१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन प्यासी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:५३:oo
Read Time : > 3 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

आवाज त सडकमै बुलन्द हुन्छ 

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५३:oo

नागरिक आन्दोलनमा सुरुवातदेखि सक्रिय पवित्रा माइतीघर, बालुवाटार, टेकु, शोभाभगवतीलगायत ठाउँमा छुटेकी छैनन् । शासकको रबैया र त्यसले आमनागरिकलाई दिएको दुःखमाथि पवित्राको प्रस्तुति निरन्तर छ ।

पवित्रा खड्का नाट्यकर्मी, शिल्पी थिएटर 

विक्रम सम्वत् १९९७ माघ १५ गते बिहान । शोभाभगवतीमा गोलीको चर्को आवाज आयो । एकछिन सन्नाटा छायो । कर्नेल नरशमशेरको आदेशमा सिपाहीले गोली चलाएका थिए । गंगालाल श्रेष्ठ र दशरथ चन्दको छातीमा गोली दागिएको थियो । उनीहरू त्यहीँ ढलेका थिए । 

माघ १९ मा वृहत् नागरिक आन्दोलनले शोभाभगवतीमै विशेष सभा आयोजना गर्‍यो । सभामार्फत लेखक पत्रकार नारायण वाग्लेले ७ फागुनमा टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सिर्जना हुने दाबी गरे । शासकहरूले हिजो सिंहदरबार कसले बनाए, त्यो माटो केले बनेको थियो भनेर जवाफ दिनुपर्ने उनले बताए । उनले भने, ‘यसपालिको प्रजातन्त्र दिवस हामी आफैँ मनाउन जानेछौँ । त्यही दिन हामी नागरिक हो कि रैती भन्ने कुरा सोध्नेछौँ । नागरिक अधिकार कहाँ–कहाँ दमन गरियो, खोसियो प्रश्न गर्नेछौँ । यी सबै इतिहासको एक–एक हिसाब हुनुपर्छ । ७ फागुनमा यो सबै कुरा बताइनेछ ।’

गंगालाल र दशरथलाई साक्षी राखेर वाग्लेले अभिव्यक्ति दिएकै ठाउँमा केहीअघि मात्रै नाटक प्रस्तुत भएको थियो । कथा त्यही थियो, गंगालाल र दशरथको १९९७ माघ १५ गते बिहान । नरशमशेरले गोली हान्ने आदेश दिनुअघिको । नाटकको निर्देशन गरेकी थिइन् नाट्यकर्मी पवित्रा खड्काले । खड्का उनै हुन्, जो ८–१० वर्षदेखि नेपाली रंगमञ्चमा सक्रिय छिन् ।

 शिल्पी थिएटरमा सक्रिय पवित्राको थिएटरमै दर्जनभन्दा बढी नाटकमा प्रस्तुति छ । तर, थिएटर ज्यादा सडकहरूमा । कतिवटा सडक नाटक गरिसकिन् यकिन भन्न सक्दिनन् । नागरिक आन्दोलनमा पनि सुरुवातदेखि सक्रिय पवित्रा माइतीघर, बालुवाटार, टेकु, शोभाभगवतीलगायत ठाउँमा छुटेकी छैनन् । शासकको रबैया र त्यसले आमनागरिकलाई दिएको दुःखमाथि पवित्राको प्रस्तुति निरन्तर छ । चाहे डा. गोविन्द केसी अनशनमा बस्दा होस, या निर्मला पन्तको हत्याकाण्डको विरुद्धमा । अथवा उखु किसान आओस् या प्रतिगमनको विरुद्धमा । पवित्र शिल्पी थिएटरको घेरो नाघेर सडकमा आइपुगिहाल्छिन् । सडकमा चिच्याइहाल्छिन् । 

प्रत्येक परिवर्तनको ढोका उघार्ने वेला नेपाली रंगमञ्च सडकमै छ । प्रत्येक अँध्यारोविरुद्ध सडकमा उत्रेकै छ । उज्यालोको खोजी गरेकै छ । चाहे अशेष मल्ल होऊन् या सुनिल पोखरेल अथवा अनुप बराल । उनीहरू सडकमा आएकै हुन् । घिमिरे युवराज, राजन खतिवडा, सिर्जना सुब्बा, राज शाह, हीरा बिजुलीहरू सडकमै छन् । सडकबाट नयाँ बिहानका लागि मुठी उठाइरहेकै छन् । नयाँ पुस्ताका पवित्राहरू पनि मुठी उठाइरहेकै छन् । 
०००
जब नाटक थिएटरमा सुरु हुन्छ, त्यहाँ नियम बताइन्छ– मोबाइल साइलेन्टमा राख्नुपर्ने, हल्ला गर्न नपाइने, रेकर्ड गर्न नपाइने आदि । दर्शक नियम मान्न तयार हुन्छन् । अनि नाटक सुरु हुन्छ । तर, सडकमा त थिएटरको माहोल हुँदैन ! दर्शक धेरै हुन्छन् । हल्ला गर्छन् । खासखुस हुन्छ । त्यो सडकको चरित्र स्वाभाविक हो । सडकको त्यो स्वभावलाई स्विकार्न तयार भएपछि मात्र राम्रो प्रस्तुति दिन सकिने पवित्राको अनुभव छ । 

१९ माघमा  शोभाभगवतीमा देखाइएको सडक नाटक ‘जनता जागेपछि’को दृश्य । तस्बिर : संजित परियार/नयाँ पत्रिका

