Skip This
ad
सय दिनमा १० करोड खोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
थोमस बोलिकी/जेनिफर नुजो/प्रसिथ बक्कम
२o८१ बैशाख २६ बुधबार o९:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सय दिनमा १० करोड खोप

Read Time : > 2 मिनेट
थोमस बोलिकी/जेनिफर नुजो/प्रसिथ बक्कम
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:५६:oo

बाइडेनले अहिलेको संकटलाई सिजनल फ्लुभन्दा पनि जैविक आतंकवादको रूपमा लिन सुरु गरे भने सय दिनमा १० करोड खोप वितरण गर्ने लक्ष्य पूरा गर्न गाह्रो छैन 

एकातर्फ सुस्त र अव्यवस्थित खोप अभियान र अर्कोतर्फ कोभिड–१९ बिरामीको बढ्दो संख्या । यी दुवै समस्यासँग लड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको पहिलो सय दिनमा सय मिलियन (१० करोड) डोज लगाउने महत्वाकांक्षी योजना अघि सारेका छन् । अमेरिकामा डिसेम्बरको बीचदेखि खोप उपलब्ध हुन थालेको थियो । खोप अभियान सुरु हुन थालेपछि १.२३ करोड डोज खोप अमेरिकीहरूको पाखुरामा लागिसकेको छ । अर्थात्, दैनिक औसत तीन लाख ८४ हजार डोज लगाइएको छ । यो दरलाई तेब्बर बनाउने बाइडेनको लक्ष्य हो । यो लक्ष्य भेट्न असम्भव छैन, तर त्यसका लागि बाइडेनले कोभिड–१९ संकटलाई सिजनल फ्लुभन्दा पनि जैविक आतंकवादको रूपमा लिनुपर्छ । 

पहिलो त अमेरिकासँग देशका सबै ३३.१ करोड जनसंख्यालाई पुर्‍याउन सक्ने खोप उपलब्ध छैन । समस्या खोपको कमीको मात्र होइन । वितरण भइसकेकामध्ये पनि ३९ प्रतिशत खोप मात्र उपयोग हुन सकेको छ । आमजनसंख्यामा खोप पुर्‍याउन आवश्यक जटिल लजिस्टिकको व्यवस्थापन गर्नु सबैभन्दा ठूलो चुनौती हो । खोपलाई आशंकाको नजरले हेर्ने पनि थुप्रै छन् । उनीहरूको चिन्ता निराकरण गर्नु अर्को चुनौती हुनेछ । सौभाग्यवश ! शून्यबाट काम सुरु गर्नुपर्ने स्थिति छैन । सेप्टेम्बर ११ को आक्रमणपछिका केही महिनाभित्र अमेरिकाको संघीय सरकारले एन्थ्राक्सलगायतबाट हुन सक्ने जैविक आक्रमणसँग जुध्न औषधि र खोपको ठूलो भण्डारण नै तयार गरेको थियो ।

बाइडेन सरकारले कोभिड–१९ विरुद्ध यस प्रयासबाट सिक्न सक्छ । विगतको प्रक्षेपणका आधारमा सय दिनसम्म प्रतिदिन १० लाख मानिसलाई खोप लगाउने हो भने अमेरिकाभर चार सय खोप केन्द्रको आवश्यकता पर्छ । तिनमा एक लाखदेखि एक लाख ८४ हजारबीच कर्मचारीको आवश्यकता पर्छ । यीमध्ये १७ हजार स्वास्थ्यकर्मी खोप लगाउन दक्ष हुनुपर्छ । हाम्रो गणना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको निर्देशिका तथा सान फ्रान्सिस्को र न्युजर्सीमा एक दशकअघि सञ्चालन भएको खोप पूर्वअभ्यासमा आधारित छ । हाम्रो अनुमान सबै अमेरिकी राज्यमा उपयुक्त नहुन सक्छ । विशेषतः पूर्वाधार र तालिमप्राप्त श्रमिकको अभाव भएको ग्रामीण क्षेत्रमा समस्या पर्न सक्छ । तर, यो अनुमानले गर्नुपर्ने कामको रूपरेखा प्रदान गर्छ । 

सय दिनसम्म प्रतिदिन १० लाख खोप वितरण गर्नका लागि ठूलो परिमाणमा संघीय लगानी आवश्यक हुन्छ । तर, अमेरिकाका राज्य तथा स्थानीय तहका सार्वजनिक स्वास्थ्य विभागहरूसँग यो स्तरमा खोप लगाउनका लागि पुग्ने गरी योग्य मानिस छैनन् । धेरै राज्यमा डाक्टर तथा नर्सले खोप लगाउँछन्, जब कि केहीमा तालिमप्राप्त फार्मेसिस्ट, चिकित्सक तथा फिजिसियन सहयोगीलाई पनि खोप लगाउन दिइन्छ । खोप लगाउने मानिस पुर्‍याउने हो भने अन्य स्वास्थ्यकर्मी, डेन्टिस्ट, इमर्जेन्सी स्वास्थ्य चिकित्सक तथा पारामेडिकहरूलाई पनि खोप दिन प्रयोग गर्न सकिन्छ । मागसम्म पनि समस्या छ । जैविक आतंकवादविरुद्ध आमजनसंख्यालाई खोप दिने योजना बनाउँदा सबै खोप लगाउन तयार रहेको मानिन्छ । तर, कोरोना भाइरसको खोपहरू चिकित्सा क्षेत्रका केही मानिसले समेत अस्वीकार गरेका समाचार आइरहेका छन् । खोप सम्बन्धमा रहेका आशंका निवारण गर्न राज्य तथा स्थानीय सरकारले सामुदायिक समूहसँग सहकार्य बढाउनुपर्छ । 

खोपको परिमाण वृृद्धि गर्दा कोभिड–१९ को सबैभन्दा बढी जोखिममा रहेका समूहलाई बेवास्ता गरेर खोप वितरण गरिनुहुँदैन । खोप दिँदा हाल स्वीकार गरिएको ६५ वर्षमाथिका प्राथमिकता समूहका मानिसमा ध्यान केन्द्रित गर्न छाड्न हुन्न । यो उमेरसमूहका मानिस चिन्न सजिलो पनि छ । घुम्ती क्लिनिकले अत्यावश्यक क्षेत्रमा काम गर्ने श्रमिकलाई खोप लगाउन सक्छ । यो जनसंख्यामा धेरै न्यून आय भएका र अल्पसंख्यक समूहका सदस्य रहेका छन् ।

स्वास्थ्य विभागहरूले खोप लगाउन चाहने प्रत्येक अमेरिकीलाई खोप प्रदान गर्नका लागि थप स्रोत निकासा गर्नुपर्छ । बाइडेनको १.९ ट्रिलियन डलरको कोरोना प्याकेजमा सामुदायिक खोप कार्यक्रमका लागि २० अर्ब डलर छुट्याइएको छ । यसमा खर्च हुने रकमले महामारीलाई नियन्त्रणमा राख्न सघाउने भएकाले कंग्रेसले यसलाई स्वीकृति दिनुपर्छ । सय दिनमा १० करोड डोज खोप वितरण अमेरिकी इतिहासमै सबैभन्दा महत्वाकांक्षी खोप अभियान हुनेछ । यसका लागि सबैको साथ र समर्थनको पनि आवश्यकता पर्नेछ । 

बोलिकी काउन्सिल अन फरेन रिलेसन्सको विश्व स्वास्थ्य कार्यक्रमका निर्देशक हुन्, नुजो जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका सह–प्राध्यापक हुन् र बक्कम महामारीविद् हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

ad
ad