१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २९ बुधबार
  • Monday, 07 July, 2025
२o७७ पौष २९ बुधबार o९:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिलोपटक घेर्मुमा गाडी पुग्दा स्थानीय हर्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २९ बुधबार o९:३४:oo

सडक सञ्जालले नजोडिएको लमजुङको मर्स्याङ्दी  गाउँपालिका– ५ घेर्मुमा पहिलोपटक गाडी पुगेको छ । गाउँमा पहिलोपटक गाडी पुग्दा हेर्ने सर्वसाधारणको भिड लागेको थियो । गाउँपालिकाअन्तर्गत  घेर्मु–ताघ्रिङका स्थानीयले मर्स्याङ्दी नदीमा अस्थायी मोटरेबल पुल निर्माण गरेसँगै घेर्मुमा पहिलोपटक सोमबार ग.१ ज ६६६० नम्बर र ग१ज ६७९४ नम्बरको जिप पुगेको हो ।

मर्स्याङ्दी– ४ ताघ्रिङ र ५ घर्मु जोड्ने मर्स्याङ्दी  नदीमा विगतका वर्षदेखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेबल पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीयले अस्थायी मोटर पुल निर्माण गरेका हुन् ।

पुलको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । गाउँमा गाडी पुग्दा निकै खुसी लागेको भन्दै घेर्मुकी काशीमाया घलेले आफ्नो दिन दुःखमा बिते पनि भावी पुस्ताका लागि जीवन सहज हुने बताइन् । 

सोमबार गाउँमा पहिलोपटक जिप पुग्दा स्थानीयले जिपचालकलाई फूलमालाले स्वागत गरेका थिए ।  आपसमा नाचगान गरेर स्थानीयले खुसियाली मनाए । सहरबाट गाउँ र गाउँबाट सहर बजार हिँड्ने वेलामा कठिनाइ भइरहेको अवस्थामा पहिलोपटक गाउँमा नै गाडी पुगेकोमा घेर्मुका बासिन्दा अत्यन्त खुसी भएको स्थानीय बिमला गुरुङले बताइन् ।

उनले भनिन्, ‘पहिले त बेसीसहरबाट ल्याएको सामान पनि स्याँगेबाट बोकेर ल्याउनुपर्थ्याे, अब गाउँमै गाडी आउने भएपछि बोक्न नपर्ने भयो ।’ सडक सञ्जालले नजोडिएको घेर्मुमा अहिलेसम्म सवारीसाधन नपुगेपछि स्थानीयले मर्स्याङ्दी नदीमा काठको अस्थायी मोटरेबल पुल निर्माण गरेको स्थानीय समाजसेवी नरबहादुर गुरुङले बताए । 

दुई लाख ७८ हजार ६ सय १५ रुपैयाँ खर्च गरी पुल निर्माण गरिएको निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले बताए । पुल निमार्णका लागि स्थानीयबाट चन्दा संकलन र देशविदेशमा रहेका व्यक्तिबाट सहयोग गरी कुल चार लाख ६६ हजार १६ रुपैया संकलन भएको सचिव घलेले बताए । 

पुल निर्माण गरी बाँकी रकम पुनः पुलको मर्मत सम्भार तथा अस्थायी पुल भएकाले अर्को वर्ष पुल निमार्णमै खर्च गरीने उपभोक्त समितिले जनाएको छ । हाल निर्माण भएको अस्थायी पुल मर्स्याङ्दी  नदीको बहाव नबढेसम्मका लागि प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ ।

जेठसम्म नदीको बहाव कम हुने भएकोले करिब पाँच महिनाका लागि उक्त अस्थायी पुल प्रयोग गर्न सकिनेछ । हिउँदमा मात्रै भए पनि स्थानीयले यातायात तथा ढुवानी सेवा उपभोग गर्न पाउने भएका छन् । नदीमा स्थायी रूपमा पक्की पुल नबनेसम्म स्थानीयले अस्थायी पुल निमार्णलाई निरन्तरता दिने भएका छन् । अस्थायी पुल निर्माण भएपछि घेर्मुसँगै तल्लो चिप्ला, छिचु, निउरी, सञ्जापु, खानीगाउँका स्थानीयसमेत लाभान्वित हुने भएका छन् ।