मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डको ६० प्रतिशत काम सम्पन्न

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

लमजुङमा ०७२ सालबाट निर्माण कार्य सुरु भएको मध्यपहाडी लोकमार्गमा ३६ किलोमिटर सडकको ६० प्रतिशत काम सम्पन्न भएको छ । जिल्लाभित्र पर्ने लोकमार्गको ३६ किलोमिटर सडकको निर्माण कार्य तीव्र रूपमा भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङले बताए । 

लोकमार्गअन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदी खण्डमा कालोपत्रे भइसकेको छ । मर्स्याङ्दी वारिपारि तार्कुघाट र पाउँदीमा कालोपत्रे भएको हो । यो सडकखण्ड लमजुङतर्फ साढे नाै किलोमिटर र गोरखातर्फ चेपेनदीदेखि ठाँटीपोखरीसम्म साढे ६ किमिमा पर्छ ।

लोकमार्गको पश्चिम खण्ड (प्लट नं.– ८) अन्तर्गत सुन्दरबजार–५, घुमाउने चौतारादेखि मध्यनेपाल नगरपालिकाको सिमानासम्म १६.२ किमि सडकखण्डको केही स्थानमा कालोपत्रे भएको छ । जिल्लामा ०७२ मा ठेक्का भएको तीनवटा सडकका लागि ८६ करोड ६१ लाख ३६ हजार तीन सय रुपैयाँ लागत रकम छुट्याइएको छ । 

जसमध्ये ५० करोड ९२ लाख २२ हजार दुई सय ७३ रुपैयाँ खर्च भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका इन्जिनियर बबिता शर्माले जानकारी दिइन् । कोभिड– १९ का कारण बिजुलीको पोल विस्थापनमा ढिलाइ, ठेक्का सम्झौतामा ढिलाइ र स्थानीयको अवरोधका कारण लक्ष्यअनुसार सडक निर्माणले गति लिन नसकेको प्रमुख गुरुङको भनाइ छ । जिल्लामा पर्ने ४५ किलोमिटर सडकमध्ये सुन्दरबजारमा आठ किलोमिटर र मध्यनेपालको एक किलोमिटर सडकखण्डमा स्थानीयको अवरोधका कारण अन्याेल नै छ । 

उक्त सडकखण्डमा स्थानीयको अवरोधले ६ वर्षदेखि सर्भेसमेत हुन सकेको छैन । जिल्लाभित्र पर्ने लोकमार्गको ३६ किलोमिटर सडकको निर्माण कार्य तीव्र रूपमा भए पनि सुन्दरबजार र भोर्लेटार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण कार्य सुरु हुन नसकेको हो । पूर्वको पाँचथरदेखि पश्चिम बैतडीसम्मको एक हजार सात सय ८७ किलोमिटर लम्बाइको मध्यपहाडी लोकमार्ग लमजुङमा ४५ किलोमिटर पर्छ ।

सुझावित समाचार