१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १६ बिहीबार
  • Monday, 07 July, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७७ पौष १६ बिहीबार o८:४८:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णालीमा कोरोना नियन्त्रण गर्न एक अर्बभन्दा बढी सकियो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ पौष १६ बिहीबार o८:४८:oo

कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ । कर्णालीमा क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण, स्वास्थ्य तथा सुरक्षाकर्मीलाई खाना खर्चलगायतका क्षेत्रमा खर्च गरेको हो ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार कर्णालीका १० जिल्लाका स्थानीय तह, अस्पताललगायतका ठाउँमा यो रकम खर्च भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको मन्त्रिपरिषद् तथा विपत् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार, प्रदेशका ७९ वटा स्थानीय तहलाई १५ लाखदेखि ३० लाख रुपैयाँसम्म प्रदान गरेको छ । यसमा १३ करोड २० लाख रुपैयाँ खर्च भएको जनाएको छ । 

लेखा नियन्त्रण कार्यालयका अनुसार सल्यानका १० स्थानीय तहलाई एक करोड ६५ लाख, सुर्खेतका नौ स्थानीय तहलाई एक करोड ७० लाख, दैलेखका ११ स्थानीय तहलाई एक करोड ८५ लाख, जाजरकोटका सात स्थानीय तहलाई एक करोड २० लाख, डोल्पाका आठ स्थानीय तहलाई एक करोड ३० लाख र जुम्लाका आठ स्थानीय तहलाई जुम्लामा एक करोड २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

त्यस्तै, रुकुम पश्चिमका ६ स्थानीय तहलाई एक करोड पाँच लाख, कालीकोटका नौ स्थानीय तहलाई एक करोड ५० लाख, मुगुका चार स्थानीय तह ६५ लाख र हुम्लाका सात स्थानीय तहलाई एक करोड पाँच लाख प्रदान गरेको छ । 

कर्णाली प्रदेश सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आइसोलेसन बेड व्यवस्थापनका लागि दुई करोड, स्थानीय तहहरूमा आइसोलेसन बेड व्यवस्थापनका लागि एक करोड २५ लाख र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको खाना व्यवस्थापनका लागि एक करोड चार लाख ३० हजार, सामाजिक विकास मन्त्रालयमातहतका स्वास्थ्य कार्यालय तथा अस्पतालमा ३० करोड ५९ लाख १५ हजार बजेट खर्च गरेको छ ।