कांग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी आए प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । चितवनमा बुधबार आयोजित पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा देउवाले कांग्रेसलाई पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने बताएका हुन् ।
देउवाले भनेका छन्, ‘कांग्रेसलाई पदको लोभ छैन, तर जिम्मेवारी आयो भने छाडिन्न । प्रधानमन्त्री चाहियो पनि भनेको छैन, पार्टीलाई फाइदाको कुरा पनि हो, अरू पार्टीको हुनुभन्दा आफ्नै पार्टी हुनु फाइदा हो । ’
सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षीको भूमिका बिर्सन नहुने बताएपछि देउवाले भने, ‘चित्त ठूलो राख्नुस् रामचन्द्रजी, सबैले तपाईंको चित्त सानो छ भन्छन, हेर्दै जाऔँ, मरिमेट्ने कुरा पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने छैन ।’
पौडेलले आफ्नो क्षमताअनुसारको काम सबैले गर्नुपर्नेमा जोड दिएका थिए ।