१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भारतद्वारा कोभिडविरुद्धको दुईवटा भ्याक्सिन प्रयोगका लागि स्वीकृति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o७:oo

भारतले कोरोना भाइरसविरुद्धका दुईवटा भ्याक्सिनलाई स्वीकृति दिएको छ । सेन्ट्रल ड्रग कन्ट्रोलरले अक्सफोर्ड एस्ट्राजेनेका र भारत बायोटेक खोप प्रयोगका लागि स्वीकृति दिएको हो । कोरोना भाइरस महामारीबाट धेरै प्रभावित रहेका देशहरूमध्ये भारत दोस्रो नम्बरमा छ ।

दुवै भ्याक्सिन प्रयोगका लागि सुरक्षित रहेको बताएपछि आपत्कालीन रूपमा प्रयोग गर्न स्वीकृति दिइएको हो । आपत्कालीन अवस्थाका लागि खोप प्रयोगमा ल्याउन भारतको यो निर्णयलाई ठूलो कदम मानिएको छ । भारतले कोभिडविरुद्धका अन्य भ्याक्सिन पनि आफ्नो देशमा प्रयोगमा ल्याउन कोसिस गरिरहेको जनााएको छ । यसअघि अमेरिकालगायतका देशमा प्रयोगमा आइरहेको फाइजर र स्पुतनिक फाइभ भ्याक्सिन भारत ल्याइने बताइएको थियो ।

अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको एस्ट्राजेनेका भ्याक्सिन गत बुधबार बेलायतले प्रयोगका लागि अनुमति दिइसकेको छ । अर्जेन्टिनाले पनि एस्ट्राजेनेका तत्काल प्रयोगमा ल्याउने प्रयास गरिरहेको छ । भारतले परीक्षणको छोटो समयमै भ्याक्सिनका लागि अनुमति दिएको बताए पनि कोरोनाका कारण बिग्रँदो अवस्थालाई सामान्य बनाउन खोप छिटो प्रयोगमा ल्याउन आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

कोरोनाले अमेरिकापछि सबैभन्दा बढी प्रभावित भारतमा महामारीपछि ४५ वर्षयताकै बेरोजगारी बढेको विभिन्न अध्ययनले देखाएको छ । बढ्दो आर्थिक संकट सामान्य अवस्थामा ल्याउन भारतमा कोरोना संक्रमण नियन्त्रण उत्तिकै जरुरी मानिएको छ । 

वैज्ञानिकहरूले भने भारत बायोटेक भ्याक्सिन क्लिनिकल ट्रायलमै रहेको समयमा प्रयोगका लागि स्वीकृति दिइनुलाई अपरिपक्वको संज्ञा दिएका छन् । भारतमै निर्माण र परीक्षण भइरहेको यो भ्याक्सिन हालसम्म २२ हजार पाँच सय व्यक्तिमा परीक्षण गरिएको छ ।

परीक्षणको क्रममा सुरक्षित देखिएकाले आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको भारतको सेन्ट्रल ड्रग कन्ट्रोलरले जनाएको छ । भारत बायोटेक र एस्ट्राजेनेका खोपको दुईवटा डोजमा दिइनेछ । यो निर्णयसँगै भारत बायोटेक खोपको क्लिनिकल ट्रायल परीक्षण जारी राख्ने कि रोेक्ने भन्ने विषयमा भारतले केही खुलाएको छैन ।

भारतले खोपका डोज तयारी अवस्थामा राखिसकेको र छोटो समयमै देशभर प्रयोगमा ल्याउने भएको छ । भारत बायोटेक भ्याक्सिन ४ देखि १२ हप्ताको अन्तरालमा दिइनेछ । यो खोप दुई डिग्रीदेखि ८ डिग्री सेल्सियस तापक्रममा सजिलै भण्डारण गर्न सकिनेछ ।

यो भ्याक्सिन सामान्य अस्पतालमा पनि भण्डारण गर्न सकिनेछ । जस्तै, फाइजर कम्पनीको खोप माइनस ५० डिग्री तापक्रममा मात्र भण्डारण गर्न सकिने हुँदा सबै अस्पताल र फार्मेसीमा भण्डारण गर्न सजिलो छैन । खासगरी गर्मीमा ५० डिग्री सेल्सियस पुग्ने स्थानमा फाइजर खोप भण्डारण गर्न निकै गाह्रो हुनेछ । एस्ट्राजेनेका भ्याक्सिनको प्रभावकारिताबारे अध्ययन गरिए पनि भारत बायोटेकको सुरक्षा र प्रभावकारिताबारे भने कुनै अध्ययन सार्वजनिक गरिएको छैन । 

बेलायतमा एस्ट्राजेनेका खोप लगाउन सुरु 
बेलायतले सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका फर्मास्युटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ । एस्ट्राजेनेकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो । निकै सस्तो र वितरणमा धेरै सहज मानिएको यो खोप एकजना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान सुरु गरिएको छ ।  

विश्वभर कोरोना भाइरसको संक्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने करिब आठ करोड ५० लाख मानिस संक्रमित भएका छन् । संक्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्युदर पनि दिनहुँ बढ्दै गएको छ । बेलायतले पहिलो चरणमा एस्ट्राजेनेकाको खोप पाँच लाख ३० हजार डोज उपलब्ध गराउँदै छ । प्रधानमन्त्री बोरिस जोनसनले संक्रमण बढ्दै गएकाले आगामी दिनहरू निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
 एजेन्सीको सहयोगमा

ad
ad