१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २३ सोमबार १५:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा सांसदहरूद्वारा राजनीतिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २३ सोमबार १५:५३:००

सांसदहरूले समसामयिक राजनीतिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले समसायिक राजनीतिक विषय, संसद्को प्रभावकारिता, विकास निर्माणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजबहादुर बुढा क्षेत्रीले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराए । उनले संसद्को अंकगणित र जनताको अभिमतलाई मुलुकको समृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरूको राजनीतिक धर्म, कर्म र दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराए । 


सांसद रंगमती शाहीले संविधानविपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरू ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाइन् । उनले संसद्ले बनाएका प्रधानमन्त्री संसद् र सिंहदरबारमा आउन डराएको टिप्पणी गरिन् । 

सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गर्दै कविता वाचन गरे । 

सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गअन्तर्गत पोखरादेखि बुटवलसम्मको सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सालिकग्राम मार्गका लागि बजेट विनियोजन नगरिएकोमा गुनासोसमेत गरे । 

सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ दोभानका आगलागीपीडितलाई तत्काल आवास र दैनिक आवश्यकताका सामग्री भूकम्पपीडितसरह उपलब्ध गराउन ध्यानाकर्षण गराए । 

सांसद मेटमणि चौधरीले चुरे संरक्षण हुनुपर्ने भन्दै चुरे दोहन गरी अवैध कारोबारमा संलग्नलाई कारबाही गर्न माग गरे । 

सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सुर्खेतदेखि नाग्मसम्मको अधिकांश खण्डमा कालोपत्र बिग्रेर खाल्डाखुल्डी परेको र बर्खासँगै हिलाम्मे हुने भएकाले रारा जाने पर्यटकीय सो मार्गलाई कालोपत्र मर्मत गर्न माग गरे । 

सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी कीर्तिपुरमा नपुगेको भन्दै तत्काल कीर्तिपुरवासीलाई पानी वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद लक्ष्मी परियारले वर्तमान सरकारले प्रशंसनीय काम गर्न नसकेको टिप्पणी गरिन् । 

सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद् चलिरहेका वेला राजनीतिक विषयमा सदनबाहिर धारणा राख्नु गैरजिम्मेवारी, अराजनीतिक र असंवैधानिक चरित्र भएको टिप्पणी गरे । 

सांसद भैरवबहादुर सिंहले बझाङका १२ वटा स्थानीय तहमा खडेरी परेको, हिउँदे बाली सुकेको र स्थानीयहरू भोकमरीको चपेटामा परेको भन्दै तत्काल खाद्य आपूर्ति गर्न सरकारसँग माग गरे ।