१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १२:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देश पूर्ण शान्तिमा रूपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:५३:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् । प्यासिफिक एसिया ट्राभल एसाेसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उनले  फागुन २१ गतेदेखि नेपाल पूर्ण रूपमा शान्तिको देशका रूपमा रूपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे । 
     
उनले भने ‘हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायौँ, त्यस्तै पछिल्लोपटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूलधारमा ल्याइएका छौँ, यसले समाजमा रहेको भय र आतंकलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाध रूपमा हिँडडुल गर्न समस्या छैन ।’

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भई शान्तिपूर्ण राजनीतिमा आउने गरी उक्त समूहको नेतृत्व शुक्रबार सार्वजनिक भएको थियो । यो राजनीतिक सन्देशले कोभिडका कारण थलिएको पर्यटनलाई पुनरुत्थान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । पर्यटनमन्त्री ढकालले कोभिडविरुद्धको खोप पनि लगाउन सुरु  भइसकेकाले अब नेपालमा पर्यटक आउन कुनै पनि किसिमको अवरोध नरहेको जिकिर गरे । 

विदेशी पर्यटक आगमन सहज बनाइने

पर्यटनमन्त्री ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध रूपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई लिखित रूपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे । 
     
उनले  विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन व्यवसायीको आग्रहबमोजिम पर्यटन क्षेत्रको समस्या सम्बोधनका लागि अन्तरमन्त्रालय छलफल गरेर पहलकदमी लिएको र यसले छिट्टै परिणाम हासिल गर्ने बताए । 
     
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विदेशीको पर्यटक आवागमनलाई सहज तुल्याउन मन्त्रालयले पहल गरिरहेको र छिट्टै यसले निकास पाउने बताए ।  पाटा नेपालले प्यासिफिक क्षेत्रका पर्यटन आदनप्रदान गर्ने कार्यक्रम तथा पर्यटकीय गतिविधि बढाउन भूमिका खेलेको भन्दै सचिव कोइरालाले दूरदराजका गन्तव्य प्रवर्द्धनका लागि पनि पाटाले पहल गर्नुपर्ने र त्यसको सहजीकरणका लागि मन्त्रालयले सहयोग गर्ने वचन दिए । 

उनले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना कार्यक्रम ल्याउन आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर विदेशी पर्यटक भित्र्याउन प्रमुख पहलकदमी गर्ने संस्थाका रूपमा रहेको पाटाले सरकार र निजी क्षेत्रको समन्वयमा विदेशी पर्यटक ल्याउन उदाहरणीय काम गरिरहेको छ । रासस

ad
ad