
किरणले पछिल्लोपटक ०७२ मा सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए, त्यसयता उनी नियमित रूपमा विदेशी लिगमा आबद्ध थिए
नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले पाँच वर्षपछि घरेलु प्रतियोगिता खेल्ने भएका छन् । ११ वैशाखबाट दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीसँग आबद्ध भएका छन् । किरणले क्लबसँग ‘आइकनिक प्लेयर’को रूपमा बिहीबार सम्झौता गरेका हुन् ।
क्लब र उनीबीचको सम्झौता रकम भने खुलाएका छैनन् । धनगढीसँगको सम्झौतासँगै किरणले पाँच वर्षपछि घरेलु प्रतियोगिता खेल्ने भने निश्चित भएको हो । किरणले पछिल्लोपटक ०७२ मा सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । त्यसयता उनी नियमित रूपमा विदेशी लिगमा आबद्ध थिए । यसबीचमा उनले माल्दिभ्स र भारतमा व्यावसायिक फुटबल खेले । किरणले यी सबै अवसरमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।
उनले हालै सम्पन्न थ्री नेसन्सकपबाट औपचारिक रूपमा नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पनि लिएका छन् । उनकै कप्तानीमा नेपालले किर्गिस्तानको यु–२३ टोली र बंगलादेशको सिनियर टोली सम्मिलित थ्री नेसन्सकपको उपाधि जितेको थियो ।
पाँच वर्षपछि घरेलु प्रतियोगितामा फर्कने निश्चित भएपछि किरणले खुसी व्यक्त गरेका छन् । ‘पाँच वर्षपछि घरेलु प्रतियोगिता खेल्न म सुपर एक्साइटेड छु,’ किरण भन्छन्, ‘यस्तो प्रतियोगिताले नेपाली फुटबलको विकासमा ठूलो मद्दत पुर्याउने विश्वास छ ।’
क्लबले आफ्नो मुख्य प्रशिक्षकका रूपमा युगल किशोर राईलाई अनुबन्ध गरेको छ । राष्ट्रिय टोलीबाट खेलिसकेका ३७ वर्षीय युगलकिशोर एसियाली फुटबल महासंघ (एएफसी)को ए लाइसेन्स कोर्स गरेका प्रशिक्षक हुन् । धनगढीको प्रशिक्षण टोलीमा अफ्रिकी टोपे फुजा पनि रहेका छन् ।
गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । टोलीले १९ मार्चमा भएको अक्सनमार्फत राष्ट्रिय टोलीका स्ट्राइकर दर्शन गुरुङसहित १४ खेलाडी भित्र्याएको छ । धनगढीले १२ वैशाखमा बिराटनगर सिटी एफसीसँग प्रतियोगितामा पहिलो खेल खेल्नेछ ।