१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार २०:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरियामा माइनस २० डिग्री चिसो हिउँमाथि नेपाली सेनाको गस्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार २०:४५:००

संयुक्त राष्ट्र संघअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिक मध्यपूर्वी सिरियाको अति संवेदनशील माउन्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो ठाउँमा नियमित गस्ती गरिरहेका छन् । 

उक्त क्षेत्रको स्वामित्वको विषयलाई लिएर ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम छ । विवादले द्वन्द्वको रूप लिने गरेका कारण शान्ति सैनिक तैनाथ छन् । 

नेपाली सेनाका अनुसार यो क्षेत्र विश्वको सबैभन्दा अग्लो स्थान हो जहाँ शान्ति सैनिक तैनाथ छ । सो क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहहरूको चलखेल पनि त्यहाँ बढी नै हुने गरेको छ । 

गोलान हाइट पनि भनिने त्यहाँ करिब ६ महिना हिमपात हुने गरेको छ । ‘त्यहाँ खटिने अधिकांश फौज मुस्ताङ जिल्लाको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकलासम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका छन्,’ सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यहाँ सन् २०१३ देखि नेपाली शान्ति सैनिक तैनाथ छन् । ‘त्यस क्षेत्रमा हिउँमा प्रयोग गरिने विशेष किसिमका सवारीसाधन पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरू सञ्चालन गरिन्छ,’ निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । 

सिरियास्थित मिसनको फोर्स कमान्डर हाल नेपाली सेनाका रथी ईश्वर हमाल छन् । त्यहाँ यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापा, अवकाशप्राप्त रथी बालानन्द शर्मा र अवकाशप्राप्त उपरथी शिवराम खरेल पनि कार्यरत थिए । सिरियाको मिसनमा नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति छ ।

मिसनमा नेपाली सेनाको डाक्टर अधिकृतसहितको मेडिकल टिम कार्यरत छ । आन्तरिक द्वन्द्वको कारण विद्रोहीहरूबाट क्षति पु¥याइएका शान्ति सैनिकहरूको ब्यारेक संरचनाहरू पुनर्निर्माण र ब्यारेक स्थानहरूको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इन्जिनियर टिम पनि त्यहाँ कार्यरत छ ।