मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ माघ २८ बुधबार
  • Friday, 14 August, 2026
नरेश ज्ञवाली काठमाडाैं
२o७७ माघ २८ बुधबार o७:o२:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

द क्याराभान अर्थात् विद्रोह 

Read Time : > 3 मिनेट
नरेश ज्ञवाली, काठमाडाैं
नयाँ पत्रिका
२o७७ माघ २८ बुधबार o७:o२:oo

भारतीय पत्रकारिता इतिहासमै पहिलोपटक पत्रकारिताको प्रसिद्ध पुरस्कार ‘लुइस एम लायन्स’ प्राप्त गरिरहँदा ‘द क्याराभान’ म्यागेजिन ५ वटा राज्यद्रोहसहितका कुल १० वटा मुद्दा खेपिरहेको छ । कारण हो– उसले सरकारको प्रचारमा आफ्नो मसी खर्चिएन, बरु अनुसन्धानमूलक खोज पत्रकारितामार्फत उसले निरन्तर सत्तामाथि प्रश्न गरिरह्‍यो । कर्पोरेट प्रभावबाट मुक्त भएर वास्तविक पत्रकारिताको उदाहरण प्रस्तुत गरिरह्‍यो । एकातिर यो पत्रिका मानवअधिकार, सामाजिक न्याय र लोकतन्त्रको क्षयीकरणबारे अद्वितीय र सम्झौताहीन कभरेज गरेबापत पुरस्कृत भएको छ भने अर्कोतिर उसमाथि राज्यद्रोहका मुद्दा लगाइएको छ । यो विरोधाभाससँगै प्रेसको आलोचनात्मक आवाज निमोठ्न चाहने भारतीय सत्ताको वास्तविक अनुहार नांगिएको छ । 

हार्वर्ड विश्वविद्यालयअन्तर्गतको नायमन फाउन्डेसन फर जर्नालिजमले पत्रकारितामा विवेक र निष्ठाका लागि प्रदान गर्ने यो पुरस्कार प्राप्त गरिरहँदा ‘द क्याराभान’ ले समाजलाई विभाजन गरेको, भ्रमपूर्ण समाचार प्रकाशित गरेकोलगायतका आरोपमा भारतका पाँच राज्यमा  मुद्दा खेपिरहेको छ । यीमध्ये पाँचवटा मुद्दा गत २६ जनवरीपछि लगाइएको हो । दुई महिनादेखि कृषि कानुनको विरोधमा रहेका किसानहरूले विरोधस्वरूप ट्याक्टर र्‍याली निकाले र २६ जनवरीका दिन दिल्लीको लालकिल्लामा आफ्नो झन्डा फहराइदिए (पछि झन्डा फहराउने दीप सिद्धु बिजेपीनिकट व्यक्ति रहेको खुलासा भयो) ।

त्यसक्रममा प्रहरीले किसानमाथि दमन ग¥यो र एकजना किसानको ज्यान गयो । त्यसबारे क्याराभान म्यागेजिनले आफ्नो ट्विटर हेन्डिलबाट दिएको सूचना गलत रहेको आरोपमा दिल्ली पुलिसले नोयडामा मुद्दा दायर गरिदियो । पत्रिकाका मुख्य सम्पादक, प्रकाशक परेशनाथ, सम्पादक अनन्तनाथ र कार्यकारी सम्पादक विनोद के जोसमाथि देशद्रोहको मुद्दा लगाइएको छ ।

पत्रकारिता सत्ताको भक्ति नभई प्रश्न गर्ने पेसा हो भन्ने जुन मानक भारतीय पत्रकारितामा द क्याराभानले स्थापित गरेको छ, त्यो सबैका लागि अर्थपूर्ण छ

सन् २०१४ मा भारतीय सत्तामा नरेन्द्र दामोदर दास मोदीको उदयपछि अधिकांश सञ्चारमाध्यम सरकारको प्रोपागान्डा मेसिनमा परिणत भइरहँदा  ‘क्याराभान’जस्ता सीमित सञ्चारमाध्यम बाँकी थिए, जसले वास्तविक पत्रकारिता गरिरहेका छन् । धेरै पत्रकारको जीवन जागिर गरेरै बित्ने गरेको वर्तमान समयमा क्याराभानका पत्रकारले वास्तविक पत्रकारितामार्फत सास फेर्दै छन् । त्यसैले त आमनागरिकको आवाज बोलिरहेका छन् भन्दा फरक पर्दैन । अरू पनि यस्ता केही नाम छन्, जसले इतिहास रचेका छन्, नयाँ गोरेटो खनेका छन् । अमेरिकाको ‘द इन्टरसेप्ट’, म्यानमारको ‘म्यानमार नाउ’ केही गर्विला नाम हुन् । भारतको ‘द क्याराभान’ म्यागेजिन  पत्रकारिताको यस्तै वास्तविक उदाहरण हो । 

