१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ माघ १० शनिबार ०६:०२:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद् पुनर्स्थापनाको पक्षमा राजधानीमा प्रदर्शन

Read Time : > 5 मिनेट
२०७७ माघ १० शनिबार ०६:०२:००

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध शुक्रबार शक्ति प्रदर्शन गरेको नेकपाकोे प्रचण्ड–नेपाल समूहले ‘न्यायालयले नसच्चाए’ थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । राजधानीमा भएको विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई सही ठहर्‍याए लाखौँ जनता सडकमा उतारेर गल्ती सच्चाउनेतिर लाग्ने स्पष्ट पारे । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा छ । 

विरोध सभामा अध्यक्ष प्रचण्डले अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सही ठहर्‍याए लाखौँ जनता निरन्तर शान्तिपूर्ण सडक प्रदर्शनमा उतार्नुपर्ने बाध्यता हुने बताए । यद्यपि, सर्वोच्च अदालत र न्यायाधीशहरूले पनि देशमा द्वन्द्व र हिंसा नचाहने उनले विश्वास व्यक्त गरे । ‘शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धाको प्रतिबद्धतासहित तीन–तीनवटा चुनाव लडिसक्यौँ । तर, जननिर्वाचित प्रतिनिधिसभा विघटनलाई सही ठह¥याउने काम भयो भने लाखौँ लाख जनता सडकमा शान्तिपूर्ण रूपमा उतारेर गल्ती सच्याउने मेरो प्रयास निरन्तर भइनै राख्छ,’ उनले भने ।

प्रचण्डले अदालतले ओलीको कदमलाई सही ठह¥याए शान्तिप्रक्रिया नै बिथोलिने हो कि भन्ने आफूलाई गम्भीर चिन्ता रहेको बताए । ‘केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने नेपालको शान्तिप्रक्रिया कतै भंग हुन्छ भन्ने मलाई ठूलो चिन्ता छ,’ शान्तिप्रक्रिया बिथोलिएर देश अराजकता र बर्बादीको दिशातर्फ लैजाने भूमिका नखेल्न अपिल गर्दै प्रचण्डले भने, ‘म गम्भीर शब्दमा सबैलाई अपिल गर्न चाहन्छु, यो देशलाई बर्बाद हुने बाटोमा लैजान कुनै कारणले पनि कसैले भूमिका नखेलौँ । धेरै ठूलो मूल्य चुकाएर शान्ति र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो ।’ ओलीले संसद् विघटन गरेर शान्तिप्रक्रियासमेत विघटन गर्न खोजेको भन्दै सबैखाले सेटिङलाई भत्काएर जनताले नयाँ सेटिङ खडा गर्ने प्रचण्डले दाबी गरे ।

सम्बोधनमा प्रचण्डले संविधानलाई क्षतविक्षत बनाएर अहिले प्रधानमन्त्री ओली कार्यक्रममा ‘कमेडियन’को भूमिकामा प्रस्तुत भएको आरोप लगाए । ‘आन्दोलन भएपछि केपीजी रुन थाल्नुुहुन्छ । अहिले संविधान मर्ने हो कि बाँच्ने हो आइसियूमा छ, उहाँचाहिँ सबैलाई हसाउँदै हिँड्नुभएको छ । हामी स्तब्ध छौँ । संघीय गणतन्त्र, देश र जनताको भविष्य के हुने हो भनेर चिन्तामा छौँ, उहाँचाहिँ कमेडी प्रदर्शन गरिरहनुभएको छ । यस्तो उल्टो खोपडी भएको मान्छे नेपालमा हुनुहुन्छ,’ प्रचण्डले भने । 

