मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर २९ सोमबार
  • Sunday, 13 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७७ मङ्सिर २९ सोमबार २१:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ऐतिहासिक महत्वको रामजानकी विवाहपञ्चमी सुरु 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ मङ्सिर २९ सोमबार २१:३५:oo

प्रत्येक वर्ष धुमधामका साथ मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव सोमबारदेखि विधिवत् रूपमा सुरु भएको छ । २९ मंसिरदेखि सुरु भएको महोत्सव ५ पुसमा सम्पन्न हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

महोत्सवको पहिलो दिन भगवान् राम र लक्ष्मणको प्रतीकलाई जनकपुरधाम नगर दर्शन गराइएको छ । त्यसैगरी महोत्सवको दोस्रो दिन ३० मंसिरमा फूलबारी लीला, १ पुसमा धनुषयज्ञ, २ मा पुस तिलकोत्सव, ३ पुसमा मटकोर, ४ पुसमा विवाह र ५ पुसमा रामकलेबाको आयोजना गरी विधिवत् रूपमा विवाहपञ्चमी सम्पन्न हुने महन्थ दासले बताए ।

कोरोनाको कारण विवाहपञ्चमी प्रभावित
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव विवाहपञ्चमीमा पनि पर्ने भएको छ । प्रत्येक वर्ष धुमधामका साथै मनाइने रामजानकी विवाह महोत्सव यस वर्ष प्रभावित हुने भएको हो । 

विवाहपञ्चमीभन्दा करिब दुई साताअघिदेखि नै जनकपुरधाममा चहलपहल हुन्थ्यो । तर, यस वर्ष एक साता बाँकी हुँदा पनि विवाहपञ्चमीको चहलपहल छैन । 

आगामी ४ पुसमा विवाहपञ्चमी मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए । कोरोना महामारीका कारण यस वर्षको विवाहपञ्चमी प्रभावित भएको महन्थ दासले बताए ।

‘भगवान् राम र सीताको विवाह महोत्सव भएकोले प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमीको आयोजना गर्दै आएको थियौँ,’ महन्थ दासले भने, ‘तर, यस वर्ष कोरोनाको कारण कार्यक्रम सीमित गरेका छौँ ।’ विवाहका सम्पूर्ण क्रियाकलाप सामान्य रूपमा हुने उनले बताए । 

विवाहपञ्चमीमा स्वदेश तथा छिमेकी देश भारतबाट हजारौँको संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने गरेकोले यस वर्ष कोरोनाको कारण श्रद्धालु भक्तजनकाे संख्यामा व्यापक कमी आउने महन्थ दासले बताए । नेपाल–भारत सीमानाका बन्द रहेकोले पनि भारतबाट आउने श्रद्धालुको संख्यामा कमी आउने महन्थ दासले बताए । 

कोरोनाको कारण भारतको अयोध्याबाट आउने जन्तीलाई समेत यस वर्ष आमन्त्रण नगरेको उल्लेख गर्दै महन्थ दासले भने, ‘विवाहपञ्चमीमा भारतीय जन्तीलाई आमन्त्रण गरेका छैनौँ । उहाँहरूले आउने इच्छा पनि देखाउनुभएको छैन ।’