एक्काइसौँ शताब्दीमा कुनै पनि देशको सामथ्र्य त्यो देशको विश्वविद्यालयका गुणस्तरसँग जोडिएको देखिन्छ । टाइम्स म्यागजिनले निकालेको विश्वका विश्वविद्यालयहरूको गुणस्तर श्रेणीको १० उत्कृष्टमध्ये सात विश्वविद्यालय अमेरिकाका छन् । उत्कृष्ट ५० विश्वविद्यालयमा अमेरिकाका २३ पर्दा एसियाका मात्र ६ ओटा अटाएका छन् ।
जसमा चीनका तीन, सिंगापुरका दुई, जापानको एउटा विश्वविद्यालय परेको छ । यसले वर्तमान विश्वको बौद्धिक तथा आर्थिक परिदृश्यलाई पनि प्रतिबिम्बित गर्छ । विश्वविद्यालय अनुसन्धान तथा इन्नोभेसनको उर्वर भूमि हुने भएकाले यसको गुणस्तरले देशको बौद्धिक तथा आर्थिक उचाइ निर्धारण गर्छ ।
हाम्रो देशको ठूलो तथा पुरानो विश्वविद्यालय त्रिवि भने यो सुचीमा आठ सयभन्दा तलको स्थानमा छ । यसले हाम्रो देशको आर्थिक दुरवस्थालाई पनि प्रतिबिम्बित गर्छ । विकसित देशमा विश्वविद्यालयका अनुसन्धानहरूले नै ज्ञान, विज्ञान र प्रविधिको अभूतपूर्व विकासमा योगदान गरे पनि हाम्रोमा भने स्थिति बिल्कुल फरक छ । हाम्रा विश्वविद्यालयहरू मुख्यतः उच्च शिक्षाको डिग्री दिने शिक्षालयमा सीमित छन्, प्राज्ञिक मन्थन, नवीनतम् ज्ञान उत्खनन तथा अन्वेषणको केन्द्र हुन सकेका छैनन् ।
विश्वविद्यालय गैर–प्राज्ञिक गतिविधिको दुष्चक्रले घेरिएको छ । वि.सं. २०१६ मा स्थापित त्रिविले ६ दशक पार गरिसक्दा पनि यसले विश्वविद्यालयको मर्मअनुरूपको गुणात्मक गतिशीलता ल्याउन सकेको छैन । हाल सञ्चालनमा रहेका निजी तथा क्षेत्रीय विश्वविद्यालयहरूमा पनि अध्यापन तथा मूल्यांकनमा गुणात्मक भिन्नता खासै पाइँदैन ।
समयसापेक्ष सुधारको नाममा पाठ्यक्रम परिमार्जन, सेमेस्टर प्रणाली तथा ग्रेडिङ प्रणाली लागू गरिए पनि अध्ययन–अध्यापन तथा मूल्यांकन पद्धतिमा रचनात्मकता छैन । आफूले पढेको–जानेको विषयमा व्यावहारिक अनुभव लिन केही प्राविधिक विषयबाहेक अन्य संकायका विद्यार्थीले इन्टर्न गर्नुपर्ने व्यवस्था छैन ।
विकसित मुलुकहरूमा अनुसन्धान तथा इन्टर्नलाई सिकाइको अभिन्न पक्ष मानिए पनि हाम्रोमा पुरानै तरिका हावी छ । उच्च शिक्षाको हार्डवेयर मात्र फेरिए, त्यसलाई चलाउने सफ्टवेयर उही म्याद गुज्रिसकेको पुरानो नै यथावत् छ । केही अपवादबाहेक विश्वविद्यालयले प्राध्यापकहरूलाई कर्मकाण्डीय पण्डितजस्तो बनाएको छ, विद्यार्थीहरू वेदपाठकजस्तो घोकन्ते भएका छन् । प्राध्यापक बेलगाम छन् ।
यस सन्दर्भमा त्रिवि कीर्तिपुरबाट स्नातकोत्तर
पढ्दा तथा करिब आधा दशक पहिले विकसित देशको एक राष्ट्रिय विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रमको अनुभव यहाँ उल्लेख गर्न सान्दर्भिक छ । पंक्तिकारलाई नौलो लागेको विष् त्यहाँ स्नातक तहमाथिको सैद्धान्तिक कक्षामा विभागको निर्देशिका पालना गर्दै विषय र पाठ्यक्रम प्राध्यापक आफैँले निर्धारण गर्ने व्यवस्था रहेछ ।
