मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १४ बुधबार १२:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १४ बुधबार १२:५४:००

प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् ।  बुधबार कोभिड– १९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका हुन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन सुरु गरिएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीलगायतलाई लगाउन सुरु गरिएको हो । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले कोभिड– १९ विरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्नु नहुने पनि बताए । उनले कुनै पनि गरिब देश अथवा गरिब मानिस खोपबाट वञ्चित हुनु नहुने र सबैको पहुँचमा हुनुपर्ने बताए ।  सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निःशुल्क रूपमा पाउने उनको भनाइ छ । प्राथमिकताको आधारमा क्रमशः आमनागरिकलाई खोप उपलब्ध गराउने उनले बताए ।

प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको खोपको निम्ति अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिए ।  भारत सरकारसँग थप खोप उचित मूल्यमा किन्ने कुरा पनि भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप प्रारम्भ भएपनि कोभिड– १९ सम्पूर्ण रूपमा नियन्त्रण नभएसम्म मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाइ र खानपानमा ध्यान दिन आग्रह गरे ।