१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालका सन्दीप मात्र आइपिएलको अक्सनमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५२:oo

१४औँ आइपिएलको अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको मूल्य ४० लाख भारु

१४औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपालबाट सन्दीप लामिछाने मात्र अक्सनको अन्तिम सूचीमा परेका छन् । गत साता नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसँगै थप सातजना खेलाडीलाई आइपिएलको अक्सनमा समावेश गर्न नाम दर्ता गराएको थियो । विश्वकै चर्चित तथा महँगो टी–२० फ्रेन्चाइज लिग आइपिएलको अक्सनमा नेपालका अन्य सात खेलाडीले अन्तिम सूचीमा आफूलाई समावेश गर्न सकेनन् । सन्दीप, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेसवाकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी तथा विनोद भण्डारीले गत साता अक्सनमा नाम दर्ता गराएका थिए । 

सन्दीपबाहेक अन्य सात नेपाली खेलाडीले पहिलोपटक आफ्नो नाम दर्ता गराएका हुन् । आइपिएलले १४औँ संस्करणका लागि शुक्रबार २ सय ९२ खेलाडीलाई अन्तिम रूप दिँदै अक्सनमा समावेश गरेको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको हो । यसअघि अक्सनमा १ हजार ९७ खेलाडीले आ–आफ्नो नाम दर्ता गराएका थिए । बिसिसिआईले जारी गरेको विज्ञप्तिअनुसार १ सय ६४ जना भारतीय तथा १ सय २५ जना खेलाडी विदेशी छन् । 

लिस्टको ६१औँ नम्बरमा सन्दीपको नाम समावेश गरिएको छ । एसोसिएट राष्ट्रबाट तीनजना खेलाडी मात्र अक्सनमा परेका छन् । एसोसिएट राष्ट्रमध्ये अमेरिकाका अली खान र युएईका कार्तिक पनि अक्सनमा परेका छन् । आइपिएलले खेलाडीहरूको मूल्यसमेत निर्धारण गरेको छ । जसअनुसार नेपालका लेग स्पिनर सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु रहेको छ । एसोसिएट राष्ट्रका खेलाडीहरूका  लागि तीन किसिमको मूल्य निर्धारण भएको सन्दीपका एजेन्ट रमन सिवाकोटीले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । 

‘पहिलो नै एसोसिएट राष्ट्रका खेलाडीको मूल्य निर्धारण भएको हुँदा हामीले कुराकानी नगरी नै सन्दीपको मूल्य ४० लाख भारु पठाएका हौँ,’ रमनले भने, ‘एसोसिएटका खेलाडीको मूल्य २० लाख, ४० लाख तथा अधिकतम ६० लाख भारु तोकिएको थियो ।’ सन्दीपलाई यसै वर्ष आइपिएलको साबिक उपविजेता दिल्ली क्यापिटल्सले रिलिज गरेको हो । सन्दीप र दिल्लीबीच तीन वर्षको सम्झौता १३औँ सिजनमै समाप्त भएको हो । 

सन् २०१८ मा सन्दीप पहिलोपटक अक्सनमार्फत नै दिल्लीमा अनुबन्ध भएका थिए । त्यसवेला दिल्लीले सन्दीपलाई २० लाख भारुमा भिœयाएको थियो । सन्दीपले पहिलो दुई सिजनमा दिल्लीबाट स्थान बनाउन सफल भए । एकदिवसीय विश्व च्याम्पियन कप्तानसमेत रहिसकेका अस्ट्रेलियाका रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीले सन्दीपलाई अनुबन्ध गरेको पहिलो सिजनमै मौका दियो । त्यसवेला दिल्ली प्ले अफबाट बाहिरिएपछि सन्दीपले रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गर्न मौका पाए ।

डेब्यु खेलमै सन्दीपले सनसनी मच्चाउँदै विकेट लिए । सन्दीपले २०१८ को सिजनमा तीन विकेट लिएका थिए । २०१९ को सिजनमा उनले ६ खेलमा मौका पाउँदै आठ विकेट लिए । समग्रमा उनले आइपिएलमा ११ विकेट लिएका छन् । गत सिजन युएईमा भएको १३औँ आइपिएलमा दिल्ली फाइनलसम्म पुगे पनि सन्दीपले एक खेलमा पनि मौका पाएनन् । उनी बेन्चमै रहँदै उपविजेता खेलाडी बने । 

यसपटक अक्सनमा परेका सन्दीपलाई आइपिएलका दुई टोली इच्छुक देखिएको रमनले बताएका छन् । ‘मिडियामा आएको समाचार र प्राप्त जानकारीअनुसार किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्स सन्दीपलाई लिन इच्छुक देखिएका छन्,’ सन्दीपका एजेन्ट रमनले भने । यतिवेला पन्जाब र मुम्बईमा विदेशी खेलाडीको कोटा बाँकी छ । मुम्बईले यस वर्ष विदेशी खेलाडीहरू लथिस मलिंगा, जेम्स प्याटसन, नाथन कल्टरलाई फुकुवा गरेको छ । मुम्बईसँग अहिले स्पिनरमा राहुल चाहर तथा कुनाल पाण्डयाको साथ छ । 

गत सिजनको आइपिएलको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेको पन्जाबसँग पाँच विदेशी खेलाडी किन्न पाउने बाटो खुला पारेको छ । पन्जाबले यसपटक खेलाडी किन्न ५३ करोड २० लाख भारु बजेट छुट्याएको छ । रमनले यसपटक सीधै अक्सनमा रहेका आफ्ना एजेन्ट सन्दीपलाई भाग्यले कति साथ दिने भन्ने तर्क गर्छन् । ‘भाग्यको पनि खेल हुन्छ,’ उनले भने, ‘अन्य अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सन्दीपको प्रदर्शन राम्रो छ, ती प्रदर्शनको आधार हेर्दा पनि सन्दीपको आइपिएलमा अनुबन्ध नहुन सक्ने भन्ने छैन, तर यसमा लकले कति साथ दिन्छ, त्यो पनि हेर्नुपर्छ ।’ 

आठ विदेशी खेलाडी उच्च मूल्य
आइपिएलको अक्सन १८ फेब्रुअरीमा हुनेछ । बिसिसिआईले शुक्रबार सार्वजनिक गरेको खेलाडी तथा मूल्यअनुसार आठ विदेशी खेलाडी उच्च मूल्यमा परेका छन् । उनीहरूको पहिलो बोली नै २ लाख ७५ हजार डलर रहेको छ । अस्ट्रेलियाका स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, इंग्ल्यान्डका मोइन अली, साम विलिंग्स, लिआम प्लंकेट, जासन रोय, मार्क उड र बंगलादेशका अलराउन्डर सकिव अल हसनको अक्सनमा सुरुवाती मूल्य २ लाख ७५ हजार डलर रहेको छ । यसैगरी, भारतका स्पिनर हजरभजन सिंह तथा केदार जाधवको मूल्य पनि त्यति नै रहेको छ । 

ad
ad