१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
चुरे दोहन गर्न शुक्रबार मावा नदीमा प्रवेश गरेको एक्स्काभेटर । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:४८:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनप्रतिनिधिकै सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:४८:oo

झापाको दमक र मोरङको मिक्लाजुङको सीमा भएर बग्ने मावा नदीकाे चुरे क्षेत्रमा अवैध दोहन हुँदै आएको छ। नदीजन्य सामग्री उत्खननका लागि ठेक्का लगाएको एक किलोमिटरभन्दा माथि रहेको चुरे क्षेत्रमा नदी दोहन भएको हो।

ठेक्का लगाएको स्थानमा समेत ठेक्का लगाएको परिणामबापतको नदीजन्य सामग्री उत्खनन गर्न एक्स्जाभेटर र टिपरको प्रयोग गर्न निषेध गरिएको छ। तर, नदी उत्खनन गर्ने जिम्मा पाएको इनोभेसन कन्स्ट्रक्सन प्रालिले ठेक्काभन्दा बाहिरको क्षेत्र दमक–३ र मिक्लाजुङ–८ को सीमा ढुंगेमा अवैध उत्खनन गरेको हो।

स्थानीय तहका जनप्रतिनिधिको सहयोगमा नदीको अवैध उत्खनन भएपछि स्थानीयले अवरोध गरेका छन्। भस्मे क्षेत्र दक्षिण र अबिरल चोक उत्तरको क्षेत्रमा ६८ हजार २५० घनमिटर नदीजन्य सामग्री उत्खननका लागि इनोभेसन कन्स्ट्रक्सन प्रालिले दुई करोड ३९ लाखमा ठेक्का पाएको थियो। उक्त क्षेत्रमा पनि मिक्लाजुङ गाउँपालिकाको प्रारम्भिक रिपोर्टअनुसार तोकिएको परिमाणको नदीजन्य सामग्री उत्खनन भइसकेको निष्कर्ष निकाल्दै अहिले मावा नदी क्षेत्रमा एक्स्काभेटर तथा टिपर प्रवेश निषेध गरिएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले जानकारी दिए।

‘अहिले मेसिनले उत्खनन गर्ने कार्य बन्द भइसकेको छ। हाम्रो प्रारम्भिक रिपोर्टले उत्खनन गर्ने परिमाण पुगिसकेको देखिएको छ। फाइनल रिपोर्ट केही दिनमा आउँछ। परिमाण पुगेको रहेनछ भने त्यसपछि मात्र पाइन्छ,’ उनले भने, ‘अहिले खोलामा मेसिन भेटिए दुई लाख, टिपर भेटिए एक लाख र ट्याक्टर भेटिए ५० हजार जरिवाना हुन्छ। ठेक्का नलागेको ठाउँमा त पस्नै पाउँदैन।’

तर, ठेक्का लागेको क्षेत्रभन्दा बाहिर चुरे क्षेत्रमा प्रवेश गरेर नदीजन्य सामग्री धमाधम उठाउँदा पनि पहुँचको भरमा ठेक्का लिने कम्पनीलाई उन्मुक्ति दिइएको छ। नदी नियन्त्रणका लागि यसै वर्ष तटबन्ध गरिएको क्षेत्रमा थुप्रिएको नदीजन्य सामग्री धमाधम उठाइँदासमेत कसैको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ। ‘गत सोमबारदेखि धमाधम टिपर र मेसिन ल्याएर माल (नदीजन्य सामग्री) उठाउँदै आइएको छ,’ दमक–३ का स्थानीय किसन पाण्डेले भने, ‘बाँध (तटबन्ध) बाँधिएको ठाउँमा कसले अनुमति दिएको हो ? यो हदैसम्मको लापरबाही भएन र?’

दमक–३ स्थित सूर्यलक्ष्मी टोल विकास संस्थाका अध्यक्ष सन्त तामाङ केही दिनअघि अवैध नदी उत्खनन् रोक्न जाँदा ठेक्का पाएको कम्पनीका प्रतिनिधिले जनप्रतिनिधिसमेत मिलाएको भनेर फर्काएको बताए। ‘केही दिनदेखि टिपरका टिपर नदीजन्य सामग्री लगेका छन्। यहाँ त खतरा हुन्छ भनेर म बुझ्न गएँ,’ उनी भन्छन्, ‘मिक्लाजुङ र दमकको जनप्रतिनिधिलाई मिलाएको छ भने। मैले त कानुनी प्रक्रिया पूरा भएको होला भन्ने सम्झिएँ र फर्किएँ।’

ठेक्का पाएको कम्पनीका प्रतिनिधि विनोद थापा तटबन्धमा रहेको नदीजन्य सामग्रीले पूर्वतर्फ अग्लो र पश्चिममा होचो बनाउने भन्दै मिक्लाजुङ–८ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले सम्याउन लगाएर सम्याएको दाबी गरे। शुक्रबार मावा नदी पुगेका थापाले स्थानीयले अवरोध गरेपछि धम्कीसमेत दिएका थिए। ‘चुरेको अवैध दोहन भएपछि विनोद थापा नाम गरेका ठेकेदारले करङ भाँचेपछि थाहा हुन्छ भन्दै धम्की दिए,’ स्थानीय बुद्धिमान तामाङले भने, ‘उनी दमक नगरपालिकाका मेयर राम थापाको पार्टी राप्रपानिकट युवक संगठनका नेता रहेछन्। शक्तिको आडमा धम्की दिए।’

