
मोरङको मिक्लाजुङ गाउँपालिकाकामा मंगलबार बिहान अज्ञात समूहले एक प्रधानाध्यापकको अपहरण गरेर गोली हानी हत्या गरेको छ ।
मिक्लाजुङ गाप १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान ६ बजेतिर अज्ञात समूहले घरबाटै अपहरण गरेर गोली हानी हत्या गरेको हो ।
अपहरणमा परेका प्रअ श्रेष्ठको शव घरदेखि एक किलोमिटर टाढा रहेको मिक्लाजुङ १ मै पर्ने बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
एसपी सन्तोष खड्काका अनुसार प्रअ श्रेष्ठलाई टाउकोमा गोली प्रहार गरिएको छ ।
परिवारका सदस्यका अनुसार मंगलबार बिहान सवा ६ बजेतिर ४–५ जनाको संख्यामा आएको समूहले प्रअ श्रेष्ठलाई अपहरण गरेका थिए ।
घटनास्थल पूर्वपश्चिम राजमार्गदेखि झन्डै ३० किलोमिटर उत्तर विकट पहाडी क्षेत्रमा पर्छ ।
अपरहरण गर्नेहरू नेकपा विप्लव समूहका कार्यकर्ता हुन सक्ने प्रहरीको आशंका छ ।
एसपी खडकाले भने, ‘प्रअलाई अपहरण गरेर हत्या गर्नेहरू विप्लव समूहकै हुन् भन्ने सूचना आएको छ हामी अनुसन्धान गर्दै छौँ ।’
याे समूहमाथि सरकारले प्रतिबन्ध लगाएकाे भए पनि देशभर विप्लवका कार्यकर्ताहरूले छिटपुट हिंसात्मक घटना गर्ने प्रयास गरिरहेका छन् ।