नेकपाको चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र हुँदै छ, होसियार बन्न आवश्यक छ : माधव नेपाल

सोमबार, १९ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भएको बताएका छन् । सोमबार आयोजित आफूपक्षीय केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भइरहेको बताएका हुन् । 

निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभूति भएको उनको भनाइ छ । केन्द्रीय कमिटीमा एकचौथाइ सदस्यसमेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने जिकिर गर्दै नेपालले आफूहरू नै आधिकारिक भएको दाबी गरे । उनले भने, ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरू उठाउन खोजेको देखिन्छ । प्रस्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ केपी ओली जोसँग एकचौथाइ केन्द्रीय सदस्य पनि छैनन् त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ ? दाबा गर्न मिल्छ ? त्यसो हुनाले सबै सवालबारे हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ । हरेक षड्यन्त्र भइरहेका छन् कि पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, निर्वाचन चिह्न कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षड्यन्त्रहरू भइरहेको छ ।’

विगतमा पनि यस्ता षड्यन्त्रहरू भएको, तर निर्वाचन आयोगले कानुन र यथार्थको आधारमा निर्णय गरेको नजिर रहेकोले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने विश्वास उनको छ । उनले भने, ‘हामी सम्झनुपर्छ विगतमा पनि अनेक षड्यन्त्रहरू भएका थिए, तर तत्कालीन समयमा निर्वाचन आयोगका पदाधिकारीहरूले कुनै दबाबको सामु झुकेनन्, उनीहरूले कानुन हेरे, यथार्थलाई हेरे, कानुन र यथार्थको आधारमा निर्णय गरेका छन् । ती निर्णयहरू नजिरको रूपमा रहेका छन् । ती नजिरहरूलाई बेवास्ता गरीकन अनेक ढंगले चल्ने किसिमका प्रयत्न हुन सक्दछन्, त्यसो हुनाले हामी होसियार बन्न आवश्यक छ ।’

अध्यक्ष नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिक नेतृत्व आफूहरू नै रहेको दाबीसमेत गरे । दुईतिहाइ केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने उनले बताए ।

सुझावित समाचार