प्रचण्डले प्रधानमन्त्री ओली अहिले राजावादी र अरू शक्तिसँग मिलेर आफूलाई एक नम्बरको अपराधी करार गर्दै सिध्याउने तथा अर्का अध्यक्ष माधव नेपालसँग पनि फाटो उत्पन्न गराउने गम्भीर षड्यन्त्रमा लागेको आरोप पनि लगाए । ‘लड्दै जाँदा धेरै क्षति भयो, धेरै सहिद भए, धेरै बेपत्ता भए, धेरै घाइते, अपांग भए । गर्दैगर्दै जाँदा आफ्नै घरभित्र पनि छोरा मरे, छोरी मरे । मेरा लागि जीवनको सपनाभन्दा अब नेपाल र नेपाली जनतालाई सामाजिक न्याय, समृद्धि दिने, समाजवादको नयाँ मोडल दिनेतिर समर्पित छ भनेको थिएँ,’ प्रचण्डले भने, ‘तर, केपी ओली भन्ने कस्तो जातका मान्छे फेला परे भने उनलाई अहिले एक नम्बरको अपराधी प्रचण्डै हो भन्ने लागेको छ र उनको मिसन राजावादीसँग मिलेर होस् या जोसँग मिलेर होस्, प्रचण्ड सिध्याउने अनि माधवजी र मेरोबीचमा फाटो पार्ने, अनेक षड्यन्त्र भइरहेका छन्, मैले त्यो कुरा नजिकबाट हेरेको छु ।’

जनयुद्धका घाइते र अपांगता भएकाहरूको खाइपाई आएको सुविधा कटौती गर्ने सरकारले पार्टी फुटाएपछि भने ओलीले उनीहरूलाई उपयोग गर्ने नीति लिएकोमा आपत्ति जनाए । ‘जनयुद्ध शब्द सुन्नै नचाहने मान्छे पार्टी एकतापछि मान्नुहोला कि भनेको जनयुद्ध दिवसमा सहिदलाई माल्र्यापण गर्न एकचोटि जानुभएन । घाइते–अपांगहरू माइतीघर मण्डलामा अनशन बस्दा मैले ऋण गरेर, सापट गरेर दिएँ, तर यो सरकारले त पहिले खाइपाई आएको मासिक भत्ता पनि खोसिदियो । मैले धेरैपटक भन्दा टेरपुच्छर लाइएन । अहिले पार्टी विभाजनबाट अल्पमतमा परेपछि घाइते, अपांगलाई हेर्नुपर्दैन भन्दै छन् त्यही केपी ? फट्याइँ गर्न कति सकेको ? जालझेल गर्ने कस्तो दिमाग हो ?’ प्रचण्डले प्रश्न गरे । उनले आफैँले स्कुलिङ गरेर हुर्काएको कालीबहादुर खामलाई पनि आफूविरुद्ध ओलीले प्रयोग गर्न खोजेको बताए । ‘जसलाई मैले १० वर्ष स्कुलिङ गरेर हुर्काएको ती मान्छेलाई केपीले संरक्षण गरेको रे । आमाको दूध चुसेर भएन, बाबुको घुँडो, योभन्दा लाजमर्दो अरू केही हुन्छ ? प्रचण्डले नहेर्ने, केपीले हेर्ने ?’ 

प्रचण्डले ओली समूहमा लागेका पूर्वमाओवादी समूहका नेताहरूप्रति व्यंग्य गरे । ‘हिजो पूर्वमाओवादी भनेका फुट्दै आउँदै–जाने गर्ने केही–केही अहिले खरानी धसेर चिन्नै नसक्ने भएका छन् । केपीका साइबार स्यालले भन्दा त्यति धेरै खरानी धसेको देख्दा मलाई लाज लागेर आउँछ, यो चल्नेवाला छैन,’ उनले भने ।

आन्दोलनमा सहभागी भएका कर्मचारीमाथि सरकारले धम्की दिन थालेकोमा आपत्ति जनाउँदै प्रचण्डले निर्धक्कका साथ सहभागी बन्न ढाडस पनि दिए । ‘साइबर स्यालले आन्दोलनमा आउने कर्मचारीको रेकर्ड राख्ने रे ! मञ्चबाट चुनौती दिन्छु, गरेर देखाऊ, एउटालाई छोएर देखाऊ, हिजो जसरी नडराउनुस्, तपाईंको छिसिक्क रौँ हल्लियो भने संरक्षण गर्छौँ । छिट्टै जनताको सरकार आउँदै छ, कारबाही केपी ओलीलाई हुन्छ, वीरहरूलाई होइन,’ प्रचण्डले भने । 

