१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राजकुमारकी पत्नी रेपिका प्रजा (रिपुमाया)लाई चेक हस्तान्तरण गर्दै लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बो
२०७७ पौष ३ शुक्रबार ०७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सैनिक कुटाइबाट चेपाङ युवक मृत्यु प्रकरण : पाँच महिनापछि राजकुमार चेपाङको परिवारलाई ६ लाख राहत

Read Time : < 1 मिनेट
२०७७ पौष ३ शुक्रबार ०७:४९:००

सैनिकको कुटाइबाट मृत्यु भएका चितवन राप्ती नगरपालिका– २ का राजकुमार चेपाङको परिवारलाई पाँच महिनापछि राहत प्रदान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिहीबार राजकुमारको परिवारलाई ६ लाख रुपैयाँ प्रदान गरेको हो । 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बिहीबार राजकुमारको परिवारलाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उनको परिवारलाई १० लाख राहत प्रदान गर्ने १६ साउनमा सहमति भएको थियो । त्यसअनुसार राप्ती नगरपालिकाले दुई महिनाअघि तीन लाख प्रदान गरेको थियो भने निकुञ्जले दाहसंस्कारका लागि त्यतिवेलै एक लाख प्रदान गरेको थियो । 

निकुञ्जले दिनुपर्ने बाँकी ६ लाख रुपैयाँ उपभोक्ता समितिमार्फत बिहीबार प्रदान गरेको हो । पूर्वनिर्धारित स्रोत नभएको र नयाँ स्रोत खोजी गरी राहत व्यवस्था गर्दा ढिलाइ भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

१ साउनमा राप्ती नगरपालिका– २ मिलनटोलका राजकुमारसहित सातजना घुँगी खोज्न निकुञ्जभित्र गएका थिए । सातमध्ये दुईजना महिलालाई केही नगरे पनि पाँचजना पुरुषलाई निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारको ८ साउनमा मृत्यु भएको थियो । 

त्यसपछि स्थानीय प्रशासनको रोहवरमा निकुञ्ज र राजकुमारका परिवारबीच १० लाख राहत दिने, घर बनाउने र उनकी डेढ वर्षीया छोरीको भरणपोषणका लागि निकुञ्जले सहयोग गर्ने सहमति भएको थियो । राहत प्रदान गरे पनि घर भने सामान्य मर्मत मात्रै गरेर छाडेको नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले बताए । 

उनलाई कुटपिट गरेको आरोप लागेका सैनिक चिरणकुमार बुढाक्षेत्री भने अहिले पुर्पक्षका लागि जेलमा छन् । उनलाई जिल्ला अदालत चितवनले दुई महिनाअघि पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । उनीविरुद्ध राजकुमारका बुबा विष्णुलालले किटानी जाहेरी दिएका थिए भने ४ असोजमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।