स्थानीयको गुनासोपछि शनिबार बिहान जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल अनुगमनमा पुगेका थिए। अनुगमनपछि बरालले त्यस क्षेत्रमा अवैध उत्खनन भएको बताए। ‘यहाँ अवैध उत्खनन भएको छ। झन्डै एक सय टिपर नदीजन्य सामग्री उठाएको पाइयो। ठेक्का नलगाएको चुरेमा यसरी एक्स्जाभेटर लगाएर नदीजन्य सामग्री उत्खनन गर्न पाइँदैन। मैले स्थानीय तहलाई समेत सचेत गराएको छु,’ उनले भने, ‘ठेक्का लिने कम्पनीले वडाध्यक्षले भनेर सम्याएको भन्छ। निःशुल्क त कसैले आफ्नो एक्स्जाभेटर लगाएर तेल खर्च गर्दैन होला नि? फेरि वातावरणीय प्रभाव मूल्यांकन विनाचिठीको भरमा वडाध्यक्षले नदी दोहन गर्न दिन पाउँछ?’

वातावरणीय प्रभाव मूल्यांकन नगरेको क्षेत्रमा टिपर र स्काभेटर लगेर धमाधम नदीजन्य सामग्री उत्खनन गरेपछि स्थानीयले शुक्रबार निषेधित क्षेत्रमा प्रवेश गरेको एक्स्जाभेटर नियन्त्रणमा लिएर दमक नगरपालिकालाई खबर गरेका थिए। तर, स्थानीय तहको सेटिङमा एक्स्जाभेटरलाई भगाइएको स्थानीयको आरोप छ। स्थानीयले अवरोध गरेपछि शुक्रबार दिनभर लगाएर ठेक्का लिने कम्पनीका प्रतिनिधिले मिक्लाजुङ–८ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले सम्याउन अनुमति दिएको पत्र बनाएका थिए। मिक्लाजुङ–८ का वडाध्यक्ष कुँवरले पनि तटबन्ध क्षेत्रमा थुप्रिएको नदीजन्य सामग्री सम्याउन अनुमति दिएको बताए। ‘सम्याउन भनेका हौँ। नदीजन्य सामग्री लैजान अनुमति दिएको होइन,’ उनले भने। यद्यपि यसरी नदीजन्य सामग्री उत्खननका लागि वडाध्यक्षले अनुमति दिन नमिल्ने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले बताए।

दमक र मिक्लाजुङको सीमावर्ती नदी भएका कारण अवैध दोहन नियन्त्रणको जिम्मा दमक नगरपालिकालाई पनि छ। स्थानीयले दमकका नगरप्रमुख रामकुमार थापालाई गुनासो गरेपछि एक्स्जाभेटर नियन्त्रणमा लिन नगर प्रहरी शुक्रबार मावा खोला पठाएका थिए। तर, ठेकेदारमध्येका विनोद थापा मेयर थापानिकट र उनी आबद्ध पार्टी राप्रपाको युवक संगठनको नगर अध्यक्ष भएकाले उनले एक्स्जाभेटरलाई रुँगेर बसेका नगर प्रहरीसमेत फिर्ता बोलाए।

‘मेयर साबले सुरुमा हामीले खबर गर्दा तपाईंहरूले केही पनि नगर्नु, म नगर प्रहरी पठाउँछु नदी दोहन गर्नेलाई छाड्नुहुन्न भन्नुभयो। नगर प्रहरी पनि आयो। १/२ बजेसम्म एक्स्जाभेटर लैजान नदिन नगर प्रहरी खोलामै बस्यो। तर, पछि मेयरको आदेश भन्दै फर्किए,’ दमक–३ का स्थानीय बुद्धिमान तामाङले भने, ‘मेयरकै नजिकको मान्छे भएकाले उनले बचाउन खोजे। नगर प्रहरी गएपछि पनि हामी स्थानीय बसेर एक्स्जाभेटर लैजान दिएका थिएनौँ। साँझ परेपछि भगाएर लगे। यहाँ जनप्रतिनिधिको पनि मिलेमतो देखियो।’

दमक नगरपालिकाका प्रमुख थापाले यसबारेमा प्रतिक्रिया दिन मानेनन्। नदीको अवैध उत्खनन्बारे जानकारी नभएको भन्दै उनी पन्छिए। तर, थापाले नै पठाएर नगर प्रहरी शुक्रबार बिहानै ढुंगेस्थित मावा नदी पुगेको थियो।

इनोभेसन कन्स्ट्रक्सन प्रालिका सञ्चालक फ्याक शेखले ठेक्का लिएकोभन्दा बाहिर उत्खनन गरेको स्वीकार गरे। उनले त्यहाँका नदीजन्य सामग्री बाहिर लगेकोसमेत स्विकारे। ‘ठेक्का लागेकोभन्दा माथि तटबन्धन छ। पूर्वपट्टि मात्र बाँध बाँधेको रहेछ। पश्चिमपट्टि गहिरो भएकाले त्यहाँको माल (नदीजन्य सामग्री) नहटाई मिक्लाजुङ बगाउने भयो। त्यही भएर वडाध्यक्षले माथि मिलाइदिनुपर्‍यो भनेपछि हामीले नदीजन्य सामग्री उठाएका हौँ,’ उनले भने, ‘हामीलाई त आफ्नै नदीजन्य सामग्री उठाएर बेच्न पनि समस्या भएको छ। कहाँ अरूको उठाउनू!’

 

ad
ad