ओलीलाई मात्र गाली गर्नेभन्दा आफ्ना कमी–कमजोरी सच्याउने र दोहोरिन नदिने जनतासामु माफी मागेर प्रतिबद्धता जनाउनुपर्ने नागरिक समाज, प्रेससहित अगुवाहरूले दिएको सुझाबलाई आफू र अर्का अध्यक्ष माधवकुमार नेपालले निकै गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो । ‘केपी ओलीलाई मात्र गाली गरेर हुँदैन भन्ने कुरालाई हामीले राम्रोसँग सुनेका छौँ, हामीले हाम्रै कमजोरीको पनि समीक्षा गर्नुपर्छ । हामीले सच्याउने कुरालाई महत्वका साथ लिनुपर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने ।

संविधान सिध्याउने केपी ओली नरसंहारकारी : नेपाल 

अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा हिटलरमा जस्तै नरसंहारकारी प्रवृत्ति देखिएको आरोप लगाए । ओली हिटलरको नाजीवादी नेपाली संस्करणका रूपमा देखापरेको भन्दै नेपालले आजको युगमा कसैले पनि त्यस्तो प्रवृत्तिसामु डराएर आत्मसमर्पण नगर्ने बताए । ‘केपी ओली हिटलरको बाटोमा हिँड्ने हिटलरी नाजीवादको नेपाली संस्करण हुन्, नेपाली जनता त्यस्तो प्रवृत्तिसामु थरथर कामेर दास बन्दैनन्,’ नेपालले भने, ‘घर झगडा हुँदा घरकै मान्छे सिध्याउने, घर आगो लगाउनेजस्तै पार्टी, संसद्, संविधान सिध्याउने केपी ओली नरसंहारकारी हुन् ।’

नेता नेपालले तत्कालीन एमालेको नवौँ महाधिवेशनमै जालझेल र तिकडम गरेर ओलीले जित हासिल गरेको, तर समयमै ठीक ठाउँमा ल्याउन नसकेकोमा आत्मसमीक्षासहित अघि बढ्नुपर्ने बताए । पार्टी एकतापछि नयाँ तरिकाले अगाडि बढ्ने अपेक्षा गरे पनि पार्टी र सरकार सञ्चालनमा ओलीको निरंकुश शैलीलाई समयमै सच्याउन नसक्नु गम्भीर कमजोरी भएको नेपालको भनाइ थियो । यद्यपि, अब भने ओलीको भष्मासुर प्रवृत्तिलाई समाप्त पारेरै छाड्ने नेपालले अठोट व्यक्त गरे । ‘शिवजीले वरदान दिएर भष्मासुर बनाए, तर उसले त शिवलाई नै समाप्त पार्न खोजेपछि शिवजीले भष्मासुरलाई समाप्त पार्नुपर्‍यो,’ नेपालले भने, ‘पार्टीले पनि केपी ओलीलाई अध्यक्ष बनायो, प्रधानमन्त्री बनायो, तर उनी भष्मासुर बने, त्यसैले अब पार्टीले ओलीको भष्मासुर प्रवृत्तिलाई समाप्त पार्नेछ ।’

ओली कम्युनिस्ट पार्टीको सदस्यसमेत हुनलायक नरहेकाले कारबाही गरिएको बताउँदै नेपालले अपराधकर्म स्वीकार गरेर संसद् पुनस्र्थापना स्वीकार नगरेसम्म ओलीसँग पार्टीले कुनै सम्झौता नगर्ने बताए । ‘संसद् विघटन गलत हो, पुनस्र्थापनाका लागि म पनि जुलुसमा सामेल हुन्छु भनेर भनिहाल्ने हो कि ! मान्छेले गल्ती गर्छ, अपराध गर्छ, समयमै सच्चिन्छु भन्छ भने केही समय जेलमा राखेर फेरि निकालौँला । केही फरक पर्दैन, होइन भने सीधै माफी दिउँला, केही फरक पर्दैन । तर, केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्नेछैन, कसैले पनि सँगसँगै जान्छ भन्ने भ्रम नपाले हुन्छ,’ उनले भने ।

