदन गरेको छ ।संसदीय सुनुवाइ समितिले शुक्रबार सुनुवाइ गरी प्रस्तावित नामहरूलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।
संसदीय समितिमा दुवै न्यायाधीशविरुद्ध उजुरी परेको थियो । साथै प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो । अदालतले केही दिनअघि (चैत्त ३० गते) मुद्दा किनारा लगाएसँगै समितिले पनि अनुमोदन गरेको छ ।
न्यायपरिषद्को फागुन २८ गते बसेको बैठकले सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश रहेका सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश रहेका चुँडालको नाम सिफारिस प्रस्ताव गरेको थियो । शुक्रबारको संसदीय सुनुवाइमा अनुमोदन भएका दुवै न्यायाधीशले सर्वोच्च अदालतमा आफ्नो न्याय सम्पादन र प्रतिबद्धताबारे धारणा राखेका थिए ।