मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १९ सोमबार १९:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चित्रबहादुर केसीको दाबी– चुनाव गराउन प्रतिनिधिसभा विघटन भएको होइन, ०१७ साल ल्याउने खतरा छ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १९ सोमबार १९:३१:००

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनका निम्ति नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको प्रतिनिधिसभा विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा केसीले मध्यावधि चुनाव गराउनका निम्ति संसद् विघटन नगरिएको जिकिर गरेका हुन् । 

चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर ०१७ साल ल्याउने खतरा रहेको दाबी गरे । नेपालमा स्थिर सरकार र पार्टीहरू नैतिकवान भए भने विदेशी शक्तिकेन्द्रहरूले हस्तक्षेप गर्न नसक्ने उनको भनाइ छ । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको बताए । आफूहरूले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भए पनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ । यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धि पनि गुम्ने भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ । 

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए । 

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टीसँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए । 

पूर्वसभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधिसभा विघटनभन्दा अर्को नभएको जिकिर गरे । 

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत–अल्पमतको कुनै अर्थ नरहेको बताए । 

कार्यक्रममा वक्ताहरूले प्रतिनिधिसभा विघटनको कदमप्रति विरोध जनाउँदै पुनर्स्थापनामा जोड दिएका थिए ।