
कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको अस्पतालले जनाएको छ । शुक्रबार बिहान मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
शनिबारको तुलनामा जोशीको स्वास्थ्यमा आइतबार निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए । झाका अनुसार शनिबारभन्दा आइतबार जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् ।
जोशीलाई आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उनले आँखा भने खोलेका छैनन् ।
जोशीको आइतबार सिटी स्क्यान पनि गरिएको छ । उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको झाले बताए । ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन,’ डा. झाले भने, ‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’