मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २ बिहीबार १६:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काममा ढिलासुस्ती गर्नेले नै क्षतिपूर्ति व्यहोर्नुपर्छ : प्रधानमन्त्री ओली (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २ बिहीबार १६:२४:००

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसीको काममा भइरहेको ढिलाइ सैह्य नहुने बताएका छन् । बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्तामार्फत सेवा प्रवाहको उद्घाटन गर्दै ओलीले माथिल्लो तामाकोसीको काममा अस्वाभाविक रूपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताएका हुन् । 

माथिल्लो तामाकोसीको काममा दैनिक १३ करोड रुपैयाँ नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुचि बढाउनुपर्ने आवश्यकता रहेको ओलीको भनाइ छ । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्ने ओलीले बताए ।

उनले भने, ‘अत्यन्तै अस्वाभाविक ढंगले अपर तामाकोसीको काममा ढिलाइ गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुचि बढाउनुपर्नेजस्तो देखेको छु । अपर तामाकोसीको काममा जुन ढिलासुस्ती छ त्यो अस्वाभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु एउटा सानो मेसिन त्यहाँ जडान गर्नु छ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेको यो ढिलासुस्ती हो या अरू केही हो त्यो हेर्नुपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुने गरी उत्पादन भएको भए पनि गलत आनी–बानीका कारण खाद्यसङ्कट पर्ने गरेको बताए । भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउन सरकार लागेको पनि ओलीले बताए । 

ओलीले अन्य कुराहरूमा निर्यातमा जोड दिए पनि लगानी र प्रविधि भने आयात गर्ने बताए । कृषि क्षेत्रमा आत्मनिर्भर हुन सके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने भन्दै उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग र सचेत हुन पनि सबैलाई आग्रह गरे ।