१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार १०:२४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा नेप्सेले जोड्यो एक सय अंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार १०:२४:००

गत साता नेप्से परिसूचकले १ सय ९ अंक जोडेर २ हजार ६ सय ३६ बिन्दुमा आइपुगेको छ । सातामा नेप्से परिसूचकमा भने १ सय ६० अंकसम्म उतारचढाव देखियो । नेप्से अधिकतम २ हजार ६ सय ४२ सम्म र न्यूनतम २ हजार ४ सय ८२ बिन्दुसम्म पुगेको हो । 

गत साताको तुलनामा भने कारोबार रकममा २ प्रतिशतभन्दा केही धेरैले कमी आएर ४४ अर्ब १४ करोडमा सीमित भएको छ । गत साता बजारमा ४५ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । कारोबार रकमका आधारमा सबैभन्दा धेरै २ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएर नबिल बैंक अग्रस्थानमा छ । १ अर्ब ७१ करोड रुपैयाँ कारोबारसहित ग्लोबल आइएमई दोस्रो स्थानमा छ । 

मूल्य परिवर्तनका आधारमा नेपाल पूर्वाधार बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । नेपाल पूर्वाधारको सेयर मूल्य सातामा करिब ६१ प्रतिशतले वृद्धि भएको हो भने फरवार्डबाट लगानीकर्ताले ११ प्रतिशतसम्म गुमाएका हुन् । 

बजारले हरेक दिन नयाँ उचाइ कायम गरिरहँदा लगानीकर्ता प्रफिट बुकिङ गर्दै पुनः लगानी गर्दै गइरहेका छन् । फलस्वरूप बजारले नयाँ उचाइ कायम गर्दै गएको हो । बैंकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताको लाभ बजारले पाइरहेको हो ।बैंकलगायतका संस्थागतदेखि व्यवसायीहरूको समेत बजारमा लगानी बढिरहेको छ । 

नेप्सेको मैनबत्ती चित्रले फेरि पनि अन्तिम दिन सानो सेतो शरीर र लामो पुच्छर भएको डोजी आकृति बनाएको छ । यसले लगानीकर्ता बजारको गतिलाई लिएर अन्योलमा रहेको संकेत गर्छ । उच्चदरमा प्रतिफल बुकिङ भएर बजार पुनः बढ्ने प्रयासमा रहँदा यस्तो आकृति बनेको हो ।

लगानीकर्ताले लगानीका लागि भने आगामी पहिलो दिनको कारोबार हेर्नु सही हुन्छ । यो आकृतिले बजार घट्न सक्ने संकेत गरे पनि यो दरिलो संकेत होइन । त्यस्तै, विगतमा पनि नेप्सेमा यस्तो आकृति बन्ने र केही समयपछि बजार बढ्ने देखिँदै आएकाले आगामी पहिलो कारोबार हेरेर निर्णय लिनु सही हुन्छ । नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखामा ७ दिने रेखा माथि छ । यसले बजार बुलिस प्रवृत्तिमै रहेको संकेत गर्छ ।