१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी
२o८१ बैशाख २० बिहीबार २o:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर

हङकङवासी किन यति धेरै अन्धविश्वासी ?

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:२४:oo

वित्तीय संस्थामा काम गर्ने वाई ली हङकङको ‘भाग्य बताउने’ मन्दिर वाङ ताई सिनको दर्शन गर्न नियमितजस्तो जान्छिन् । यो हङकङको अति व्यस्त मन्दिरमा पर्छ । यो मन्दिरमा एउटा प्रचलन छ– दर्शन गर्न आउने जोकोही पनि बाँसको ‘भाग्यस्टिक’ले भरिएको ट्युबलाई हल्लाउँछन् । त्यो पनि एकपटक होइन, हजारपटकसम्म हल्लाउनुपर्ने ठान्छन् । ट्युबबाट एउटा लट्ठी (स्टिक) जमिनमा नखस्दासम्म भक्तजनहरू हल्लाइरहन्छन् । भनिन्छ, ट्युबमा रहेको प्रत्येक स्टिकसँग कुन न कुनै कथा छ । सोही स्टिकसँग जोडेर मन्दिरका पुजारी भविष्य बताउने गर्छन् । 

सधैँजसो आज पनि काममा निस्किनुअघि ली मन्दिरको कुसनमा घुँडा टेक्छिन् र प्रार्थना गर्छिन् । आँखा बन्द गर्दै भाग्यलाठीले भरिएको ट्युबलाई हल्लाउन थाल्छिन् । केही समयपछि २४ नम्बर लट्ठी जमिनमा खस्छ । मन्दिरको पुजारी अर्थात् भाग्य मास्टर जोसेफले लीको करिअर र मार्गदर्शनको सम्बन्धमा व्याख्या गर्छन् । मास्टर जोसेफले २४ नम्बर लट्ठीअनुसार लीलाई यस वर्ष कुनै प्रगति वा पदोन्नतिको आशा नगर्न सुझाब दिन्छन् । मास्टरको भविष्यवाणीपछि ली निःशब्द हुन्छिन् । उनी भन्छिन्, ‘यो वर्ष भाग्य औसत रहेछ ।’ 

अगाडि वा पछाडि चार नम्बर अशुभ
ली मात्रै होइनन् यो ‘अन्धविश्वास’बाट हङकङका धेरै मानिस प्रभावित छन् । यहाँका अधिकांश मानिस कुनै न कुनै विषयवस्तुसँग सम्बन्धित रही ‘अन्धविश्वास’माथि आस्था राख्छन् । यहाँसम्म कि ठूला बैंकरदेखि साना कर्मचारीसम्म काममा निस्कनुअघि यस्तै मन्दिरमा जान्छन् र भविष्य सुन्छन् । एउटा अध्ययनअनुसार हङकङ संसारकै अन्धविश्वासमाथि धेरै विश्वास राख्ने सहर हो । यसकारण वित्तकर्मी लीले पनि भविष्यवाणी गलत नभएको विश्वास राखेकी थिइन् । ‘म सधैँ यहाँ आउँछु जब मसँग मेरो भविष्यको बारेमा प्रश्न वा निर्णय लिन्छु । मलाई लाग्छ यो सही हो,’ ली भन्छिन् । 

ली भाग्यकै कारण नयाँ फ्ल्याट भाडामा लिनबाट वञ्चित भएको ठान्छिन् । भवन व्यवस्थापनले उनलाई १४०४ नम्बरको फ्ल्याट लिन प्रस्ताव गरेको थियो । फ्ल्याट निकै सस्तो पनि थियो । तर, फ्ल्याट हेर्ने क्रममा उनले अनौठो आवाज सुनिन् । ‘भित्र छिर्दा मैले एक फरक आवाज महसुस गरेँ, त्यसवेला लागेको थियो, यहाँ बस्यो भने भूतप्रेतले खत्तम पार्छ,’ लीले आफ्नो अनुभव सुनाइन्, ‘मैले जोखिम उठाउन चाहिनँ, यद्यपि तिनीहरूले मलाई भाडामा ठूलो छुट दिएका थिए ।’ 
वास्तवमा हङकङमा १४ र २४ अंक अशुभ मानिन्छ । कसैले पनि यो नम्बर लिन चाहँदैन । उनीहरू यो नम्बरसँग असाध्यै डराउँछन् । यस किसिमको भयलाई ‘टेट्राफोबिया’ भनेर चिनिन्छ । यसकारण भवन, होटेल, कार्यालय र अस्पतालमा यस्तो नम्बर प्रायः नराखी फ्लोर बनाउँछन् । त्यो नम्बर समावेश गरी भवन निर्माण गरे त्यत्तिकै खाली रहन्छ ।

