मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार ०६:०७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

जलविद्युत् र सामूहिक लगानी कोषमा लगानीकर्ता झुम्मिए

सामूहिक लगानी कोषका प्रतिइकाइ खुद सम्पत्ति बढेसँगै लगानीकर्ता आकर्षित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार ०६:०७:००

गत साता सेयर बजारमा उच्च उतारचढाव देखिँदा लगानीकर्ता जलविद्युत् र सामूहिक लगानी कोषमा झुम्मिएका छन् । नेप्से ३ दशमलव १३ प्रतिशतले घटेर २ हजार ५ सय ५४ बिन्दुमा आइपुगे पनि लगानीकर्ताले घटेको बजारमा जलविद्युत् र सामूहिक लगानी कोष उठाइरहेका छन् ।  कारोबार रकम कम भए पनि जलविद्युत् र सामूहिक लगानी कोषमा गत साता अघिल्लो साताको भन्दा १ सय ६ देखि १ सय ७८ प्रतिशतसम्म लगानी बढाएका छन् । 

केही समयदेखि जलविद्युत् कम्पनीहरूको सेयर सस्तो हुँदा उठाउने र केही महँगिनेबित्तिकै बेचेर मुनाफा लिने प्रवृत्तिकै निरन्तरताका रूपमा यसलाई हेरिएको छ । बढेको बजारमा सामूहिक लगानी कोषहरूले समेत राम्रो आम्दानी गरेपछि यिनीहरूको प्रतिइकाइ खुद सम्पत्ति (एनएभी)मा वृद्धि भयो । जसले गर्दा लगानीकर्ता आकर्षित भइरहेका हुन् ।

कम्पनीहरूले आफ्नो वेबसाइटमा प्रकाशित गर्ने साप्ताहिक एनएभी १० दशमलव २ देखि २० दशमलव ३३ रुपैयाँसम्म भएपछि लगानीकर्ता आकर्षित भएका हुन् । मूल्य भने अधिकतम १५ दशमलव ६२ सम्म छ । लगानीकर्ताले प्रतिफल वार्षिक नाफा–घाटाका आधारमा पाउनुले हो, यद्यपि कतिपयले भने बजारमा फाइदा हुँदा लाभांशका रूपमा दिने नाफा उठाएर राख्ने गर्दै आएका छन् । 

गत साता समूहगत आधारमा पनि हाइड्रो र सामूहिक लगानी कोषको समूहगत परिसूचकमा मात्रै वृद्धि देखिएको छ । हाइड्रोमा ३ दशमलव ४० र सामूहिक लगानी कोषमा ५ दशमलव ८० प्रतिशतसम्म वृद्धि भएको हो । साताभरमा कुल कारोबार रकममा १२ प्रतिशत र औसत दैनिक कारोबार रकममा १४ प्रतिशतले गिरावट आएको छ ।

साताभरमा कुल ३८ अर्ब रुपैयाँको कारोबार भएको बजारमा औसत कारोबार ७ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ । कारोबार रकमका आधारमा होटेल र लघुवित्तमा लगानी घटेको छ । करिब १९ देखि ३९ प्रतिशतसम्म यी दुई क्षेत्रमा लगानी घटेको हो । 

 बजारमा नयाँ समूह थपियो  
यसैबीच नेपाल स्टक एक्सचेन्जले नयाँ समूहगत परिसूचक थपेको छ । थपिएको लगानी समूहगत परिसूचक समूहमा नागरिक लगानी कोष, जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल पूर्वाधार बैंक, एनआरएन पूर्वाधार र विकास लिमिटेड राखिएको हो ।

यसअघि यी कम्पनीहरू ‘अन्य’ समूहमा रहेका थिए । ‘अन्य’ समूहमै रहेको चन्द्रागिरि हिल्सलाई पनि होटेल तथा पर्यटन क्षेत्रगत समूहमा राखिएको छ । यसअघि भने होटेल समूहमा चारवटा कम्पनी रहेका थिए । त्यस्तै, लगानीकर्ताले आइपिओमा सेयर परे–नपरेको थाहा पाउन ‘मेरो सेयर’कै नयाँ साइट प्रयोग गर्न सक्ने भएका छन् । आइपिओरिजल्ट डट सिडिएससी डटकम डट एनपीमा गएर सेयर परे–नपरेको हेर्न सकिने व्यवस्था गरिएको हो । यसअघि सञ्चारमाध्यममा समेत नतिजा हेर्न सकिने गरिएकोमा लगानीकर्ताले सम्पत्ति गोप्यताको सुरक्षा नभएको भन्दै विरोध गरेका थिए ।
 
 प्राविधिक विश्लेषण 
नेप्सेकोे ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा एक–अर्कासँग दूरी बनाएर बसेको छ । हालसम्म ७ दिने रेखा माथि नै रहेकाले बजार बुलिस प्रवृत्तिमै रहेको संकेत गर्छ । २१ दिने रेखानजिक नेप्से रहेकाले यसमा टेवा पाएमा बजार थप बढ्न सक्छ । 

नेप्सेको एक साताको मैनबत्ती चित्रले भने बजार लगातार घटिरहेको संकेत गर्छ । बुधबार बजार निकै तलसम्म ओर्लिए पनि बढ्ने प्रयासमा रह्यो । तर, सफल हुन सकेन । बिहीबार भने नेप्से खुलेदेखि घट्नेक्रममै बजार बन्द भयो । अन्तिम दिन बनेको रातो (कालो) मैनबत्ती चित्रले बजार बियरिस रहेको र थप घट्न सक्ने संकेत गर्छ । 

नेप्सेको आरएसआई सूचक पनि ओरालो लागिरहेको छ । यो सूचक अन्तिम दिन स्केल करिब ५४ मा छ । यसले बजारमा बिक्री बढ्दै गइरहेको संकेत गर्छ । यद्यपि, बजारमा माग र आपूर्ति सन्तुलित अवस्थामै छ । यो सूचक स्केलको ३० मुनि रहे बजारमा अधिक बिक्री रहेको र ७० माथि रहे बजारमा अधिक खरिद रहेको संकेत गर्छ ।