पत्रकारितामा लामो कथा लेखन शैलीलाई पछ्याउने यो पत्रिका सन् २०१० देखि पुनः प्रकाशित हुन थालेको हो । लङ–फर्म स्टोरी न्यारेसनका लागि पत्रिकाले जोनाथन सैनिनलाई सुरुवातीकालमै नियुक्त गरेको थियो । सैनिनले यसअघि विश्वप्रसिद्ध द गार्डियन पत्रिकामा लङ–फर्म स्टोरी एडिटरका रूपमा काम गरिसकेका थिए । क्याराभानको दुईवर्षे यात्रा टुंग्याएर सैनिन न्युयोर्कर पत्रिकामा आबद्ध हुन गए । दिल्लीको झन्डेवालस्थित क्याराभानको कार्यालयमा आज पनि जोनाथन सैनिनको ठूलो फोटो झुन्ड्याइएको देख्न सकिन्छ । क्याराभान पत्रिकामा सैनिनको कला, कार्यकारी सम्पादक विनोद के जोसको लगनले पत्रिका अघि त बढ्यो, तर त्यहाँ इन्भेस्टिगेटिभ स्टोरीका लागि एउटा स्तम्भको खाँचो थियो, जुन आवश्यकता पूरा गर्न आइपुगे, हरतोष सिंह बल । हरतोषको खोजी पत्रकारितामा निकै लामो अनुभव र दख्खल थियो । खासमा उनी विद्रोही पत्रकार हुन् । 

देशैभरि सबैको ध्यान तान्ने गरी पत्रिकाले जज लोयाको नामले चर्चित बृजगोपाल हरिकृष्ण लोया (बिएच लोया)को विषयमा पत्रकार निराजन टाकलेको विस्तृत समाचार प्रकाशित गर्‍यो । महाराष्ट्रको न्यायालयमा न्यायाधीश रहेका लोयाको मृत्यु कालगतिले भएको हो भन्नेमा पत्रिकाले प्रश्न उठायो । जज लोयाको मृत्यु प्रकरण यसकारण पनि महत्वपूर्ण थियो कि यसको तार हाल भारतका गृहमन्त्री तथा कुनै वेला भारतीय जनता पार्टीका अध्यक्ष रहेका अमित शाहसँग गाँसिन पुग्थ्यो । सोहराबुद्धिन शेख फेक इन्काउन्टरको सुनुवाइ गर्ने क्रममा सिबिआईको स्पेसल कोर्टमा पुगेको मुद्दाका मुख्य न्यायाधीश बिएस लोया थिए । पत्रिकाले यसमा २७ वटा फलोअप स्टोरी छाप्यो । त्यति नै वेला क्याराभान म्यागेजिनले हिन्दी अनलाइन संस्करण कारवां पनि सुरु गर्‍यो ।

त्यहाँबाट खोजी पत्रकारिताको जग बसालेको पत्रिकाले पछिल्लो समयसम्म आईपुग्दा राफेल खरिदमा भएको घोटालाबारे विस्तृत रिपोर्टिङ गर्‍यो । केम्यान आइल्यान्डबाट अनधिकृत रूपमा हेज फन्ड कम्पनी चलाइरहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालका छोरा विवेक डोभालको व्यापारमा सत्ता र शक्तिको दुरुपयोग कसरी गरिएको छ तथा मुकेश अम्बानीको कम्पनी रिसान्य ग्रुपले अमेरिकी प्रतिबन्ध छलेर भेनेजुएलाबाट कच्चा तेल कसरी खरिद गर्छ भन्नेबारे विस्तृत अनुसन्धानमुलक खोजी रिपोर्टिङ गर्‍यो । यसका साथै दिल्ली हिंसामा भारतीय जनता पार्टीको संलग्नतालगायत कयौँ विषयमा विस्तृत खोजी समाचार प्रकाशित गर्‍यो ।

पत्रिकाको सम्पादकीय नीति सरकारका अघिल्तिर नझुक्ने भएकै कारण कैयौँ अप्ठेराहरूको सामना त्यहाँ काम गर्ने पत्रकारले बेहोरे । त्यसैको फलस्वरूप साहिद तान्त्रे, प्रभजित सिंह र तथा नाम नखुलाइएकी महिला पत्रकारलाई हिन्दू अतिवादीले रिपोर्टिङका क्रममा हमला गरे । पछिल्लो समय मन्दीप पुनिया, जो क्याराभानमा नियमित लेख्ने स्वतन्त्र पत्रकार हुन्, उनीमाथि पनि राजद्रोहको मुद्दा लगाइयो (हाल उनी जमानतामा रिहा भएका छन्) ।

क्याराभान म्यागेजिन ले पाएको पुरस्कारका बारेमा ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम नेटवर्कले आफ्नो ट्विटर हेन्डिलमा लेखेको छ– ‘भारतमा प्रेस स्वतन्त्रतामाथि अभूतपूर्व हमला भइरहेको समयमा विवेक र अखण्डताका लागि पुरस्कार हात पारेकोमा महान् पत्रकारहरूलाई बधाई छ ।’ पत्रकारिता सत्ताको भक्ति नभई प्रश्न गर्ने पेसा हो भन्ने जुन मानक भारतीय पत्रकारितामा क्याराभानले स्थापित गरेको छ, त्यो सबैका लागि अर्थपूर्ण छ ।