१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २१:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जुम्लाको ५९० रोपनी सरकारी जग्गा हिनामिनामा मुछिएका सबैले पाए सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:२१:oo

विशेष अदालतले जुम्लाको गुठीचौरस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा आरोपित सबैलाई सफाइ दिएको छ । सोमबार विशेषका अध्यक्ष प्रेमराज कार्की तथा न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले आरोप पुष्टि नभएको भन्दै विपक्षी सबैलाई सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असार २ मा यसमा संलग्न जुम्लाका तत्कालीन मालपोत प्रमुख गोविन्दप्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध विशेषमा अभियोगपत्र दायर गरेको थियो । न्यौपानेका साथै मालपोतका तत्कालीन खरिदार र भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख रहेका यमुनाकुमार श्रेष्ठविरुद्ध अख्तियारले जनही ४५ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । 

तीनैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को उपदफा १ (ज) बमोजिम ‘सरकारी वा सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा आफ्नो वा अरूको नाममा दर्ता, भोगचलन गर्ने–गराउने’ कसुर गरेको अख्तियारको ठहर थियो । उनीहरूलाई तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय माग गरिएको थियो । 

यसैगरी, ९३ हजार वर्गकिलोमिटर सरकारी जग्गा आफ्नो नाममा गराउने १३ जनाउपर पनि अख्तियारले अभियोगपत्र दायर गरेको थियो । मुनिश चन्द्र, मायालाल, विष्णु, विष्णु ऋषि, विष्णुलाल, पार्वती, नवऋषि, गोमा, केशवराज र कविदत्त न्यौपानेले जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । साथै देवेन्द्रप्रसाद उपाध्याय र जानकी दत्त देवकोटाले पनि सरकारी जग्गा आफ्नो नाममा गराएको भन्दै मुद्दा दायर भएको थियो । 

उनीहरूमाथि उक्त ऐनको दफा ४ बमोजिम सरकारको नियम उल्लंघन गर्दै बदनियतले गरेको कार्य भएको भन्दै सजाय माग गरिएको थियो । सबैजनामाथि गरेर ४० लाख हाराहारी बिगो असुलउपर गर्नुपर्ने दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो । तर सोमबार सबैले सफाइ पाएका छन् । 

यस्तो थियो अख्तियारको दाबी
जुम्लाको गुठीचौरस्थित भेडाबाख्रा फार्मको नाममा दर्ता भएको पाँच सय ९० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको भेटिएको थियो । जसमा तत्कालीन मालपोतका निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेले आफ्नी श्रीमतीसहितका आफन्तको नाममा उक्त सरकारी जग्गा दर्ता गरेको अख्तियारको अनुसन्धानका क्रममा देखिएको थियो । उनले पत्नी गोमा र छोरी पार्वतीको नाममा समेत जग्गा नामसारी गरेको अख्तियारको दााबी थियो । 

भेडा बाख्रा फार्मको नाममा रहेको उक्त सरकारी जग्गा भेडा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख यमुनाकुमार श्रेष्ठसँगको मिलेमतोमा न्यौपानेले आफ्ना परिवार र आफन्तको नाममा दर्ता गराएको अख्तियारको आरोप थियो । घटना खुलेपछि अख्तियारले उनीहरूविरुद्ध गत असारमा मुद्दा दायर गरेको थियो । यसै प्रकरणमा विशेषले सबैलाई सोमबार सफाइ दिएको हो ।

ad
ad