कोरा ज्ञानको जानकारी राख्नेभन्दा पनि ज्ञानको प्रयोग तथा प्रशोधन गरेर थप सबल बनाउने तथा नवीनतम् आयाम थप्ने जनशक्ति विकास अहिलेको माग हो, जुन हाम्रो विश्वविद्यालयमा लागू गर्न सकिएको छैन
अझ रोचक प्रसंग, प्राध्यापकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीहरूबाट अनुसन्धान कोष जुटाउन अनुसन्धानका नवीनतम् खाका बनाउन आहोरात्र तल्लीन हुँदारहेछन् । विकसित मुलुकका प्राध्यापकहरूको अनुसन्धानमा लगाव र विद्यावारिधिका विद्यार्थीहरूको अनुसन्धानमा असीमित खटाइसहितको प्राज्ञिक वातावरणले ज्ञान विज्ञानको क्षेत्रमा नयाँ आयाम थपिरहेको हुन्छ । अर्काे महत्वपूर्ण पक्ष, प्राध्यापकको प्राज्ञिक उचाइ तथा पारिश्रमिक स्केल प्रकाशित अनुसन्धान लेखको गुणात्मकता तथा अनुसन्धान कोषको प्रचुरताका आधारमा हुने गर्छ ।
हाम्रो त्रिवि र विश्वस्तरीय विश्वविद्यालयहरूमा मुख्यतः विषयगत पाठ्यक्रममा भन्दा पनि सिकाइ र मूल्यांकन पद्धतिमा धेरै फरक रहेको देखिन्छ । विकसित मुलुकका विश्वविद्यालयमा अनुसन्धानलाई केन्द्रमा राखेर अध्ययन–अध्यापन–मूल्यांकन गरिन्छ । विश्वविद्यालयले विभिन्न तहका विषयगत तथा संकायगत उत्कृष्ट वर्ष विद्यार्थी पदकजस्ता अन्य धेरै प्रतिष्ठित पदकहरू पूर्णतः अनुसन्धानात्मक लेखका आधारमा प्रदान गर्ने गरेको पाइन्छ ।
यस अर्थमा विश्वविद्यालयले संकाय र विषयगत उत्कृष्ट अंकका आधारमा प्रदान गर्ने दीक्षान्त पदक अहिलेको परिप्रेक्ष्यमा असान्दर्भिक मात्र होइन, विश्वविद्यालय शिक्षाको मर्मविपरीत पनि छ । उदाहरणका लागि त्रिविले ४६औँ दीक्षान्त समारोहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई ३१ ओटा पदक तथा पुरस्कार प्रदान गर्यो । विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु राम्रो हो, तर उत्कृष्टताको मापन भने पुरातन परीक्षा प्रणालीको प्राप्तांकका आधार गरिन्छ ।
यसले विद्यार्थीलाई प्राज्ञिक प्रतिस्पर्धाबाट विमुख गरेको छ । पाठ्यपुस्तकमा दिइएको विषयवस्तु घोकेर हुबहु लेख्न सक्नेले उच्च अंक प्राप्त गर्छन् । उत्कृष्टताको मानक घोकन्ते शिक्षालाई बनाइरहेका छौँ, हामी । यसलाई पुनर्विचार गर्नु अपरिहार्य भइसकेको छ ।
अबका दिनमा कम्तीमा विश्वविद्यालयका विद्यार्थीहरूको उत्कृष्टता नवीनतम् ज्ञानको खोज तथा अनुसन्धानात्मक लेखको गुणस्तरका आधारमा होस् । तब मात्र नयाँ पुस्ताको प्रतिस्पर्धा अंकमा भन्दा अनुसन्धान र इन्नोभेसनमा केन्द्रित हुनेछ । दीक्षान्त पदकको ओज बढ्नेछ ।
अर्काे दुःखद पक्ष, हाम्रा विश्वविद्यालयले मात्र होइन, राज्यले उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गर्ने पदक तथा सम्मान पनि अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने खालको छैन । जस्तो कि, राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकारले स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न शैक्षिक उपाधि हासिल गरेका उत्कृष्ट नेपाली विद्यार्थीहरूलाई नेपाल विद्याभूषण पदक प्रदान गर्ने गर्छ । ‘क’ श्रेणीको पदक विद्यावारिधि गरेका नेपालीलाई दिइन्छ भने ‘ख’ र ‘ग’ श्रेणीका पदक परीक्षाको प्राप्तांकका आधारमा दिने गरिन्छ ।
