मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण ५ बिहीबार १०:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

किम्फेदी झोलुंगे पुलको निर्माण सम्पन्न

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण ५ बिहीबार १०:४७:००

गुल्मीको मालिका गाउँपालिका– २ दर्लिङको दुनाम खोला पुल निर्माण सकिएको छ । क्षेत्रगत कार्यक्रमको २४ लाख २६ हजार ५९ रुपैयाँ, मालिका गाउँपालिकाको एक लाख ७० हजार तीन सय १७ रुपैयाँ र स्थानीय जनश्रमदानबाट पुल निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष गोविन्द पुनले बताए । पुलको लम्बाइ ४५ मिटर  रहेको छ । 

यो पुल सिर्जनशील सामुदायिक विकास केन्द्रको सामाजिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो । ०७६ साल मंसिरमा निर्माण सम्झौता भएको थियो । यो पुल निर्माण भएपछि एक सय दुई घरपरिवार लाभान्वित भएका छन् । 

पुल बनेपछि स्थानीयसँगै च्यानडाँडा माविमा अध्ययन गर्ने विद्यार्थी सबैभन्दा खुसी भएका छन् । किनकि उनीहरूलाई बर्खामा खोला बढे विद्यालय पुग्न र फर्किन निकै जोखिम थियो । विद्यालय आउँदा–जाँदा बर्खामा खोलाको कारण कैयौँ घन्टा कुर्नुपर्ने बाध्यता पुल निर्माणसँगै अन्त्य भएको विद्यार्थीले बताएका छन् । 

चुनावी वाचा पूरा : नेता विष्ट

नेकपा एमालेका केन्द्रीय सचिव तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले किम्फेदी झोलुंगे पुलको उद्घाटन गरेका हुन् । पुलको उद्घाटन गर्दै विष्टले स्थानीय तहमा आउँदा स्थानीयसँग गरिएको चुनावी वाचा पूरा गरिएको बताए । पूर्वमन्त्रीसमेत रहेका विष्टले पुल बनेसँगै तत्काल दर्लिङको दुनाम पाटाखर्क र बाग्लुङका बालबालिकाले निःशुल्क अंग्रेजी शिक्षा प्राप्त गर्ने गरी युडब्लुएसमार्फत स्कुल निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले सडक, शिक्षा, खानेपानी, बिजुलीलगायतका आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाए ।

फेरिएको दुनाम पाटाखर्क

गाउँपालिका प्रमुख रितबहादुर थापाले दुनाम पाटाखर्क मालिका गाउँपालिकाको पनि विकट गाउँ भएकाले  जनताका सबै आशा पूरा गर्न समय लाग्ने बताए । यद्यपि स्वास्थ्य, सडक र शिक्षामा केही नवीनतम काम गरिएको उनले बताए । उनले दुनामका नागरिक स्वास्थ्य संस्थाको सिटामोल प्राप्त गर्न दुई घन्टा हिँड्नुपर्ने, सुत्केरी वा बिरामी हुँदा डोकोमा बोकेर स्वास्थ्य कार्यालय लैजानुपर्ने र खोला बढे विद्यार्थीको स्कुल छुट्ने अवस्थाको अन्त्य गर्न गाउँमै सामुदायिक स्वास्थ्य इकाइ, पुल र सडकको काम पूरा भएको बताए । उनले अब केही समयमै दर्लिङका नागरिकलाई पशुपालनमार्फत आयआर्जनसँग जोड्ने योजना गाउँपालिकाको रहेको स्पष्ट पारे।

स्थानीय तहपछि नौ झोलुंगे पुल निर्माण

मालिका गाउँपालिकामा स्थानीय तहपछि नौवटा झोलुंगे पुल निर्माण गरिएको पालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । दर्लिङको दुनाम झोलुंगे पुलसँगै अर्जे र घमिर जोड्ने बाँसखोला पुल, घमिर र मर्भुङ जोड्ने दगास पुल, मर्भुङ र सिर्सेनी जोड्ने तिम्लेमा झोलुंगे पुल निर्माण गरिएको छ । 

त्यस्तै मर्भुङको हुलखोला पुल, ह्वाङ्दी र अर्खाबाङ जोड्ने निस्ती र म्याल पुल, अर्जेकै दुई गाउँ जोड्ने अर्जेबेंसी पुल, हिले र दर्लिङ जोड्ने सिस्नेरी पुल निर्माण भएको गिरीले जानकारी दिए । त्यस्तै, दुई करोडको लागतमा मालिका गाउँपालिका– २ दर्लिङ र ५ छापहिले जोड्ने आकाशे पुल निर्माण हुँदै छ ।