
जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ ।
विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव तीन र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस छ । त्यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव शून्य र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस छ ।