मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १३ सोमबार ११:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढी प्रहरी हत्या प्रकरण : गस्तीमा रहेका दुई प्रहरी हत्याका मुख्य अभियुक्त पक्राउ

Read Time : > 1 मिनेट
२०७७ पौष १३ सोमबार ११:५८:००

धनगढीमा भएको दुई प्रहरी हत्या घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । 

धनगढी उपमहानगरपालिका– १०, का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनापछि भारतमा लुकेर बस्दै आएका रानालाई नेपालतर्फ आइरहेका वेला आइतबार राति धनगढी– १९, फूलबारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए ।

पक्राउ परेका रानालाई प्रहरीले आजै अदालतमा पेस गर्ने तयारी गरेको छ ।

धनगढी–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको गत १ कात्तिकको राति हत्या गरिएको थियो । 

राति गस्तीमा गएका साउद र विकको हत्या नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने समूहले गरेको खुलेको थियो ।

हत्या अभियोगमा पक्राउ परेका आठजना अभियुक्त पुर्पक्षका लागि यसअघि नै कारागार चलान भइसकेका छन् । 

धनगढी–१०, का पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, चोर भनिने ३० वर्षका सुरेश राना, गब्बर भनिने २५ वर्षका राजकुमार राना र २२ वर्षका रामनिवास राना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

यस्तै, हत्याका अभियुक्त टल्लु भनिने २९ वर्षका दलराम राना, गोपाल भनिने २५ वर्षका रामगोपाल राना र २० वर्षीय रोहित राना पनि कारागार चलान भएका छन् । उनीहरू घटनालगत्तै पक्राउ परेका थिए ।

प्रहरी हत्या घटनासँग जोडिएको मटरको तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी राजीव गुप्ता भने एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । 

नेपालबाट भारततर्फ केराउ तस्करी भइरहेको वेला रोक्न खोजेपछि प्रहरीको हत्या भएको थियो । 

तस्करले दुवैजनाको हत्या गरी नेपाल–भारत सीमा क्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए । हत्याका मुख्य योजनाकार सुकबहादुर रहेको प्रहरीले बताएको छ ।