१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १५ सोमबार १८:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा साढे २९ हजारमा एचआइभी संक्रमण

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार १८:१०:००

नेपालमा हालसम्म २९ हजार पाँच सय तीनजनामा एचआइभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले यो तथ्यांक सार्वजनिक गरेकी हुन् । 

तीमध्ये पुरुषको संख्या १७ हजार पाँच सय ८७ र महिलाको संख्या ११ हजार नाै सय १६ रहेको छ । यस्तै, १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआइभीको व्याप्ततादर शून्य दशमलव १३ प्रतिशत रहेको पनि डा. देवकोटाले बताइन् । 

यस वर्ष पनि मंगलबार (डिसेम्बर १)मा विश्वभर विश्व एड्स दिवस मनाइँदै छ । यस्तै नेपालमा करिब ८० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । 

यस्तै एक वा सोभन्दा बढी एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआइभी संक्रमणको दर ५ प्रतिशतभन्दा बढी भएको, तर सामान्य जनसंख्यामा एचआइभी संक्रमण दर १ प्रतिशतभन्दा कम भएको पनि निर्देशक डा. देवकोटाले बताइन् । 

तथ्यांकअनुसार वि.सं. २०७७ असार मसान्तसम्ममा नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार चार सयजना अर्थात् ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् । 

सन २०१० को तुलनामा सन् २०१९ सम्मा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । यस्तै बच्चाहरूमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताइन् । 

यस्तै एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ ।

एचआइभी संक्रमितहरूलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरूबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताइन् ।

यस वर्ष पनि ३३औँ विश्व एड्स दिवस २०७७, भोलि अर्थात् डिसेम्बर १ मा विश्वभर मनाइँदै छ । 

नेपालमा पनि ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ नारा दिएर विश्व एड्स दिवस मनाइँदै छ ।