अर्पाटमेन्टमा ३९ बाट एकैपटक ५०औँ तला
मास्टर जोसेफ पनि आफू बसेको अर्पामेन्टमा ३९ बाट सीधै ५०औँ तलामा लिफ्ट पुग्ने बताउँछन् । चार जोडिएर आएको नम्बरसँग हङकङवासी बढी नै त्रसित हुने गरेको उनको भनाइ छ । जीवनभर यो नम्बरको सामना गर्न नपरोस् भनी भगवान्सँग कामना गर्छन् । मास्टर जोसेफ भन्छन्, ‘यहाँ अधिकांशमा ४, १४, २४ र ५४ नम्बरको फ्लोर नै हुँदैन ।’ यस्तो हुनुको पछाडि एउटा अर्को ‘अन्धविश्वास’ छ । 

जस्तै १४ नम्बरले तत्कालै मर्ने र २४ नम्बरले चाँडै नै ज्यान गुमाउने संकेत गर्ने जोसेफले बताए । यसकारण अर्पाटमेन्ट, होटेल, अफिस तथा अस्पतालमा यो नम्बर लुकाउने गरिन्छ । ‘यहाँ धेरैले विश्वास गर्छन्– भगवान् र आत्मासँग भाग्य परिवर्तन गर्न ठूलो शक्ति हुन्छ,’ हङकङनिवासी जोन चोई भन्छन्, ‘धेरै पसलमा यस्तै अन्धविश्वासी चिज भेटाउन सक्नुहुन्छ ।’ 

फेङ सुई’माथि विश्वास
हङकङ र चिनियाँवासी परम्परागत सुईमाथि विश्वास राख्छन् । चिनियाँ र हङकङनिवासी यसलाई ‘फेङ सुई’ भन्छन् । यो हावा र पानीसँग सम्बन्धित छ । चिनियाँ प्रचलनअनुसार फेङ सुईले आफ्नो ऊर्जा शक्ति प्रयोग गरेर भाग्य राम्रो बनाउँछ । हुन त चीनमा फेङ सुई अहिले प्रतिबन्ध छ । तर, लुकिछिपी यसको प्रयोग भइरहेको छ । चोई भन्छन्, ‘लगभग ५०५ निर्माणकर्ताले परियोजनाको सबैभन्दा उत्तम डिजाइनबारे सल्लाह लिन र दिनका लागि फेङ सुई नै प्रयोग गर्छन् ।’ हङकङमा फेङ सुईको मद्दतमा ४० प्रतिशत भवन निर्माण हुने गर्छन् । सहरको केन्द्रीय व्यापारिक स्थलमा रहेका अधिकांश गगनचुम्बी भवनलाई फेङ सुई भवन मानिन्छ । 

चिहान उत्सव र मृतकलाई गिफ्ट
यहाँ अन्धविश्वास यतिसम्म छ कि मृतकको नाममा पनि उत्सव हुन्छ । यो अप्रिल महिनामा हुन्छ । मृतकहरूलाई खुसी र उनीहरूको आत्माले शान्ति पाउँदा परिवारजन सधैँ सुखमयी बन्छ भन्ने जनविश्वास छ । यो फेस्टिभललाई ‘क्विग्मिङ’ भनिन्छ । फेस्टिभलमा विशेषतः चिहानको सफाइ हुन्छ । यो दिन चिहान सफा गर्ने, नाचगान गर्ने र मरेका व्यक्तिहरूलाई सम्मान गर्ने गरिन्छ । 

मृतकका परिवारले पैसा, कपडा र स्मार्टफोन जस्ता नयाँ ग्याजेट चिहानमा राख्दिने गर्छन् । ‘यी सामग्री राख्दा मृतकहरू सुखी हुने र उनीहरूले समृद्धिको आशीर्वाद दिने विश्वास गरिन्छ,’ चोईले भने । 

–एजेन्सीको सहयोगमा 
 

ad
ad