१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २१:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मादी गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २१:२७:oo

कास्कीस्थित मादी गाउँपालिकाको केन्द्र विवाद पुनः बल्झिएको छ । गाउँपालिकाको वडा नम्बर ४ बेतेनीमा केन्द्र तोक्न गण्डकी प्रदेश सरकारले संघ सरकारलाई सिफारिस गरेसँगै पालिकाको केन्द्र विवाद पुनः बल्झिएको हो । 

गाउँपालिकाको केन्द्र सार्ने प्रस्ताव संघमा प्रदेश सरकारले पठाएको थाहा पाएपछि मंगलबार स्थानीयले गाउँपालिका कार्यालयमा ताला लगाइदिएका छन् । नेपाली कांग्रेस मादी गाउँपालिका– ३ का कार्यबाहक सभापति नारायण गुरुङको नेतृत्वमा स्थानीयले गाउँपालिका कार्यालयमा ताला लगाइदिएका हुन् । 

‘पार्टीगतभन्दा पनि पूर्वाधारयुक्त रहेको अहिलेको ठाउँबाट किन केन्द्र सार्ने भन्ने हाम्रो प्रश्न हो । अहिले नै केन्द्र रहेको याङ्जाकोटमा सबै पूर्वाधार छ । बाटो, बिजुली, भवन पूर्वाधार सबै छन् । यस्तो पूर्वाधार भएको ठाउँबाट अन्त जग्गा किनेर नयाँ पूर्वाधार बनाउनुपर्छ । यस्तो हुँदा किन हामीमा पूर्वाग्रह राखेर यहाँबाट केन्द्र सार्न खोजियो ? यो हामीलाई मान्य छैन,’ तालाबन्दी गर्न अगुवाइ गरेका नारायण गुरुङले नयाँ पत्रिकासँग भने । गाउँपालिकाले एक वर्षअगाडि चारवटा विकल्प राखेर सिफारिस गरेको थियो । 

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले आफूहरूले एक वर्ष पहिले चारवटा विकल्प राखेर सिफारिस गरेकोमा प्रदेश सरकारले बेतेनी मात्र तोकेर केन्द्र पठाइदिएको बताए । ‘एक वर्ष पहिले नै चारवटा केन्द्रमध्ये केन्द्रबाट जहाँ तोकिन्छ त्यहीँ स्वीकार गर्ने सहमति थियो । प्रदेश सरकारले एक वर्षपछि बेतेनी मात्र तोकेर संघ सरकारलाई पठाएछ । त्यसको बोदार्थ हामीले पायौँ । त्यो थाहा पाएका स्थानीयले मंगलबार ताला लगाइदिए,’ अध्यक्ष गुरुङले भने । 

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत वर्ष पुस अन्तिममा मतदानमार्फत नै टुंगो लगाउने गरी बोलाइएको गाउँसभा पनि केन्द्रबारे विवाद समाधान गर्न असफल भएको थियो । हालको प्रशासनिक केन्द्र रहेको वडा नम्बर ३ याङ्जाकोटनजिकैको देउराली र वडा नम्बर ४ को बेतेनी साझामध्ये एक ठाउँमा केन्द्र तोक्ने भनिएको थियो । तर, बेतेनी साझा केन्द्र सार्न लागिएको भन्दै स्थानीयले भेला भएर विरोध गरेका थिए ।

मादीको कार्यपालिका बैठक चारवटा प्राथमिकतामध्ये बेतेनीलाई पहिलो नम्बरमा राखेर पठाएकाले त्यसैलाई केन्द्र तोक्न सिफारिस गर्दै अन्य तीन स्थानको पनि नाम पठाइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । यही ५ माघमा बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बेतेनीलाई केन्द्र तोक्ने निर्णय गरेर संघ सरकारलाई सिफारिस गरेको हो ।

गाउँपालिका अध्यक्ष गुरुङले पालिकाले पहिलो नम्बरमा साझा बेतेनी, दोस्रोमा देउराली, तेस्रो नम्बरमा तारकाङ र चौथो नम्बरमा अहिले भइरहेको याङ्जाकोटमध्ये केन्द्र तोक्न प्रदेशमा सिफारिस गरिएको जानकारी दिए । ‘गएको गाउँसभाले नै केन्द्र विवाद टुंगो लगाउने भनेका थियौँ । तर, मतदानमार्फत टुंगो लगाउन सम्भव नभएपछि चारवटै नाम प्रदेशमा पठाउने र संघीय सरकार हुँदै जे निर्णय आउँछ, त्यसैलाई मान्ने सर्वदलीय सहमति भएको थियो,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘प्रदेश मन्त्रिपरिषद्ले पहिलो प्राथमिकता बेतेनी साझालाई राखेर सिफारिस गरेको बोधार्थ पालिकालाई प्राप्त भएको छ ।’

गाउँपालिकाको केन्द्र सार्ने विषयमा सुरुदेखि नै विवाद भइरहेको छ । गत वर्ष नै गाउँपालिकाको केन्द्र तोक्न उपाध्यक्ष कृष्णकुमारी पौडेलको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा गाउँसभामा अध्यक्ष वेदबहादुर गुरुङले केन्द्रबारे प्रस्ताव राखेका थिए ।

बेतेनी साझामा केन्द्र तोक्दा अधिकांश मादीवासीका निम्ति सहज हुने विषयमा धेरैजसो गाउँसभा सदस्य सहमत थिए । गाउँसभाको दुईतिहाइ बहुमतले गाउँपालिका केन्द्र सार्ने निर्णय हुन सक्ने सुइँको पाएका स्थानीयले केन्द्र नसार्न दबाब दिँदै विरोध जनाएका थिए ।

ad
ad