१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

झुटो विवरण पेस गर्ने डाक्टरको नम्बर घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२८:oo

दुर्गममा काम गरेबापतको धेरै अंक प्राप्त गर्न झुटो विवरण पेस गर्ने ४९ मध्ये १६ डाक्टरको नम्बर घटाएर मेरिट कायम गरिएको छ । चिकित्सा शिक्षा आयोगले फर्जी विवरण पेस गर्ने सबैलाई विशेषज्ञ चिकित्सक शास्त्र (एमडी/एमएस) अध्ययन गर्ने योग्यताक्रमबाट हटाएको थियो । 

उनीहरूमध्ये १६ डाक्टरले आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले दुर्गम क्षेत्रमा काम गरेबापत पाउने नम्बर घटाएर खुलातर्फको रिक्त सिटहरूमा पुनः योग्यताक्रमको सूची प्रकाशित गर्न आदेश दिएको थियो । आयोगका अनुसार दुर्गममा काम नगरेको अंक घटाउँदा उनीहरूको एकदेखि ६ नम्बर घटेको छ । जसले गर्दा सबैजना योग्यताक्रममा पछि परेको आयोगका प्रवक्ता तथा सदस्यसचिव डिल्लीराम लुइँटेलले बताए । 

आयोगका अनुसार डाक्टरहरू अरुण गौतम, प्रनिता राजभण्डारी, लोचन श्रेष्ठ, आविष्कार सुवेदी, भीष्मप्रसाद पोखरेल, अर्जुन पौडेल, सुप्रिया पौडेल, सिर्जना पाण्डेय, कृष्णहरि श्रेष्ठ, सफलतादेवी कोजू, रविनबाबु पौडेल, विशालचन्द्र सुवेदी, कमल भण्डारी, करुणा बज्राचार्य, दिव्या बज्राचार्य र दिव्या नेपालको अंक र योग्यताक्रममा घटुवा भएको छ । 

डाक्टरहरूले बढी अंक प्राप्त गर्ने लोभमा झुटो विवरण भरेको उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । कतिपयले ‘ख’ वर्गको दुर्गम ठाउँमा काम गरेर ‘क’ वर्गको विवरण भरेको छानबिनबाट खुलेको थियो । आयोगले खुलातर्फ ३६ र सरकारी कोटाका १४ गरी ४९ जनालाई योग्यताक्रमबाट हटाएपछि १६ जना सर्वोच्च गएका थिए । 

चिकित्सा शिक्षा नियमावली २०७७ ले निजामती सेवा ऐनअनुसार दुर्गम क्षेत्र कायम गरेको छ । दुर्गममा काम गरेबापत बढीमा १० अंक प्राप्त गर्ने व्यवस्था छ । ‘क’ वर्गको दुर्गम क्षेत्रमा काम गर्नेले प्रतिवर्ष दुई अंक र ‘ख’मा काम गर्नेले प्रतिवर्ष १.५ अंक प्राप्त गर्छन् । त्यस्तै, अनुभवको प्रतिवर्ष १ अंक प्राप्त गर्ने व्यवस्था छ । डाक्टरहरूले भरेको विवरणअनुसार सफ्टवेयरबाटै अंक निकालेर नतिजा निकाल्ने व्यवस्था छ । 

ad
ad