मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस झापा
२०७७ पौष २ बिहीबार १२:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बिग्रिए सिसिक्यामेरा, थपियो सुरक्षा चुनौती

Read Time : > 1 मिनेट
रासस झापा
२०७७ पौष २ बिहीबार १२:३९:००

मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसिक्यामेरा बिग्रिएर काम नलाग्ने भएका छन् । 

सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएकाे पूर्वीनाका काँकडभिट्टासमेत रहेको मेचीनगरका विभिन्न ठाउँमा राखिएका सिसिक्यामेरा मर्मत गर्ने वा नयाँ जडान गर्ने भरपर्दो प्रयास अहिलेसम्म हुन सकेको छैन । 

काँकडभिट्टा क्षेत्रमा दुई वर्षअघि स्थानीय तहसँगको साझेदारीमा २३ सिसिक्यामेरा जडान गरिएको थियो । तीमध्ये अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । 

‘हङकङ मार्केट’का रूपमा परिचित धुलाबारी बजारको हालत पनि उस्तै छ । दुई वर्षअघि नै धुलाबारी ट्राफिक प्रहरी बिटका हबल्दार योगेन्द्र थापाले आफ्नो तलब र स्थानीयवासीको स्वैच्छिक सहयोगमा मुख्यचोकमा चार सिसिक्यामेरा जडान गरेका थिए । 

ती क्यामेरा अहिले बिग्रिएका अवस्थामा झुन्डिरहेको छ भने बिटमा राखिएको कन्ट्रोल रुममा थोत्रो टिभी स्क्रिन मात्र रहेको छ ।

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन बस्नेतले थोत्रिएका सिसिक्यामेरा मर्मत गर्नुभन्दा नयाँ सिसिक्यामेरा जडान गरिनुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीय सरकारसँगको साझेदारीमा नयाँ सिसिक्यामेरा किनेर जडान गर्ने योजना अघि बढाइएको बताए । 

अन्तर्राष्ट्रिय नाकाका रूपमा रहेका मेचीनगरको काँकडभिट्टा र धुलाबारीमै सिसिक्यामेराको यो हालत हुनुले सुरक्षाजस्तो संवेदनशील विषयमा नयाँ प्रविधिको प्रयोगप्रति भइरहेको चरम बेवास्तालाई झल्काएको छ ।

सिसिक्यामेराको सहायताले सीमा क्षेत्रमा हुने तस्करी, आपराधिक व्यक्तिहरूको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्छ । 

काँकडभिट्टा नाकाबाट सुरक्षा निकायको आँखा छलेर मानव तस्करी र लागुऔषधको ओसारपसारसमेत हुँदै आएको छ । सिसिक्यामेरा जडानपछि त्यसको सञ्चालनका लागि आवश्यक  पर्ने स्रोतको अभावमा मर्मत–सम्भार हुन नसकेको हो । 

अर्कातिर समुदायले स्रोत जुटाएर जडान गरेका ती क्यामेराको सञ्चालनका लागि नगरपालिका र वडा कार्यालयले चासो दिएका छैनन् ।  

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले आपराधिक गतिविधि नियन्त्रणमा सिसिक्यामेरा महत्वपूर्ण भएको हुँदा हाल समिति नै बनाएर मेचीनगर– १० को खयरडाँगीदेखि वडा नं. ९ को खुट्टेडाँगीचोकसम्म ५० वटा क्यामेरा जडान गर्न रकम संकलन गरिरहेको बताए । उनले चोकमा बिग्रिएका सिसिक्यामेरा मर्मत गर्नुभन्दा राम्रो क्वालिटीको क्यामेरा खरिद गरेर जडान गर्नेतर्फ समिति लागिपरेको बताए । 

समितिले रु. दुई लाख, मेचीनगर नगरपालिकाले रु. पाँच लाख, वडा नं. १० ले रु. तीन लाख र मेची चेम्बर अफ कमर्सले रु. ५० हजार क्यामेरा जडानका लागि उपलब्ध गराइसकेका छन् ।

‘यो नै पर्याप्त बजेट होइन,’ उनले भने, ‘५० वटा क्यामेरा खरिद र जडानका लागि रु. २० लाख खर्च लाग्छ । स्थानीयवासी, व्यापारी र व्यवसायीसँग समन्वय गरेर काम गर्ने सोच छ । हामी सफल हुन्छौँ ।’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक पोखरेलले अपराध अनुसन्धानमा सिसिक्यामेरा प्रभावकारी प्रविधि भएको हुँदा चोकचोकमा जडानका लागि सबैले तदारुकता देखाउनुपर्ने बताए । 

केही दिनअघि मेचीनगरका उपप्रमुख मीना उप्रेती सवार गाडीमा आक्रमण गर्न खोज्नेलाई सो स्थानमा सिसिक्यामेरा नभएका कारण तत्काल पक्राउ गर्न नसकिएको उनले बताए । 

मेचीनगरका काँकडभिट्टादेखि चारआलीसम्म राजमार्ग क्षेत्रमा र बाहुनडाँगी बजार, भृकुटीलगायत नगरका विभिन्न बजारमा सिसिक्यामेरा आवश्यक रहेको उनको भनाइ छ । ‘क्यामेरा जडान गर्नु नै ठूलो कुरा होइन,’ उनले भने, ‘जडानसँगै मर्मतसम्भारका लागि समेत स्रोत चाहिन्छ । त्यसको समेत जोहो हुनुपर्छ ।’