मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत ८ आइतबार १७:४०:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सांसदले कानुन निर्माणमा चासो देखाएनन् : सभामुख श्रेष्ठ

Read Time : > 1 मिनेट
२०७७ चैत ८ आइतबार १७:४०:००

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका लागि आवश्यक कानुन निर्माणमा सांसदहरूले चासो नदेखाएको आरोप लगाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालयको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले सांसदहरू विकास निर्माणका फाइल बोकेर हिँड्न मात्र व्यस्त भएको दाबी गर्दै कानुन निर्माणमा चासो नदेखाउँदा प्राथमिकतामा नपरेको बताए । 

उनले प्रदेश सभामा कानुन निर्माणको कामले प्राथमिकता पाउनुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्यको पहिलो काम नै कानुन निर्माण भएकोले सांसदले नै कानुन निर्माणमा चासो देखाउनुपर्ने उनको भनाइ छ । उनले भने,  ‘सबै विषय कानुनसँग जोडिन पुग्छ । कानुन सबैको जरा हो, सांसदहरू विकासको फाइल बोकेर हिँड्न बढी चासो राख्छन् । तर, कानुनमा गम्भीरता देखिएको छैन ।’ 

सभामुख श्रेष्ठले आफू कानुन निर्माणको सवालमा सदैव सक्रिय भए पनि प्रदेश सभाले बिजनेसनै नपाएको र विधेयक दर्ता पछिल्लो समय न्यून रहेको बताए । प्रदेश सभाबाट अहिलेसम्म ५९ वटा कानुन निर्माण र ११ वटा संशोधन भएको उनले जानकारी दिए । 

हाल एक विधेयक समितिमा विचाराधीन रहेको र एक प्रदेश सभामा दर्ता गरिएको छ । सभामुख श्रेष्ठका अनुसार प्रदेशका लागि आवश्यक ३२ वटा कानुन निर्माण गर्न बाँकी छ । उनले सरकारविरुद्ध पर्ने मुद्दाहरूको संख्या बढिरहेको भन्दै यसको अध्ययन हुनुपर्ने बताए । 

तीन वर्षको कामको समीक्षा गर्न जरुरी रहेको भन्दै उनले विकासको क्रममा देखिएको कमजोरीको समीक्षा हुनुपर्ने उनले बताए । 

कार्यक्रममा मुख्यन्यायधिवक्ता ओमप्रसाद थपलियाले कानुन निर्माणको तीन वर्ष पुगेको र यसको समीक्षा गर्न जरुरी रहेको बताए । प्रदेश सभाले बनाएको कानुनको कार्यान्वयनको अवस्था, समस्यालगायतको विषयमा अध्ययन गर्न जरुरी रहेको उनको भनाइ छ । 

कार्यक्रममा बागमती प्रदेशका पहिलो मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई सम्मान गरिएको थियो भने कार्यालयका तीनजना कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो ।