मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ९ सोमबार १४:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ : मन्त्री अर्याल (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ९ सोमबार १४:५३:००

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी छिन् । खाद्यका लागि कृषि अभियानले सोमबार गरेको कृषि विकासका समसामयिक सवालहरू छलफल कार्यक्रममा अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकाले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी हुन् । 

कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिने गरी, किसानलाई संरक्षण गर्ने गरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्र्याउने उनको भनाइ छ ।

उनले भनिन्, ‘हाम्रा साना व्यवसायी किसानलाई मार्ने गरी होइन । उहाँहरूको संरक्षण गर्ने गरी, उहाँहरूको अझै थप विकास गर्ने गरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका वेला, आज कृषि क्षेत्रमा ठूलो लगानीको जरुरी पनि छ । ठूलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आज ठूलो लगानी गर्नुपर्ने कुरा सरकार आफैँ एक्लैले गर्नसक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामथ्र्यले भेटेन । हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरू पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ । उत्पादन बढाऔँ । निर्यात पनि गर्ने । हामीलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रा किसानलाई निरुत्साहित बनाउने गरी होइन । हाम्रा किसान, व्यवसायीलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरू जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरू छन् । ती क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’

मन्त्री अर्यालले कोभिड– १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवालाई हजारौँको संख्यामा रोजगारी सिर्जना गर्ने पनि बताइन् । उनले भनिन्, ‘कोभिड– १९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका हजारौँ युवालाई रोजगारीको कार्यक्रम लिएर अगाडि बढेका छौँ । फार्मको रूपमा, ठूलाठूला फार्महरू व्यावसायिक हिसाबले लैजाने गरी हजारौँ युवालाई हामी रोजगारी दिने गरी, उहाँहरूको पनि लगानी राज्यको पनि लगानी गर्ने गरी अगाडि बढेका छौँ ।’

मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी पनि गरिन् । तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रांगारिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उनको भनाइ छ ।