समयको गतिशीलतासँगै यसलाई पनि रचनात्मक बनाउन आवश्यक छ । नेपाल विद्याभूषण ‘क’ पदकलाई पुनारावलोकन गर्नु उचित हुन्छ । हाम्रोमा विद्यावारिधि गर्ने सबैलाई पुरस्कृत गर्ने गरिएको छ । यसले विद्यावारिधिको शोधको गुणस्तरलाई गौण बनाइदिएको छ । विकसित देशमा विद्यावारिधिको डिग्रीभन्दा पनि शोध तथा अनुसन्धानको गहिराइको उच्च मूल्यांकन गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार विद्यावारिधिमा गरेको शोधको गुणस्तर वा विद्यावारिधिपछि गरेको अनुसन्धानको गुणस्तरका आधारमा उत्कृष्ट अनुसन्धानकर्ताहरूलाई मात्र सम्बन्धित शिक्षण संस्था वा राज्यले सम्मान गर्ने गरेको पाइन्छ ।
विडम्बना ! विदेशबाट विद्यावारिधि गरेकाहरू अन्तर्राष्ट्रिय माहोलबारे साक्षात्कार भएर पनि डिग्री लिएकै आधारमा प्रदान गरिने नेपाल विद्याभूषण ‘क’ पदक लिन लाम लागेका हुन्छन् । विद्यावारिधि गरेका जनशक्ति नगन्य भएको सुरुवाती समयमा महेन्द्र र नेपाल विद्याभूषणले सम्मान गर्नु सान्दर्भिक भए पनि अहिले पनि त्यसैलाई निरन्तरता दिनु कुनै कोणबाट तर्कसंगत छैन ।
नेपाल विद्याभूषण ‘क’ पदकलाई समयानुकूल रचनात्मक तथा प्रतिस्पर्धी बनाउन जरुरी छ । पदकभन्दा पनि अनुसन्धान दक्षता र अनुसन्धान योजनाको मूल्यांकनका आधारमा विद्यावारिधि गरेका युवा अध्येतामध्येबाट विषयगत प्रपोजलहरू छनोट गरी अनुसन्धान कोषको व्यवस्था गर्न सके बढी प्रभावकारी हुन सक्छ ।
अन्तमा, अनुसन्धानसहितको ज्ञानको महत्वबारे महान् वैज्ञानिक आइन्स्टाइनले भनेका छन्– कुनै पनि व्यक्तिमा रहेको ज्ञानभन्दा ज्ञानको प्रशोधनसहितको कल्पनाशीलता महत्वपूर्ण हुन्छ । कोरा ज्ञानको जानकारी राख्नेभन्दा पनि ज्ञानको प्रयोग तथा प्रशोधन गरेर थप सबल बनाउने तथा नवीनतम् आयाम थप्ने जनशक्ति विकास अहिलेको माग हो, जुन हाम्रो विश्वविद्यालयमा लागू गर्न सकिएको छैन ।
अब गुरुकुलीय मनोविज्ञानलाई तोड्नुपर्छ । त्यसका लागि हाम्रो शैक्षिक प्रणालीलाई ज्ञान तथा सूचनाको संग्रहमा भन्दा पनि ज्ञानको गुणात्मक प्रयोग तथा प्रशोधनमा केन्द्रित गर्न अत्यावश्यक छ । शैक्षिक उत्कृष्टताको मापन कोरा प्राप्तांकको आधारमा गर्ने आमबुझाइमा नयाँ चेत भर्न जिम्मेवार पक्षले वेलैमा सोचोस्, नत्र अहिलेको तरिकाले विश्वविद्यालय तथा राष्ट्रले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनका लागि दिने गरेको स्वर्ण पदक वा नेपाल विद्याभूषण पदक औचित्यहीन हुने निश्चित छ ।
(खड्का जापानस्थित नेसनल इन्स्टिच्युट फर मटेरियल्स साइन्सका स्टाफ वैज्ञानिक हुन्)