मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मेची राजमार्गस्थित इलामको रोङ गाउँपालिका खण्डमा अप्टिकल फाइबर बिच्छ्याउने काम गरिँदै । तस्बिर : नयाँ पत्रिका
२०७७ पौष २४ शुक्रबार ०९:३८:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

अप्टिकल फाइबर बिच्छ्याउँदा लापरबाही : संघर्ष समिति बनाएर स्थानीयले गरे विरोध

Read Time : > 1 मिनेट
२०७७ पौष २४ शुक्रबार ०९:३८:००

मेची राजमार्गमा नेपाल दूरसञ्चार प्राधिकरणको अप्टिकल फाइबर बिच्छ्याउँदा लापरबाही भएको भन्दै स्थानीयले विरोध गरेका छन् । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकाको करिब २० किलोमिटर सडक क्षेत्रमा अप्टिकल फाइबर बिच्छ्याउँदा सामान्य सतर्कतासमेत नअपनाएको भन्दै स्थानीयले विरोध गरेका हुन् । 

मेची राजमार्गमा टेलिकमको फाइबर बिछ्याउने जिम्मा कोरियन कम्पनी एलएस क्याबेल सिस्टम प्रालिले पाएको छ । तर, सामान्य सावधानी पनि नअपनाई मेची राजमार्ग अस्तव्यस्त बनाएर गुणस्तरहीन काम गरेको भन्दै रोङका स्थानीयले संघर्ष समिति बनाएर काम गर्न अवरोध गरेका छन् । कम्पनीले टेलिकमको फाइबर सडकको नाली खोतलेर त्यहीँ बिच्छ्याइरहेको छ । ‘समयमा गुणस्तरीय काम गर्न सक्दैनन् भनेर विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिएको होला । तर, ‘घ’ वर्गको नेपाली व्यवसायीको भन्दा कमजोर व्यवस्थापन छ,’ संघर्ष समिति संयोजक रोङ–३ का कुमार ढुंगेलले भने, ‘प्राधिकरणको प्राविधिक कहिल्यै आउँदैनन् । कोरियन कम्पनीले नाफा खाएर नेपाली व्यवसायीलाई ठेक्काको जिम्मा दिएको छ । योभन्दा कति लापरबाही होस् ।’ 

विदेशी कम्पनीले भाइब्रेट र मिक्स्चरविना ग्यालिनमा पानी बोकेर ल्याएर ढलाई गरेको उनले बताए । पिसिसी पनि हातले लेभल मिलाएको पाइएको उनले बताए । वर्षौँसम्म राजमार्ग अवरोध हुने गरी काममा लापरबाही गरेको उनले आरोप लगाए । ‘मेची राजमार्ग व्यस्त राजमार्ग हो । बर्खामा नाली भत्काएर पहिरो गयो । अहिले त्यतिकै बाटोमा निर्माण सामग्री छ । जसका कारण दुर्घटनाको जोखिम उच्च छ,’ उनले भने, ‘त्यही भएर हामी आन्दोलन गर्न बाध्य भयौँ ।’ तत्काललाई निर्माण कार्य मात्र रोकिएको र वार्तामा नआए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए । 

राज्यको करौडौँ लगानीमा विदेशी कम्पनीले गुणस्तरहीन काम गरेका कारण निर्माण कार्य बन्द गरेर आन्दोलनमा उत्रनुपरेको रोङ– ३ का एग अर्यालले बताए । ‘गुणस्तरको सवालमा व्यापक अनियमितता भएको छ । हेर्दा सडकमा धुलो उडेको देखिए पनि काम गुणस्तरहीन भएको छ । समयमा काम नसक्दा जोखिम उस्तै छ,’ उनले भने, ‘तत्काल जोखिम न्यूनीकरणका लागि काम नगरे चरणबद्ध आन्दोलन गर्छौँ ।’

सार्वजनिक सडक ऐनको उल्लंघन भो : गाउँपालिका अध्यक्ष राई
रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले विदेशी निर्माण कम्पनीले सार्वजनिक सडक ऐनको धज्जी उडाएको बताए । ‘सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ र १९ मा जथाभावी नाली र सडक भत्काई सडक अवरुद्ध गर्न पाइँदैन । तर, मेची राजमार्गमा यसको धज्जी उडाइएको छ,’ अध्यक्ष राईले भने, ‘जथाभावी निर्माण सामग्री राखिएको छ । काम पनि सुस्ती गतिमा गरेको छ । विदेशी कम्पनीले ऐन मिच्दा नियामक निकाय मूकदर्शक बनेका छन् ।’ गाउँपालिकासँग समन्वय नगरी काम भएको हुँदा जनतालाई जवाफ दिन पनि समस्या भएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले बताइन् । 

कोरियन कम्पनीले मजदुरलाई दिएन ज्याला, वडामा उजुरी
निर्माणमा संलग्न मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा उजुरी परेको छ । कोरियन कम्पनी एलएस क्याबेल सिस्टम प्रालिले नेपाली निर्माण व्यवसायीलाई पेटी ठेक्का दिएको छ, तर मजदुरले ज्याला पाएका छैनन् । मजदुरले निवेदन दिएपछि वडामा छलफल गरेर गत ९ पुसमा ज्याला दिने गरी निर्माण कम्पनीका प्रतिनिधिसँग सहमति भएको थियो । तर, सो सहमतिअनुसार मजदुरले ज्याला नपाएको रोङ– ३ का वडाध्यक्ष मातृका बरालले जानकारी दिए । समयमा ज्याला नदिइएपछि २५ पुसमा भाका सारिएको छ ।
 
काममा ढिलासुस्ती भएकै छ : प्रजिअ सेढाईं
इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले काममा ढिलासुस्ती भएको बताए । काम गर्दा मेची राजमार्गमा दुर्घटना जोखिमसमेत बढाएकाले जनताको गुनासो आइरहेको उनले जानकारी दिए । ‘टेलिकमको निर्माणको काम काठमाडौंबाटै हेरिने रहेछ । मैले जानकारी गराएको छु । ढिलासुस्ती भएको छ । दुर्घटना भएर केही भयो भने तपाईंको जिम्मेवारी हुनेछ पनि भनेको छु,’ उनले भने, ‘उहाँहरूले आएर जनतासँग वार्ता गरेर काम अघि बढाउने प्रतिबद्धता मसँग व्यक्त गर्नुभएको छ ।’