१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १२ आइतबार १८:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराई भन्छन्– विषमाथिको थोरै अमृतमा भुल्नुहुँदैन, चुनाव भ्रम हो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १२ आइतबार १८:२३:००

जनता समाजवादी पार्टी (जसपा)का संघीय कार्यकारिणी परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको चुनाव नहुने ठोकुवा गरेका छन् । आइतबार जसपाले गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले चुनावको भ्रममा नपर्न कांग्रेस र नेकपाकै प्रचण्ड–माधव नेपाल समूहलाई आग्रह गरेका छन् ।

कांग्रेसलाई उनले चुनाव होला र पहिलो बनौँला भन्ने भ्रम नराख्न आग्रह गरे । भट्टराईले भने, ‘यो आन्दोलन, यो संघर्ष एक्लाएक्लै गरेर पूरा हुँदैन । खासगरी प्रमुख प्रतिपक्षी कांग्रेसका साथीहरूलाई आग्रह गर्न चाहन्छु– साथीहरू हो तपाईंहरूले अब चुनाव हुन्छ, चुनावमा गएपछि कांग्रेस नै पहिलो पार्टी हुन्छ, ठूलो पार्टी हुन्छ, सरकार चलाउँछ भन्ने भ्रममा नपर्नुस् । हिजो ज्ञानेन्द्र शाहले पनि चुनाव घोषणा गरेको हाेइन ? त्यो चुनावमा तपाईं–हामीले भाग लियौँ ? लिएनौँ । पञ्चायतले पनि त चुनाव गराएथ्यो । हामीले भाग लियौँ ? लिएनौँ । चुनाव त खालि के हो भने विषको घैँटामा माथिचाहिँ अलिकति अमृत राखेर दिएजस्तो हो । तल विष छ । माथिचाहिँ अलिकति गुलियो अमृत हालिदिएको छ । त्यो गुलियोमा हामी भुल्नुहुँदैन ।’  

चुनाव हुन्छ भनेर आस गर्नुको सट्टा संयुक्त रूपमा संघर्षमा उत्रनुपर्ने उनको भनाइ छ । ‘चुनाव त भ्रम मात्रै हो । केपी ओलीले आफ्नो सर्वसत्तावादी शासन कायम गर्ने ध्येयले चुनावको कुरा गरे । न त्यो चुनाव हुनेवाला छ ! जबसम्म केपी ओलीले आफ्नो पूरा प्रभुत्व जमाएको उनलाई विश्वास हुँदैन त्यतिवेलासम्म यहाँ चुनाव हुनेवाला छैन । त्यसैले चुनावको भ्रममा नपर्न र संघर्षमा उत्रन म आग्रह गर्छु,’ उनले भने । 

प्रचण्ड–नेपालको टाउकोमा ओलीले खड्गले हान्न मात्रै बाँकी रहेको भट्टराईको भनाइ थियो । अब संयुक्त आन्दोलनमा आउन पनि उनले उक्त समूहलाई आग्रह गरेका छन् । ‘अहिले केपी ओलीको भ्रमबाट ढिलै भए पनि मुक्त हुनुभएका प्रचण्ड–माधव नेपालजीहरूको जुन समूह छ उहाँहरू कुनै ढुलमुल नगर्नस् । अहिले पनि केपी ओलीजी आउनुभयो भने मिलेर जान सकिन्छ भनिरहनुभएको छ । केपी ओलीले गोदेको गोदै छन्, ठोकेको ठोकै छन् । खड्गप्रसादले खड्ग प्रहार गरेको गरै छन् । अनि उहाँहरू आउनुस् मिल्न भनिरहनुभएको छ । अब तपाईंको टाउकोमा मात्रै खड्ग हान्न बाँकी छ । के बोलाउनुहुन्छ तपाईंहरूले !,’ उनले थपे, ‘त्यसैले उहाँहरूलाई पनि म आग्रह गर्छु, आउनुहोस् हामी संयुक्त रूपमा संघर्ष गरौँ । संयुक्त जनआन्दोलनविना यो प्रतिगमन सच्चिनेवाला छैन । महेन्द्रको प्रतिगमनलाई ३० वर्ष लाग्यो, ज्ञानेन्द्रको प्रतिगमनलाई हामीले चार वर्षभित्र सडकबाटै गुल्ट्यायौँ । केपी ओलीको प्रतिगमनलाई वर्ष हाेइन, केही महिनाभित्र गुल्ट्याउन सकिन्छ । त्यसमा लागौँ ।’