मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण २० बिहीबार १६:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सम्झना हत्या प्रकरण : प्रहरीद्वारा आरोपी खत्री सार्वजनिक, जसले न्यायका लागि आन्दोलनको नेतृत्व गरेका थिए 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २० बिहीबार १६:१०:००

गुल्मीको रेसुंगा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । सम्झना गत २९ माघमा बेपत्ता भएकी थिइन् । १७ फागुनमा घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको शव फेला परेको थियो । सोही दिन प्रहरी नियन्त्रणमा रहेका बोहराका ससुरासमेत पर्ने खत्रीले प्रहरीसमक्ष हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । अहिले हत्या मात्रै स्वीकार गरेकोले थप अनुसन्धान भइरहेको पाण्डेयले बताए ।

आन्दोलन र न्यायको नाटक
आरोपी खत्रीले आन्दोलन र न्यायको नाटक गरेको प्रहरीको भनाइ छ । सम्झना बेपत्ता भएदेखि नै प्रहरीमा उजुरी दिने, परिवार उपस्थित गराउने र अनुसन्धानमा आरोपितको रोेहवर बस्नेलगायतका काममा खत्री सक्रिय थिए । उनले २ फागुनमा सम्झानाकी सासू ५२ वर्षीया टोमकला खत्री घरनजिक झुन्डिएको अवस्थामा फेला परेपछि घरघरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई उचालेका थिए । पटक–पटक प्रहरी र प्रशासन कार्यालयमा दबाब र घेराउमा खत्री अग्रपंक्तिमा थिए । उनैले १७ फागुनमा गाउँमा शव गन्हायो भनेर प्रहरीलाई खबर गरेका थिए । तर, उनी प्रहरीको निगरानीमा पहिलेबाटै थिए । शंकास्पद थुप्रै गतिविधि र स्थानीयको सहयोगमा आफूहरूलाई सफलता मिलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

शंकास्पद बयान 
बुहारी बेपत्ता भएको दुई दिनपछि सासू झुन्डिएको अवस्था फेला परिन् । जब कि उनले मर्नुअघि २९ माघको राति घरमा तीनजना अपरिचित व्यक्ति आएका थिए । ती व्यक्तिले आफू र १४ महिने नातिलाई छुट्टै कोठामा थुने । ती व्यक्तिहरूले मादक पदार्थ सेवन गरेर बुहारी सम्झना बोहरा लगेर गए । उनीहरूले कसैलाई भने ज्यान मार्ने धम्की दिए भनेर सासूले प्रहरीसमक्ष बयान गरेकी थिइन् । त्यो बयान झुट र प्रहरीको ध्यान अन्यत्र मोड्न र घटना अतिरञ्जित गर्न गरिएको आफूहरूको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । ‘सासूको बयान सब कथा मात्रै रहेछ, घटनामा संलग्न खत्री धेरै चतुर भएकाले प्रहरीलाई समेत गुमराहमा पारे,’ उनले भने, ‘घटनामा अहिलेसम्म लालबहादुर र मृतक खत्री संलग्न हुनुपर्छ ।’ अर्को व्यक्ति झुन्डिएर मरिसकेकाले बयानमा आरोपितले लगाउने दोषहरूको खोजी र पुष्टि गर्ने काम भइरहेको पाण्डेयको भनाइ छ । 

माइती पक्षविरुद्ध दुरुत्साहन मुद्दा
माइती पक्षले तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै सम्झनाकी आमा दुर्गा बोहरा, बुबा हिरा बोहरा र ठूलीआमा मिठु बोहराविरुद्ध ज्वाइँ नेत्र खत्रीले २ फागुनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका छन् । घटनाले अर्को मोड लियो । तर, त्यो मुद्दा अहिले प्रक्रियामै छ । छोरी नै बेपत्ता थिइन् । आमा दुर्गा बोहरा क्यान्सरपीडित छिन् । तर, प्रहरीले तीनैजनालाई पक्राउ ग¥यो । एक साता तीनैजनाले हिरासत भोगे । ‘गाउँकैले छोरी मारेर घरनजिकै फालेर उल्टै परिवारले प्रहरी हिरासत पु¥याए, ‘बुबा हिराबहादुर बोहराले भने,’ दैव र राज्य दुवैले अन्याय ग¥यो ।’ 

परिवारले शव अझै बुझेनन्
मृतक सम्झना बोहराको शव गुल्मी अस्पतामै रहेको छ । हत्यामा संलग्नलाई सार्वजनिक नगरेसम्म परिवारले शव नउठाउने अडान राखेका थिए । सुरुको दिन घटनास्थलबाटै शव उठाउन नदिएका माइती पक्षले अर्को दिन घटना मुचुल्का र पोस्टमार्टममा सहजीकरण गरेका थिए । अझै शव बुझ्ने विषयमा छलफल नभएको माइती पक्षका श्रीराम महतले बताए ।