नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई अदालतले खारेज गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘म आफैँ संविधान सभाको सदस्य हुँ, हामीले विगतमा देखिएको अस्थिरताको अन्त्यकै लागि संविधानमै प्रस्ट रूपमा कस्तो अवस्थामा मात्रै संसद् विघटन गर्न पाउने भन्ने प्रस्ट व्यवस्था गरेका छौँ, लोकतन्त्रमा संविधानको भावना र मर्मविपरीत कोही पनि अघि बढ्द सक्दैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी रहेको उनको ठहर छ ।
‘संविधानको व्याख्या स्वतन्त्र न्यायालयले नै गर्ने हो, अब अदालतले नै त्यसको उपयुक्त व्याख्या गर्छ, अदालतले नै ‘दूध को दूध, पानीको पानी’ पनि छुट्याउनुपर्छ,’ नेता सिंहले भने, ‘हामी लोकतन्त्र र संविधानमाथि विश्वास गर्छौँ, त्यसैले अदालतसँग विश्वास छ, अदालतले ओलीको अवैधानिक कदमलाई खारेज गर्छ भन्ने मलाई लाग्छ ।’
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सिंहले सरकारको असंवैधानिक कदमका विरुद्ध विरोध र संघर्षका कार्यक्रम थाल्ने बताए ।
‘प्रधानमन्त्रीले आफ्नो पद जोगाउन विधि, पद्धति मिच्ने, संविधानविपरीत कार्य गर्ने कुरा राम्रो हाेइन, पार्टीको कुरा पार्टीभित्रै मिलाउने हो । ओजीजीले पार्टीको रिसलाई लिएर संविधान र व्यवस्थामाथि प्रश्नचिह्न खडा हुने कदम चाल्नुभएको छ,’ नेता सिंहले भने, ‘यसको विरुद्ध कांग्रेसले देशभर राजनीतिक रूपमै प्रतिकार गर्छ, गर्नुपर्छ ।’
जारी केन्द्रीय समितिको बैठकमा विरोध कार्यक्रम गर्ने कि नगर्ने भन्ने विवाद भइरहेका वेला नेता सिंहले कांग्रेसले संविधान, लोकतन्त्र र जनताको अधिकार रक्षाका लागि सडक संघर्ष गर्नुपर्ने मत राखेका छन् ।
‘प्रधानमन्त्रीको यो कदम अवैधानिक हो भन्ने कुरा दुनियाँले देखेको छ, कांग्रेस कसरी चुप लाग्न मिल्छ ? नेकपा सरकारको अक्षमता र गैरसंवैधानिक कदमलाई जनतासम्म पुऱ्याउनुपर्छ, त्यो कदम सच्याउनका लागि आन्दोलन गर्नुपर्छ,’ उनले भने ।
नेता सिंहले अहिलेको संघीय गणतन्त्रात्मक लोकतान्त्रिक राज्य व्यवस्थामा व्यवस्थापिका संसद् सबैभन्दा माथि हुने बताए ।
‘जनताको प्रतिनिधित्व हुने सर्वोच्च निकाय संसद् हो, त्यसलाई मास्ने अधिकार कसैलाई छैन, ओलीजी उहाँको पार्टीको झन्डै दुईतिहाइ मतसहितको प्रधानमन्त्री हो, तर संसद् नै मास्ने अधिकार त उहाँलाई छैन,’ नेता सिंहले भने ।
‘ओलीको यो कदमले उनको अधिनायकवादी चरित्र प्रस्टिएको छ, स्वेच्छाचारिता देखिएको छ, ठूलो गल्ती भएको छ, यसलाई ढाकछोप गर्न अरू गल्ती गर्न तत्पर नहुन सक्नुहोला भन्ने पनि लाग्दैन,’ नेता सिंहले अघि थपे, ‘त्यसैले कांग्रेसले संयमित भएर देशलाई संकटतर्फ जानबाट रोक्नुपर्छ ।’
नेता सिंहले संसद् ब्युँतिएको अवस्थामा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएर देशलाई अघि बढाउन तयार हुनुपर्ने धारणा राखे ।
‘जनताले हामीलाई पाँच वर्षसम्म प्रतिपक्षीको भूमिका दिएका हुन्, तर सत्ताको जिम्मेवारी पाएको नेकपाले जनताको म्यान्डेट गुमाएको अवस्था छ, यस्तो वेला प्रतिपक्षी टुलुटुलु हेरेर बस्न पनि मिल्दैन,’ उनले भने, ‘त्यसवेला कांग्रेसले आफ्ना एजेन्डाअनुसार देशलाई संकटबाट जोगाउन तयार हुनुपर्छ ।’
पार्टीभित्र ओली वा प्रचण्ड कोसँग गठबन्धन गर्ने भन्ने विषयमा बहस भएकोप्रति नेता सिंहको विमति छ ।
‘अब कांग्रेस कम्युनिस्टको नेतृत्वमा न सरकार जाने हो, न आन्दोलनमा,’ उनले भने, ‘उनीहरूले पाएको म्यान्डेट गुमाइसके, उनीहरूको पछि लाग्नु प्रतिपक्षीको मर्यादाविपरीत हो ।’