१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १ बिहीबार
  • Tuesday, 01 July, 2025
झारफुकका नाममा फलाम तताएर डामेपछि घाइते टोपला दमाई ।
२o७७ माघ १ बिहीबार o६:o४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

झारफुकको नाममा क्रूर यातना : रड, पाइप र झाँझर तताएर डाम्दा एकको मृत्यु, दुई गम्भीर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १ बिहीबार o६:o४:oo

रोग निको पार्ने भन्दै झारफुकको नाममा क्रूर यातना दिँदा गुल्मीमा बुधबार एकजनाको मृत्यु भएको छ । रड, पाइप र झाँझर तताएर डाम्दा दुईजना गम्भीर घाइते भएका छन् ।  गुल्मीको इस्मा गाउँपालिका–३ का ६४ वर्षीय रामबहादुर मुखियाको ज्यान गएको छ । उनका छोरा ३४ वर्षीय हुमबहादुर मुखिया र रेसुंगा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई गम्भीर घाइते भएकी छिन् । उनीहरूको गुल्मी अस्पतालमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पच्याले बताए । फलाम तताएर डामेकाले शरीरमा घाउ नै घाउ रहेको डा. पच्याले बताए । 

पीडित परिवारजनका अनुसार रामबहादुर ढाड दुख्ने समस्याले पीडित थिए । उनी धेरैपटक अस्पताल पनि पुगेका थिए, तर निको भएको थिएन । झारफुकबाट निको हुने सुनेका उनका दुई छोराले रामबहादुरलाई २५ पुसमा रेसुंगा नगरपालिका–१ उदिनढुंगा ल्याएका थिए । उदिनढुंगामा मालिका गाउँपालिका–६ अर्जेका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र ३६ वर्षीया शान्तिला श्रेष्ठले झारफुक गर्दै आएका थिए । झारफुकका लागि आएका रामबहादुरलाई श्रेष्ठ दम्पतीले चार दिनदेखि घरमै राखेका थिए । 

रेसुंगा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई पनि शरीर पोल्ने र झमझाउने भएपछि श्रेष्ठ दम्पतीको घरमा पुगेकी थिइन् । उपचारमा आएका उनीहरूलाई घरबार निस्कन दिएको थिएन । 

श्रेष्ठ दम्पतीले सुरुसुरुमा टाउकोमा जल, जौ र तिल छर्केका थिए भने सामान्य कुटपिट गरेको पीडितले बताए । उपचारमा आएकाले सन्चो नै हुने भएपछि कुटपिटलाई सामान्य ठानेको उनीहरू बताउँछन् । 

त्यसपछि टोपलासँग ११ हजार र रामबहादुरको परिवारसँग होम गर्ने सामग्रीका लागि भनेर १५ हजार मागेको रामबहादुरका छोरा कृष्णले बताए । बिरामीका परिवारले पैसा पनि दिए । तर, २८ पुस राति रामबहादुर, टोपला र हुमबहादुरलाई झारफुकको नाममा श्रेष्ठ दम्पतीले रड, पाइप र झाँझर तताएर डामेको कृष्णले बताए । 

उनीहरूमध्ये रामबहादुरको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीमा डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । ‘चार दिनदेखि विभिन्न धातु तताएर डाम्दै आएकाले मृतकको शरीर सबै डढेर नीलो भएको छ,’ डिएसपी पाण्डेयले भने, ‘घाइते दुईजनाको पनि शरीरका विभिन्न भागमा डढेका नीला डाम छन् ।’
घटनामा संलग्न रामप्रसाद र शान्तिलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेयले बताए । 

दुई वर्षअघि पनि यस्तै यातना
रामप्रसाद र शान्तिलाले यसअघि पनि यसैगरी एक महिलालाई यातना दिएका थिए । दुई वर्षअघि मालिका–६ अर्जेकी एक महिला बिरामी भएपछि उनीहरूसँग झारफुक गर्न पुगेकी थिइन् । उनीहरूले घरमै बन्धक बनाएर पीडा दिएका थिए । 

उनीहरूले अरुलाई घरभित्र पस्न दिएका थिएनन् । ‘अँध्यारो कोठामा राख्ने, भित्रै दिसापिसाब गराउने र झारफुकको नाममा यातना दिएपछि घरको ढोका फोडेर उद्धार गरेका थियौँ,’ ती महिलाका छिमेकी ढालबहादुर विष्टले भने । ढोका फोडेर उद्धार नगरेको भए उनको ज्यान जाने ढालबहादुरले बताए । 

डाहा लगाउने भनेर आगोले पोले : टोपला दमाई, पीडित

म जेठदेखि थाइराइडको औषधि पनि खाइरहेकी छु । शरीर पोल्ने र झमझाउने भएपछि निकै पीडा हुन्छ । औषधिले पनि निको नै भएन । निको नभएपछि औषधि खान पनि छाडे ।त्यसपछि झारफुकतिर लागे । गाउँमा पनि कतैकतै धामीलाई देखाए । अन्तिममा अर्जेका एकजनाले तम्घासमा हेरेपछि निको हुन्छ भनेको सुनेपछि आएकी हुँ । पाँच दिनसम्म खान दिएन, ११ हजार रुपैयाँ दिएँ । पहिले कुटेनन्, हिजो डाहा लगाउने भनेर कुटे, पिटे, आगोले पोले । जिउ जलेर बस्न नसक्ने भएको छ । 

बुबाको टाउको चारपटक भुइँमा ठोक्काएपछि ज्यान गयो : हुमबहादुर मुखिया, मृतकका छोरा

बुबाको पहिलेदेखि ढाड, कम्मर दुख्ने समस्या थियो । पहिले पनि अर्जेतिर लगेर सन्चो भएको रहेछ । फेरि समस्या बल्झेपछि भाइ कृष्णले तम्घासमा हेर्छन् भनेर ल्याएछ । म दुई दिनपछि आएँ । मलाई पनि तलाईं पनि कुल छ, पछि जे पनि हुन सक्छ भनेर बाहिर आउन दिएनन् । 

२८ पुस राति होम गरेर घर कुहिरीमण्डल बनाए । मास, चामल छर्कने र रड, पाइप, झाँझर, अगुल्टो सबैले कुट्न थाले । बुबा अचेत भएर लडे । अरू तीन–चारजना पनि कुटाइ खाएर १२ बजेपछि सुत्यौँ । उनीहरूले बिहानै ४ बजे उठेर बुबाको टाउको चारपटक भुइँमा ठोक्काए । बुबाले एय्या पनि भन्न सक्नुभएन, ज्यान गयो ।