१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शान्ति तामाङ काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१५ चैतदेखि उपत्यकावासीको धारामा मेलम्चीको पानी

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o७:oo

- पहिलो चरणमा एक लाख १० हजार घरधुरीमा आपूर्ति  

- केयुकेएलको पुरानै वितरण प्रणालीबाट पानी वितरण 

बहुप्रतीक्षित मेलम्चीको पानी आगामी १५ चैतदेखि उपत्यकावासीको धारामा आउने भएको छ । सो दिन पानी वितरणका लागि सुन्दरीजलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को वितरण प्रणालीमा पानी पठाउन सुरु गरिने भएको छ ।

‘१५ चैतमा सुन्दरीजलबाट केयुकेएलको वितरण प्रणालीमा पठाउन सुरु गर्छाैं,’ मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेस खत्रीले भने, ‘यतिवेला हामी सुरुङ परीक्षणको क्रममा छौँ । अहिलेसम्म सामान्य समस्या मात्र देखिएको छ । त्यसले खास असर पर्दैन ।’ सरकारले यसअघि मेलम्चीको सुरुङ परीक्षण दुई महिनासम्म गरिने घोषणा गरेको थियो । तर १५ चैतदेखि पानी वितरण गर्ने सरकारको तयारीसँगै अब तीन साता मात्रै सुरुङको परीक्षणकाल हुने भएको छ । गत १० फागुनमा सुरुङ परीक्षणकाल दुई महिना तोकिएको थियो । 

मेलम्चीको पानी सुरुङमा खसाएको ३५ दिनमै उपत्यकावासीको घरघरमा आउने भएको हो । गत १० फागुनमा २६ किलोमिटर मेलम्चीको सुरुङमा पानी खसाइएको थियो । १३ दिनपछि १३ फागुनमा पानी सुन्दरीजलमा खसेको थियो । सोही दिन मेलम्ची पानी बागमती नदीमा छाडिएको थियो । सुन्दरीजलबाट दैनिक १७ करोड लिटर पानी वितरणका लागि पठाइनेछ । सुन्दरीजलबाट पठाइएको पानी केयुकेएलको पुरानै वितरण प्रणालीबाट वितरण गरिनेछ । 

शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न लागिएको आयोजनाले जनाएको छ । खत्रीका अनुसार सुख्खायामभरि मेलम्चीको पानी केयुकेएलको प्रणालीमा पठाइनेछ भने वर्षायाम लागेपछि सुरुङ खाली गरेर सुपरीवेक्षण गरिनेछ । 

यतिवेला हामी सुरुङ परीक्षणको क्रममा छौँ । अहिलेसम्म सामान्य समस्या मात्र देखिएको छ । त्यसले खास असर पर्दैन । १५ चैतमा सुन्दरीजलबाट केयुकेएलको वितरण प्रणालीमा पठाउन सुरु गर्छाैं - तिरेस खत्री, प्रमुख मेलम्ची खानेपानी आयोजना

पहिलो चरणअन्तर्गत केयुकेएलले सेवा उपलब्ध गराइरहेकोमध्ये एक लाख १० हजार घरधुरीमा नयाँ प्रणालीमार्फत पानी आपूर्ति गर्ने योजना रहेको आयोजनाले जनाएको छ । जसका लागि हालसम्म ८० हजार घरधुरीमा धारा जडान भएको छ । जसमध्ये १५ हजार धाराहरूको परीक्षण भई पानी आपूर्ति गर्नसकिने अवस्था छ । काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग भए पनि हाललाई केयुकेएलले दैनिक आठ करोड लिटर पानी मात्रै वितरण गर्दै आएको छ ।

पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरूसँगै बागमती नदीमा कुनै पनि वेला पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका खोलानाला र नदीकिनारमा जानुपर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आयोजनाले आग्रह गरेको छ । 

केयुकेएलअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार उपत्यकावासीको धारामा पानी पुर्‍याउन अन्तिम तयारी भइरहेको छ । पानी वितरणका लागि ११ सय किलोमिटर नयाँ पाइप बिछ्याउने काम सम्पन्न भएको छ ।

दुई सय किलोमिटरमा ट्यांकरको पानी हालेर परीक्षण सम्पन्नसमेत भइसकेको पिआइडीका सूचना अधिकारी उज्ज्वल प्रजापतिले जानकारी दिए । ‘नयाँ वितरण प्रणालीमार्फत पानी वितरणका लागि हामी पनि तयारी अवस्थामा छौँ,’ प्रजापतिले भने, ‘पानी वितरणका लागि सानो क्षेत्र रहेको दुई सय किलोमिटरमा ट्यांकरबाट पानी हालेर परीक्षण गरिसकेका छौँ । परीक्षण सफल पनि भयो ।’ उनका अनुसार बाँकी नौ सय किलोमिटर क्षेत्रमा मेलम्चीको पानी आएपछि नै परीक्षण गर्दै पानी वितरण गर्दै गर्छौं । 

मेलम्चीको पानी आपूर्तिका लागि पिआइडीले महांकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, बोडे, आरुबारीमा पानीट्यांकी जडान गरिसकेको छ । सातवटा पानीट्यांकी तयारी अवस्थामा छन् । ‘पानी प्राप्त भएपछि महिनामा ५० किलोमिटर पाइपलाइनको टेस्टिङ सकाउने योजना छ,’ उनले भने, ‘त्यसका लागि मेलम्चीबाट आउने पानी १० प्रतिशत परीक्षणमा खर्च गर्छौं । परीक्षण गर्दा पाइपमा जमेका फोहोर पनि बाहिर आउनेगरी फ्लसिङ गर्नुपर्छ ।’ उनका अनुसार मेलम्चीको पानी परीक्षणसँगै पठाउनुपर्ने भएकाले नयाँ वितरण प्रणालीबाट भने चैतको अन्तिम साताबाट मात्र पठाउन थालिनेछ । 

उपत्यकामा थप ३४ करोड लिटर पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भइसकेको खानेपानी मन्त्रालयले जनाएको छ । पहिलो चरणको यो परीक्षण सफल भएसँगै यांग्री र लार्केबाट पनि पानी ल्याउने काम सुरु गरिनेछ । मेलम्चीसँगै यांग्री र लार्केबाट पनि पानी ल्याउन सकिएमा उपत्यकामा ५१ करोड लिटर पानी आउनेछ । आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम पनि ६५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरूमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने तीन सय ७६ कित्ता जग्गाको मुआब्जा वितरण भइरहेको छ ।

ad
ad