मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ माघ २७ मंगलबार २२:१०:००
Read Time : > 1 मिनेट
खेलकुद

एपिएफलाई पछ्याउँदै आर्मी

Read Time : > 1 मिनेट
२०७७ माघ २७ मंगलबार २२:१०:००

त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको एपिएफसँगको दूरी दुई अंकमा छोट्याएको छ । मंगलबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई २–० ले पराजित गर्दै आर्मीले आफूलाई उपाधि होडमा अगाडि बढाएको हो ।

सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा आर्मीलाई विजयी बनाउन शर्मिला थापाले एक गोल गरिन् भने एक आत्मघाती गोल उपहार पाएको थियो । शर्मिलाले खेल सुरु भएलगत्तै गोल गरेकी थिइन् । त्यसपछि खेलको पहिलो हाफ हुनु मात्रै तीन मिनेटअघि वालिङकी पुष्पा गुरुङले आफ्नै पोस्टमा गोल गरेपछि आर्मी २–० ले विजयी भएको हो । 

पराजयपछि वालिङका प्रशिक्षक दिलीप थापाले सुरुवातमै गोल व्यहोर्नु पराजयको कारण बनेको बताए । ‘खेलाडीहरूले राम्रो प्रदर्शन गरेका हुन् । यद्यपि, खेलको सुरुवातमै गोल व्यहोर्दा हामी दबाबमा पऱ्याैँ,’ प्रशिक्षक थापाले भने, ‘त्यसले खेलको अवस्था नै परिवर्तन गरिदियो ।’

आर्मीका प्रशिक्षक राजु तामाङले पनि सुरुवातमै गोल सम्भव हुँदा जित सहज भएको बताए । ‘सुरुवातमै सम्भव भएको गोलले हामीलाई जित सहज बन्यो,’ प्रशिक्षक तामाङ भन्छन्, ‘हाम्रा रक्षकहरूले पनि निक्कै राम्रो प्रदर्शन गरे । उनीहरूले विपक्षी स्ट्राइकरलाई रोकेपछि जित अझ सहज बन्यो ।’ पराजयका बाबजुद वालिङ अंक–तालिकाको तेस्रो स्थानमा छ । 

पुलिसको एक स्थान सुधार

नेपाल पुलिस क्लबले पनि अंक–तालिकामा सुधार गरेको छ । मंगलबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ३–० गोलले पराजित गर्दै पुलिस चौथो स्थानमा उक्लिएको हो । 

सातदोबाटो मैदानमा पुलिसलाई विजयी बनाउन निरू थापाले उत्कृष्ट प्रदर्शन गरिन् । उनले टोलीका लागि दुई गोल गरिन् । अर्काे एक गोल निर्मला उपाध्यायले गरिन् । निर्मलाले खेलको ४१औँ मिनेटमै पुलिसलाई १–० ले अघि बढाएकी थिइन् । खेलको ५७औँ मिनेटमा निरूले अग्रता दोब्बर पारिन् । त्यसको तीन मिनेटपछि नै अर्काे गोल थप्दै निरूले टोलीको जित ३–० ले निश्चित गरेकी हुन् । यो पराजयपछि विराटनगर भने पाँचौँ स्थानमा झरेको छ ।