पवित्रा कहिले क्रान्तिकारी छवि लिएर, कहिले आमाको भूमिकामा, कहिले सहिदको भूमिकामा सडकमा देखा पर्छिन् । निर्धक्क प्रस्तुति दिन्छिन् । दर्शकको ध्यान आफूतिर खिच्छिन् । तर, सुरुवातको सडक नाटकको अनुभव भने पवित्रालाई उस्तो गज्जबको छैन । थिएटरमा जस्तो सडकको वातावरण नहुने हुँदा अप्ठ्यारो महसुस हुने गथ्र्यो । उनी सुनाउँछिन्, ‘सुरु–सुरुमा स्वर खुलाउन नसक्ने, कतै–कतैबाट फोटो खिचिँदिँदा प्रस्तुतिमा अलि ध्यान नपुग्ने समस्या भए । तर, बिस्तारै बानी पर्दै गयो । अहिले त आदत बनेको छ ।’
०००
सडकमा प्रस्तुति दिनुअघि पवित्रा पात्रमा छिर्छिन् । ‘म मेरो पात्रका लागि छु, म पात्र भएर आएको छु’ भनेर मनमनै ढुक्क हुन्छिन् । ‘यहाँ म होइन, पात्र छ र पात्रलाई न्याय गर्नुपर्छ’ भनेर आफैँलाई सम्झाउँछिन् । पात्रलाई भित्रैदेखि बुझ्छिन् र आत्मविश्वास बटुल्छिन् । अनि नयाँ अवतारमा पवित्राको नयाँ रूप सडकमा देखिन सुरु हुन्छ । 

सुरुवातको अनुभवलाई छाड्ने हो भने पवित्रालाई लाग्छ, ‘आवाज त सडककै बुलन्द हुनेरहेछ । थिएटर त एउटा घेरोभित्र हुन्छ । तर, सडक भनेको सडक नै हो । जहाँ खास सत्य हुन्छ ।’ नाटक लिएर सडक जाँदा धेरै मान्छे नयाँ हुन्छन् । कति त थिएटर नै नदेखेकाहरू हुन्छन् । त्यो नयाँ मान्छे र नयाँ मञ्च सम्झनासाथ पवित्राभित्र ऊर्जा भरिएर आउँछ ।

नाटक लिएर पवित्रा गाउँ–गाउँ पुगेकी छिन् । गाउँका आँगन र चौतारीमा प्रस्तुति दिएकी छिन् । प्रस्तुति सकिएपछि ती गाउँले भन्छन्, ‘तपाईंहरूले हाम्रो कथा र समस्या भनिदिनुभो ।’ गाउँलेबाट पाएको प्रतिक्रिया ‘पवित्र’ प्रतिक्रिया मान्छिन् पवित्रा । 

गाउँ रामेछापमा छ पवित्राको । तर, पवित्रा भने काठमाडौंमा छिन् । काठमाडौंबाट नाटकको कोसेली बोकेर गाउँ पुग्छिन् । ६, ७ कक्षा पढ्दा नै काठमाडौं छिरेकी थिइन् । जनयुद्धकालीन समयमा रामेछाप बस्न सक्ने अवस्था नबनेपछि पवित्राको परिवार काठमाडौं भागेको थियो । पवित्रा पनि सँगै थिइन् । 

०००
सपना छ । सपना पूरा गर्ने जुनुन छ । त्यसैका लागि पवित्रा निरन्तर नाटकमा छिन् । नाटकसँग कहिले सडकमा त कहिले थिएटरमा छिन् । तर कसरी हो, आफू थिएटरतिर तानिएको याद छैन पवित्रालाई । अहिले भने सपना, संसार त्यही थिएटर छ । यही थिएटर उनको सपना बनेको छ । पवित्रालाई लाग्छ, ‘सपना त हुन्छन्, तर सपनालाई साकार पार्न कुन हदसम्म मिहिनेत गरिन्छ भन्ने हुँदोरहेछ ।’

पवित्रा नरोकिई भन्छिन्, ‘म यात्रामा निस्किसकेँ । मेरो पाइला चलिसक्यो । अब मलाई रोक्ने म आफैँले हो । त्यो कदापि हुनेछैन ।’ पवित्राले शोभाभगवतीमा यसो भनिरहँदा उता मञ्चमा पत्रकार वाग्ले बोलिरहेका थिए, ‘सिंहदरबार बनाउँदा ६ महिनासम्म पहाड र भक्तपुर काठमाडौंमा अनिकाल परेको थियो । हाम्रा बालबच्चा कुपोषणको सिकार भए । त्यो सिंहदरबार, त्यहाँका शासक, त्यहाँका मालिकहरू आज के भए ? झन् शासक भए ।’ वाग्लेले यसो भनिरहँदा पवित्रा हाँस्दै ताली पिटिरहेकी थिइन् ।

००० 
जनता जागेपछि नाटकको सामग्री संकलन गुरुङ सुशान्तको र निर्देशन पवित्रा खड्काको हो । नाटकमा सहिद गंगालालका भूमिका गोविन्द ओली, सहिद दशरथको भूमिका रवि श्रेष्ठ, कर्नेल नरशमसेरको भूमिकामा शेखर चापागाईं, सिपाहीहरूमा रविन परियार, अजय लामा देखिन्छन् । कोरसमा सञ्जय शाही, दीपा बोहोरा, मञ्जु गिरी, नम्रता अर्याल, सुमित्रा लामिछाने छन् । नाटकमा संगीत संयोजकका रूपमा देव नेउपाने र संगीत परिचालनमा संगीता उराव छन् ।

 

 

ad
ad