मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २२ आइतबार ०६:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले विवादमा राष्ट्रपति भण्डारीको चासो : खनालको घरमै पुगेर पार्टी एकताबद्ध बनाउने भूमिका खेल्न आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २२ आइतबार ०६:२९:००

अहिले पार्टीमा कतिपय समस्या उत्पन्न भइरहेको वेलामा राष्ट्रपति आउनुभएको हो । मैले पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने सोचिरहेको छु भनेँ । राष्ट्रपतिज्यूले पनि लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ, सबै पार्टीहरू बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना छ भन्नुभयो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विवादमा चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई आग्रह गरेकी छिन् । खनालनिवास डल्लुमा पुगेर राष्ट्रपति भण्डारीले शनिबार उनीसँग भेटर्वार्ता गर्दै एमाले विवादमा चासो व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीको यो ‘मुभ’ले एमाले विवाद निकै गम्भीर मोडमा पुगेको संकेत गरेको छ । 

सत्तारुढ दल एमालेभित्र खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर गतिविधि चलाइरहेका वेला राष्ट्रपति भण्डारीको भेटर्वार्तालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न वरिष्ठ नेता खनाललाई आग्रह गरेकी थिइन् । खनालले पनि राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको जानकारी दिए ।

‘हामीले केहीबेर कुराकानी गर्‍यौँ । अहिलेको वर्तमान स्थितिबारे पनि अलिकति कुराकानी भयो । उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, राष्ट्रपतिको हैसियतले मेरो यही चाहना छ भन्ने विचार व्यक्त गर्नुभयो,’ भेटपछि खनालले सञ्चारकर्मीहरूसँग भने । जवाफमा खनालले आफू पनि पार्टी र लोकतन्त्रलाई बलियो बनाउने काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘अहिले पार्टीमा कतिपय समस्या उत्पन्न भइरहेका वेला यहाँ आउनुभएको छ । सबै पार्टी बलिया भए, सुदृढ भए, एकताबद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु हो, पार्टीहरू बलियो हुने कुरा हो । पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन । त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु,’ राष्ट्रपतिसँगको कुराकानीबारे खनालले भने, ‘राष्ट्रपतिज्यूले पनि तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ । सबै पार्टी बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।’

राष्ट्रपति कार्यालय स्रोतले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी उनको निवास डल्लु पुगेको जानकारी दिएको छ । केही समययता खनाल मिर्गौला रोगबाट पीडित छन् ।