मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
इँट्टा उद्योग बनाउन थुपारिएको बालुवा र नजिकै रहेको गंगा धिमालको घर ।
२०७७ माघ १७ शनिबार १२:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडालाईसमेत जानकारी नदिई इँटा उद्योग खोल्ने तयारी

इँट्टा उद्योगबाट निस्कने प्रदुषणले गाउँ नै छाड्नुपर्छ कि भन्ने चिन्तामा स्थानीय

Read Time : > 1 मिनेट
२०७७ माघ १७ शनिबार १२:१०:००

कमल–१ रतनचौरका गंगा धिमाल दश वर्षअघिसम्म सुकुम्बासी थिए । अर्काको हली बसेर परिवार पाल्दै आएका थिए । यसरी परिवार पाल्ने नसकिने निष्कर्षसहित उनी विदेसिए । दश वर्ष मलेसियामा मजदुरी गरेर १३ कट्ठा जग्गा जोडे । किस्ता–किस्तामा पैसा तिरेर भए पनि जग्गा आफ्नै नाममा ल्याए । दुःख गरेर त्यही जग्गामा एउटा सानो घर पनि बनाए । तर, त्यही घर छाडेर हिँड्नुपर्ने हो कि भन्ने चिन्ताले अहिले गंगालाई सताएको छ । 

इँटा उद्योग व्यवसायी संघ झापाका अध्यक्ष गुणराज थापाले उनकै घरसँग जोडिएको १६ विघा जग्गामा इँटा उद्योग खोल्ने तरखर गरेका छन् । स्थानीयले अवरोध गर्दा पनि उनले उद्योग खोल्न बालुवा, सिमेन्ट र रड ल्याइसकेका छन् । इँटा उद्योगबाट निस्कने प्रदूषणले गाउँ नै छाड्नुपर्छ कि भन्ने चिन्ता छ, गंगालाई । ‘घरै अगाडि इँटाभट्टा खोल्न लागिएको छ । यो इँटाभट्टा खोलेपछि त म फेरि सुकुम्बासी नै हुन्छु,’ उनी भन्छन्, ‘यहाँबाट कसैले खेदाउनुपर्दैन । इँटाभट्टाको धुलोले न घरमा बस्न सकिन्छ न त खेती गर्न सकिन्छ । आफैँ वास उठेर हिँड्नुपर्छ ।’

राष्ट्रिय युवा संघका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट राजकुमार थापाका दाजु गुणराजले स्थानीयलाई धम्की दिएर जबर्जस्ती इँटाभट्टा खोल्न खोजेको स्थानीयको आरोप छ । ‘जसरी पनि खोल्छु । तपाईंहरू हेरिराख्नुस् भनेका छन् । उनले सधैँ धम्की दिन्छन्,’ स्थानीय गोमा विष्ट भन्छिन्, ‘एक किलोमिटरको फरकमा तीनवटा इँटाभट्टा छन् । यहीकारण खेतीको उब्जनी घटेको छ । सुकाएका लुगामा धुलैधुलो हुन्छ । अब घरछेउमै इँटाभट्टा खोल्दा के होला ?’ 

इँटा उद्योख खोल्न लागेपछि विरोधमा उत्रिएका स्थानीय ।

थापाले चार वर्षदेखि इँटाभट्टा खोल्ने तयारी गरिरहेका छन् । तर, स्थानीयको अवरोधका कारण खाल्न सकेका थिएनन् । यसपटक भने कुनै पनि हालतमा खोल्ने भन्दै स्थानीयलाई अवरोध नगर्न भन्दै आएका छन् । इँटा उद्योग खोल्न नदिनका लागि स्थानीयले  आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । ‘हामीलाई उठीवास लगाउन इँटाभट्टा खोल्न लागिएको हो । हामी कुनै हालतमा खोल्न दिँदैनौँ,’ स्थानीय भीमकुमारी राईले भनिन्, ‘यसका लागि हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौँ ।’

थापाले स्थानीयलाई उद्योग खोल्न रोकेर देखाउन चेतावनी दिएको रतनचौर टोल विकास संस्थाका अध्यक्ष सन्तोष कटुवालले बताए । ‘उनले त हामीलाई बारम्बार धम्की दिँदै आएका छन् । उनी जसरी पनि खोल्ने रे ! रोकेर दोखाऊ भनेका छन्,’ उनी भन्छन्, ‘यहाँ इँटा उद्योगबाहेक अरू जेसुकै खोले पनि हामी साथ दिन्छौँ । तर, गाउँलेलाई उठीवास लगाउने गरी इँटा उद्योग खोल्न दिँदैनौँ ।’

कमल–१ वडाध्यक्ष केदार कटुवालले इँटाभट्टा खोल्न बालुवा, सिमेन्ट तथा रड ल्याएको भए पनि वडालाई जानकारी नदिएको बताए । उद्योग खोल्न वडाको सिफारिस चाहिने भए पनि अहिलेसम्म सिफारिसका लागि कोही नआएको उनको भनाइ छ । ‘जस्तोसुकै प्रविधिको इँटा उद्योग खोले पनि जनताको सहमति अनिवार्य चाहिन्छ । जनताको भावनाविपरीत वडाले केही पनि काम गर्दैन,’ उनले भने ।

इँटा उद्योग खोल्न लागेका थापाले भने आफूले खोल्न लागेको उद्योग अत्याधुनिक प्रविधिको रहेको दाबी गरे । ‘गाउँलेले नबुझेको मात्र हो । यो ९९ प्रतिशतसम्म प्रदूषण हुँदैन,’ उनले भने, ‘प्रदूषणको जिम्मेवारी म लिन्छु ।’ अहिले पुरानो शैलीको इँटा उद्योग दर्तामा घरेलु तथा साना उद्योग कार्यालयले रोक लगाएको छ । प्रदूषणरहित अत्याधुनिक प्रविधिसहितको भए पनि स्थानीयको सहमति अनिवार्य छ । थापाले घरेलु तथा साना उद्योग कार्यालयमा इँटाभट्टा सञ्चालनका लागि दर्ता गरेका छैनन् । यद्यपि, उनले संरचना निर्माणको थालनी गरिसकेका छन् ।