Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १६ मंगलबार १९:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिविमा साढे आठ महिनापछि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार १९:२३:००

त्रिभुवन विश्वविद्यालयले कोभिड– १९ को जोखिमकै बीचमा पनि सतर्कता अपनाएर प्रत्यक्ष (फिजिकल्ली) कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविको कार्यकारी परिषद्को बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा फिजिकल्ली कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । फिजिकल्ली कक्षा सम्भव नभएको ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिने निर्णय भएको छ । 

कोभिड– १९ का कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए भने केही समयपछि अनलाइन कक्षा सुरु भएका थिए । त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले स्थानीय निकायसँग समन्वय गरी कोरोनाको जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर फिजिकल्ली कक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको बताए । कोभिडका कारण शैक्षिक संस्था बन्द भएपछि त्रिविले समेत अनलाइन कक्षा सञ्चालन गरेको थियो । 

अनलाइन कक्षामा माथिल्लो तहमा र प्राविधिक विषयमा विद्यार्थीको सहभागिता राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता एकदमै न्यून रहेको थियो । तल्लो तहमा अधिकांश विद्यार्थी के–कस्तो अवस्थामा छन् भन्नेसमेत पहिचान गर्न सकेको थिएन । 

‘अनलाइनबाट कक्षा सञ्चालन सम्भव नभएका ठाउँमा फिजिकल्ली कक्षा सुरु गर्ने पहिलो प्राथमिकता हो,’ रेक्टर भुसालले भने, ‘धेरै जोखिम भएका र फिजिकल्ली सम्भव नभएका ठाउँमा अनलाइन कक्षा निरन्तर सञ्चालन हुन्छन् ।’ 

त्रिविले सम्भव भएसम्म फिजिकल्ली र नभए मात्र अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय छ । त्रिविमा लामो समयसम्म प्रत्यक्ष कक्षा नहुँदा विपन्न परिवार र इन्टरनेटको पहुँच नभएका समुदायका विद्यार्थी अनलाइन कक्षाबाट वञ्चित भएका थिए । परीक्षा सुचारु भएसँगै पठनपाठन पनि प्रत्यक्ष नै सुरु गर्न लागेको हो । 

धमाधम परीक्षा हुँदै
त्रिभुवन विश्वविद्यालयको आठ महिना अघिदेखि रोकिएका परीक्षा धमाधम सुरु हुन लागेका छन् । कोभिड महामारीकै बीचमा सुरक्षा सावधानी अपनाएर परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयले परीक्षा लिन लागेका हुन् । कोरोना संक्रमित केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्था भएमा छुट्टै बसेर लेख्ने र नसक्नेलाई प्रमाणको आधारमा पछि लिने व्यवस्थासमेत गरिएको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी २८ मंसिरदेखि वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्दै छ । २८ मंसिरबाट सुरु हुने स्नातक तहको विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायका चौथो वर्षको परीक्षार्थी कोही कोभिड संक्रमित भएमा र परीक्षा दिन सक्ने अवस्था भएमा छुट्टै राखेर परीक्षा लिन सक्ने व्यवस्था गरेको छ । कोरोना संक्रमित भए पनि परीक्षा दिन सक्नेहरूका लागि अरूभन्दा १५ मिनेटपछि केन्द्रमा प्रवेश गरी छुट्टै कोठामा बसेर परीक्षा दिन सक्ने व्यवस्था गरेको छ । 

पनिकाको परीक्षा केन्द्र भएमा त्यहाँबाट आवेदन भरेका जुनसुकै संकायका विद्यार्थीले पनि परीक्षा दिन सक्ने व्यवस्था गरेको उनले बताए । गत १६ वैशाखदेखि हुने गरी तय भएर स्थगित भएको परीक्षा आठ महिनापछि हुन लागेको हो । त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायले थोरै विद्यार्थी भएका केही विषयको परीक्षा यसअघि पनि लिएको थियो । यसबीचमा अन्य केही विषयको समेत परीक्षा सञ्चालन भएको छ ।
 
यसपटकको परीक्षामा विद्यार्थीले घरपायकको केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थीलाई आवतजावत र कोभिडको संक्रमणको जोखिम कम गर्ने उद्देश्यले घरपायक केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । पनिकाले आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोटमा आवेदन दिने परीक्षार्थीबाहेक अन्य परीक्षार्थीले त्रिविबाट तोकिएको केन्द्रबाटै परीक्षा दिनुपर्ने जनाएको छ । मंसिर अन्तिम साताबाट हुन लागेको स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका परीक्षामा भने डिन कार्यालयअनुसार फरक व्यवस्था गरिएका छन् ।