काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौँ संस्करण बिहीबारदेखि सुरु भएको छ । चलचित्र विकास बोर्डमा किम्फ शुभारम्भ भएको हो ।
कोरोना भाइरसको महामारीका कारण भर्चुअल रूपमा किम्फ आयोजना हुँदैछ । फेस्टिभल आइतबारसम्म चल्नेछ । यसपटकको किम्फमा १५ मुलुकका १८ वटा फिल्म प्रदर्शनका लागि छानिएका छन् ।
त्यस्तै, नेपाल पानोरामाअन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा फिल्म देखाइनेछ । डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरूमाझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ ।
फेस्टिभलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे निर्णायक रहेका छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनोट गर्नेछ ।