नेपालले कांग्रेसलाई लक्षित गर्दै संयुक्त आन्दोलन सुरु गर्दा कतै धोका पो पाइन्छ कि भन्ने आशंका नपाल्न आग्रह गर्दै आफ्नो पार्टी विचार र मूल्यको राजनीति गर्ने भन्दै आशंका नगर्न ध्यानाकर्षण गरे । ‘अहिले कतिपय राजनीतिक पार्टीलाई शंका लागेको छ, कतै नाटक त गरिरहेका छैनन्, कम्युनिस्ट मिलेर कतै धोका त दिने होइनन्, हामी मूल्य, विचारको राजनीति गर्छौँ,’ उनले भने ।

प्रदर्शनमा बृहत् सहभागी देखेर उत्साही बनेका नेपालले आन्दोलनको उपस्थितिले पछिल्लो जनआन्दोलनको झल्को दिएको बताउँदै ठुल्ठूला जनप्रदर्शनलाई जारी राख्ने प्रस्ट्याए । ‘आजको उपस्थितिले मलाई जनआन्दोलनको झल्को दिएको छ । ०६२/६३ को जनआन्दोलनमा पनि यसैगरी जनता देशैभर जागेका थिए, सिंगै काठमाडौंलाई आन्दोलित बनाएका थिए,’ नेपालले भने, ‘यो त कास्टिङ मात्रै हो, फिल्म त सुरु हुन बाँकी नै छ, दायाँतिर, बायाँतिर सिंगै टुँडिखेलवरिपरि भरिएको छ, यसबाट जनता के चाहन्छन् भन्ने प्रस्ट भएको छ ।’

ओली कम्युनिस्ट आन्दोलनको भगौडा : खनाल 

विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले ओली कम्युनिस्ट आन्दोलनको भगौडा भएको बताए । ‘केपी ओली कम्युनिस्ट बन्नलायक रहेनन्, त्यसैले उनलाई हामीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका छौँ,’ खनालले भने, ‘केपी ओली कम्युनिस्ट आन्दोलनको भगौडा हुन्, उनले सानो गुट बनाएर पार्टीलाई चोइट्याएका छन् ।’

ओलीले पार्टीलाई चोइट्याए पनि त्यो रूखले नियमित रूपमा बोक्रा र बाँसले पट्याँस फेरेजस्तै भएको खनालको टिप्पणी थियो । सर्वोच्च अदालत र निर्वाचन आयोग राजा–महाराजाले बनाएकोजस्तो नभएको भन्दै खनालले ०६२/६३ को जनआन्दोलनको जगमा निर्मित संविधानसभाले बनाएको संविधानले बनाएका दुवै संवैधानिक अंगले संविधानबाहिर निर्णय नगर्ने विश्वास व्यक्त गरे ।

स्थायी समिति सदस्य घनश्याम भुसालले ओलीले जनताको साथ गुमाइसकेकाले उनको साथमा अहिले साइबर स्याल र सेटिङ मात्र रहेको बताए । ‘तपाईंको सेटिङका कारणले अदालतले तपाईंसँग डराएर तपाईंको पक्षमा निर्णय गर्छ भन्ने सोच्नुभएको छ भने तपाईं हार्नुहुन्छ । सेटिङले काम जासुसी उपन्यासमा मात्रै गर्छ,’ भुसालले भने, ‘कमरेड प्रधानमन्त्री, कमरेड ओली गलत हुनुहुन्थ्यो, गलत हुनुहुन्छ । समय छँदै फर्किनुस् । नत्र इतिहासको कठघरामा उभिनुपर्छ । कमरेड ओली ब्युँझनुस् र फिर्ता हुनुस् ।’ केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले गरेकी थिइन् ।