
आज बस्ने नेकपाको स्थायी कमिटी बैठकअघि नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच भेटघाट भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएकाे भेट सकिएपछि अहिले दुबै जना स्थायी कमिटी बै७कमा सहभागि भएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न अर्का अध्यक्ष दाहाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् ।
यसअघि आज बिहान ओलीनिकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दाहालनिवास खुमलटार पुगेर दाहालसँग छलफल गरेका थिए ।
सरकारले संवैधानिक परिषद्सन्धी अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाभित्रको अन्तर्द्वन्द्व उत्कर्षमा छ ।
अध्यादेशपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई ठीक ठाउँमा राख्न कडा नीति अख्तियार गर्ने प्रतिक्रिया दाहालसहित माधवकुमार नेपाल तथा झलनाथ खनालले दिइरहेका वेला आज भएको भेटलाई निकै अर्थपूर्ण मानिएको छ ।
दुई अध्यक्षबीच समझदारी बनेमा आज बस्ने भनिएको स्थायी कमिटी बैठक नरम बन्न पनि सक्छ । तर, समझदारी नभएमा आजको स्थायी कमिटी निकै गरम हुने पूर्वानुमान राजनीतिक वृत्तमा गरिएको छ ।
दाहाल–नेपालनिकट मानिने सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा सहभागी नभएपछि सरकारले सभामुखविना पनि परिषद्को बैठक बस्न मिल्ने गरी अध्यादेशबाट संशोधन ल्याएपछि नेकपासहित अन्य दलभित्र देशको राजनीतिक विषयमा तरंग आएको छ ।